निर्माणको हप्ता दिनमै उप्कियो कालोपत्र

Share News
म्याग्दी । देशैभरि असारमा बजेट सक्ने र काम देखाउने प्रतिस्पर्धा चलिरहेको अवस्थामा म्याग्दीको बेनी बजारमा पनि यसको असर देखिएको छ । बेनी नगरपालिकाले हालै मात्र गरेको कालोपत्र हप्ता दिन पनि नपुगी उप्किएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ७ र ८ नम्बर वडामा पर्ने सडक कालोपत्र गर्न सम्बन्धित वडा पालिकाको प्रस्तावमा ९÷९ लाख रुपैयाँ विनियोजन गरेको थियो । वडा न. ८ मा पर्ने संगम चोकदेखि क्याम्पस चोकसम्मको ४३० मिटर सडक कालोपत्र गर्ने योजनाका लागि गत वैशाखमै उपभोक्ता समितिसँग सम्झौता भएको थियो । पाँच मिटर चौडाइको अनुपातमा सडक कालोपत्र गरिएको पनि छ । असारको अन्तिम साता मात्रै कालोपत्रको काम शुरू भएको थियो । कालोपत्र गरेको २/३ दिनमै सडक उप्किन थालेपछि स्थानीय आक्रोशित भएका छन् । पानी परिरहेको बेलामा सडकमा रोडा र बिटुमिन राखिएकाले नजमेर उव्किएको गणेशटोलका शिव पुर्जाले बताए । कालोपत्रका लागि राखिएको रोडा उप्किएपछि उछिट्टिएर किनारमा बस्ने र पैदलयात्रुलाई चोट लाग्ने गरेको स्थानीय गणेश भट्टराईले जानकारी दिए । उपभोक्ता समितिका पदाधिकारीहरूले पनि कालोपत्र उप्किनुमा कमजोरी भएको स्वीकार गरेका छन् । समितिका अध्यक्ष लोकनाथ रेग्मीले सडकको मर्मत गरिने बताए । आर्थिक वर्षको अन्तमा छोटो समयको चाप र दबाबमा प्रतिकूल मौसम हुँदाहुँदै काम गर्दा कमजोरी भएको समितिका सचिव गणेश श्रेष्ठले बताए । नगरपालिकाका इन्जिनीयर विमलरञ्जन कार्कीले योजनाको भुक्तानी नभएको र कामको परिणाम तथा गुणस्तर हेरेर मात्र भुक्तानी गरिने जानकारी दिए । वर्षा भइरहेको बेलामा कालोपत्र गर्दा गुणस्तरमा असर पर्ने उनको भनाइ छ । बजेट फिर्ता हुन नदिने भन्ने मनसायले काम गरिएकोमा नगरपालिकाका कर्मचारी तथा प्राविधिकहरूले असन्तुष्टि व्यक्त गरेका छन् । बेनी नगरपालिका–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले कालोपत्र उप्किएको ठाउँमा मर्मत र सुधार गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको बताए । कालोपत्रका लागि आवश्यक उपकरण र सामग्री नपाएकाले समितिले समयमै काम गर्न नसकेको अध्यक्ष बराइलीको भनाइ थियो । वडा न. ७ को इन्द्रेणीटोलको चोकदेखि नेपाल बैंकको कार्यालय रहेको चोकमा पनि कालोपत्र गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।