महोत्सव र कार्यक्रम आयोजनास्थल बन्दै आईटी पार्क
अभियान संवाददाता फागुन ३०, काठमाडौं (अस)। सूचना प्रविधिको विकासका लागि निर्माण गरिएको बनेपास्थित 'आईटी पार्क' अहिले महोत्सव, पार्टी,सेमिनारलगायतको आयोजनास्थल बन्न पुगेको छ । पार्कमा सूचना प्रविधिबाहेकका यस्ता कार्यक्रम गर्न नमिल्ने भन्दै विरोध भए पनि कार्यक्रम हुन भने अझै छाडेका छैनन् । कम्प्युटर एशोसिएशन अफ काभ्रेका अध्यक्ष मनोजकुमार न्यौपानेले यसबारे विज्ञान तथा प्रविधि मन्त्रालयमा कुरा उठाइएको भए पनि कार्यक्रम भने सञ्चालन भइरहेको बताए ।
अहिले उक्त पार्कमा काभ्रे उद्योग वाणिज्य सङ्घले मध्यमाञ्चल महोत्सवको आयोजना गरेको छ । चैत १ गतेसम्म चल्ने उक्त महोत्सवमा पहिले सूचना प्रविधिसम्बन्धी स्टल रहने भनिए पनि महोत्सवमा स्टल नराखिएको न्यौपानेले बताए । उक्त आईटी पार्कमा महोत्सवलगायत अन्य कुनै पनि कार्यक्रम आयोजना गर्नका लागि धेरै स्थान भएको र सरकारलाई कुनै पनि रकम बुझाउनु नपर्ने भएकाले पार्कको गलत प्रयोग भइरहेको न्यौपानेको भनाइ छ । उक्त स्थान यसअघि नेपाली काङ्ग्रेस र नेपाल पत्रकार महासङ्घ, काभ्रे शाखाले चुनावका लागि प्रयोग गरेको थियो । २ सय ३४ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा अहिले आईबीएम नामक सफ्टवेयर कम्पनीले काम गरिरहेको छ । निर्माण भएको लामो समयसम्म पनि पूर्णरूपमा सञ्चालनमा आउन नसकेको आईटी पार्क सञ्चालनका लागि सरकारले त्यहाँ जाने कम्पनीलाई ५० प्रतिशत छूट दिने निर्णय गरेको छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक लक्ष्मीलाल राजभण्डारी भने उच्चस्तरीय सूचना आयोगसँग अनुमति लिएर महोत्सव सञ्चालन गरेको बताउँछन् । महोत्सवले आईटी पार्कको समेत प्रचार हुने भएकाले उक्त स्थानमा आयोजना गरिएको दाबी उनको छ । 'शुरूमा हामीले सूचना प्रविधिसम्बन्धी स्टलहरू राख्ने भनेका थियौं तर, पछि विभिन्न कारणले स्टलहरू राख्न असमर्थ भयौं' उनले भने । उनका अनुसार पहिले काठमाडौं विश्वविद्यालय (केयू)ले विज्ञानसम्बन्धी विभिन्न प्रदर्शनीका साथै सूचनाप्रविधि सम्मेलनको आयोजना गर्ने कार्यक्रम थियो । तर, पछि केयूमा तालाबन्दी भएका कारण उक्त कार्यक्रम आयोजना हुन सकेन । त्यसकारण महोत्सवपछि अन्य स्थानमा भए पनि सूचनासम्बन्धी प्रदर्शनी र सम्मेलनको आयोजना गरिने उनले बताए । तर, पार्क व्यवस्थापनको जिम्मा पाएको उच्चस्तरीय सूचनाप्रविधि आयोगका उपाध्यक्ष मनोहर भट्टराईले भने पार्कमा महोत्सव सञ्चालनका लागि अनुमति नदिइएको बताए । 'हामीले आईटी पार्क परिसरमा कुनै पनि महोत्सव तथा कार्यक्रमका लागि अनुमति दिएका छैनौं', उनले भने, 'स्थानीय निकायबाट स्वीकृति लिएर आयोजना गरिएको हुन सक्छ' ।
निजीक्षेत्रको तथ्याङ्क राख्ने तयारीमा राष्ट्रिय सूचनाप्रविधि केन्द्र
फागुन ३०, काठमाडौं (अस)। राष्ट्रिय सूचनाप्रविधि केन्द्रले अब निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्थाका तथ्याङ्क पनि राख्ने भएको छ । यसअघि सरकारी कार्यालयका तथ्याङ्कमात्रै राख्दै आएको केन्द्रले अबको ६ महीनाभित्र बैङ्कका तथ्याङ्क राख्ने तयारी गरेको केन्द्रका कार्यकारी अधिकृत अनुप बाँस्कोटाले जानकारी दिए । 'अहिले बैङ्क तथा अन्य क्षेत्रसँग छलफल भइरहेको छ, उहाँहरूले पनि निकै चासो देखाउनुभएको छ,' उनले भने ।
राष्ट्रिय सूचनाप्रविधि केन्द्र गतवर्ष कोरियाली सरकारले रू. २१ करोड लगानीमा निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । केन्द्र सञ्चालनका लागि वार्षिक रूपमा विद्युत्मा मात्रै करीब रू. ४० लाख खर्च हुने गरेको छ । विशेष गरी ठूला तथ्याङ्क हुने संस्थाका तथ्याङ्क सुरक्षित राख्नका लागि केन्द्रको स्थापना गरिएको हो । केन्द्रले अहिले सबै सरकारी वेबसाइट तथा विभिन्न मन्त्रालय र सरकारी कार्यालयका तथ्याङ्क राख्दै आएको छ । २४ घण्टा नै विद्युत् आपूर्ति हुने केन्द्रमा तथ्याङ्क पूर्णरूपले सुरक्षित हुने बाँस्कोटा बताउँछन् । केन्द्रसँग आबद्ध कुनै पनि संस्थामा तथ्याङ्क हराएमा केन्द्रमा रेकर्ड हुने हुँदा भविष्यमा तथ्याङ्कका लागि कुनै पनि समस्या नपर्ने उनले बताए । यस्तो केन्द्र छुट्टाछुट्टै राख्ने हो भने धेरै खर्च लाग्ने भएकाले केन्द्र सबैका लागि उपयोगी सावित भएको बाँस्कोटाको भनाइ छ । केन्द्र अन्तरराष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको हो ।
अहिले उक्त केन्द्रले आन्तरिक राजस्व कार्यलय, स्टक एक्सचेञ्ज, कर्जा सूचना केन्द्र, नेपाल क्लियरिङ हाउस, रोजगार विकास बोर्डका साथै नेपाल सरकारका सबै वेबसाइटका तथ्याङ्क सङ्कलन गर्दै आएको छ । केन्द्रले आगामी दिनमा सार्वजनिक खरीद अनुगमन कार्यक्रमको ई-टेण्डरको पनि तथ्याङ्क सङ्कलन गर्ने कार्यकारी निर्देशक बाँस्कोटाले बताए । उनका अनुसार अहिले एशियाली विकास बैङ्कको सहयोगमा हुन लागेको राष्ट्रिय परिचयपत्र,ई-लाइसेन्स कार्यक्रमका साथै सवारीसाधन दर्ता, लोकसेवा आयोगका सबै तथ्याङ्क केन्द्रमा राखिने भएको छ । त्यस्तै, नेशनल पोर्टल, भूमिसुधारका सूचनासमेत केन्द्रमा सङ्कलन हुनेछ । नेपाल टेलिकमले ब्रोडब्याण्ड सेवा विस्तारअन्तर्गत शुरू गरेको ३८ जिल्लामा स्थापना गरिने भिलेज पोर्टलको समेत तथ्याङ्क केन्द्रमा राखिने भएको छ ।
दैनिक ४५ हजार एसएमएस
फागुन ३०, काठमाडौं (अस)। लोडशेडिङका कारण आईसीसी वर्ल्डकप क्रिकेट प्रतियोगिता हेर्न पाउनुभएको छैन ? यदि त्यसो हो भने उज्यालो एफएम नेटवर्कले मोबाइलबाट खेलको लाइभ स्कोर बताउँदै आएको छ । उज्यालो एफएमका खेल संवाददाता सुफल काफ्लेका अनुसार सो सेवाका लागि एक खेलमा दैनिक ४५ हजारसम्म एसएमएस आउने गरेका छन् ।
'रोमाञ्चक तथा महत्त्वपूर्ण खेलमा १५ देखि ४५ हजारसम्म एसएमएस आउने गरेको छ,' काफ्लेले भने । एक एसएमएसबराबर करबाहेक २ रुपैयाँ लाग्ने काफ्लेले बताए । यो रकम यस्तो सेवा दिने अन्य कम्पनीको भन्दा सस्तो भएको उनको दाबी छ । 'एसएमस अपडेटका लागि म र सृजन अधिकारी खेल अवधिभर खटिने गर्छौं' काफ्लेले भने । यो सेवा नमस्ते, एनसेल र यूटीएल सबै कम्पनीमा उपलब्ध छ । लोडशेङङिका कारण एसएमएस आउने सङ्ख्या बढेको उनले बताए ।
सहकारीद्वारा एसएमएस बैङ्किङ सेवा
फागुन ३०, हेटौंडा (मकवानपुर) (अस)। हेटौंडास्थित नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्थाले एसएमएस बैङ्किङ सेवा शुरू गरेको छ । संस्थाले एसएमएसमार्फतत आफ्ना सदस्यहरूलाई सूचना तथा आर्थिक कारोबारबारे जानकारी दिने र सदस्यहरूको गुनासो तथा प्रतिक्रियाहरू सङ्कलन गर्न सकिने व्यवस्था मिलाएको संस्थाका व्यवस्थापक नवराज खनालले अभियानलाई बताए । सहकारीद्वारा यस्तो सेवा प्रदान गर्ने यो मकवानपुर जिल्लाकै पहिलो संस्था हो ।
'सदस्यहरूको आर्थिक कारोबारलाई स्वचालित रूपमा सम्बन्धित खातावालाको मोबाइलमा पठाउन सकिनेछ,' खनालले भने । एसएमएस सेवा शुरू भएपछि आम बचतकर्ता एवम् सदस्यहरूलाई आफ्नो रकमका बारेमा थाहा पाउन सहकारी संस्थामा धाइरहनु नपर्ने र घरमै बसीबसी कारोबारको सङ्क्षिप्त विवरण थाहा पाउन सकिने उनको भनाइ छ ।
जीएसएम सिमकार्ड र सामान्य मोडेम डिभाइसको सहायताले सञ्चालन गरिएको यस प्रकारको सेवा वित्तीयलगायत शैक्षिक क्षेत्रमा समेत उपयोगी हुने सफ्टवेयर निर्माता आइकन सफ्ट प्रालि, हेटौंडाका संस्थापक श्यामकल श्रेष्ठले बताए ।
Admin 2011-03-15
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।