स्वास्थ्य बीमापछि अस्पताल आउने बढे

Share News

राजेश जीसी

प्यूठान । प्यूठानमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपछि जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । बीमा गरेपछि सहुलियतमा उपचार पाइने भएकाले बिरामीहरू साधारण स्वास्थ्य समस्या हुँदा पनि अस्पताल आउने गरेको जिल्ला अस्पताल, प्यूठानका प्रमुख शेषराज घिमिरेले बताए । ‘बिरामीहरू उपचारका लागि पहिले निजी क्लिनिक तथा जिल्लाबाहिरका अस्पताल जाने गर्थे,’ उनले स्वास्थ्य बीमा कार्यक्रमपछि सरकारी स्वास्थ्य संस्थामा आउने गरेका छन् ।’ 

सरकारी स्वास्थ्य संस्थाप्रति जनताको विश्वास समेत बढेको घिमिरेले बताए । स्वास्थ्य बीमा कार्यक्रम शुरू भएपछि हाल जिल्ला अस्पतालमा दैनिक करीब २ सय आउने गरेको उनको भनाइ छ ।

‘यसमध्ये स्वास्थ्य बीमा गरेकाहरू ५० प्रतिशत हुन्छन्,’ उनले भने । स्वास्थ्य बीमा लागू भएपछि उपभोक्तामा स्वास्थ्य सचेतना बढेको र नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल आउने गरेको खलंगा प्राथमिक स्वास्थ्यकेन्द्रका इन्चार्ज विक्रम थापाले बताए । 

खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप दैनिक बढ्दै गएको थापाको भनाइ छ । केन्द्रमा पहिला दैनिक १५–२० जना आउने गरेका अहिले ८०–१०० जना बिरामी उनले बताए । केन्द्रमा बिरामीको चाप बढेपछि टोकनको व्यवस्था गरिएको छ । ‘यो व्यवस्थाले बिरामी र अस्पतालका कर्मचारीलाई सहज भएको छ,’ उनले भने । 

रू. ३ हजार ५०० को स्वास्थ्य बीमा गरे पाँचजनाको परिवारले वार्षिक १ लाखबराबरको सेवा पाउने जिल्ला अस्पताल, प्यूठानका प्रमुख घिमिरेले बताए ।

बीमा कार्यक्रममा समावेश भएपछि १ हजार १ सय ११ प्रकारका औषधि र ४७ प्रकारका सर्जिकल सामग्री निःशुल्क पाइन्छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायत उपचार निःशुल्क पाउने व्यवस्था छ ।

अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत र गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था सरकारले गरेको छ ।

प्यूठानमा हालसम्म २८ हजारले बीमा गराएका छन् भने ४ हजार ६६७ जनाले सेवा लिएको घिमिरेले बताए । उनका अनुसार जिल्ला अस्पताल बिजुवार, खलंगा प्राथमिक स्वास्थ्य केन्द्र र भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रबाट यो सेवा लिन सकिन्छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।