१ वर्षमा करीब ५ हजार सवारी कारबाहीमा

Share News

प्रवीर ददेल 

रुकुम । रुकुम पश्चिममा गत आवमा साढे ५ हजार सवारीसाधन कारबाहीमा परेका छन् । सो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ५२७ सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले बताएको छ । उक्त कारबाहीबाट रू. २५ लाख ७१ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी हवलदार निमबहादुर सुनारले जानकारी दिए । 

‘आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी १ हजार ८३४  मोटरसाइकल कारबाहीमा परेका छन्,’ सुनारले भने, ‘जसबाट रू. १० लाख ६६ हजार राजस्व संकलन भएको छ ।’ त्यस्तै कारबाहीमा परेका ८९८ बसबाट ५ लाख १६ हजार र ७९८ ट्र्याक्टरबाट रू. ४ लाख ३१ हजार राजस्व उठेको उनले बताए ।

त्यस्तै साना चारपांग्रे सवारीसाधन (जीप, भ्यान, कार)बाट रू. ३ लाख २९ हजार र ट्रकबाट रू. २ लाख २९ हजार राजस्व संकलन भएको कार्यालयले बताएको छ । गत आर्थिक वर्षको  जेठमा सबैभन्दा बढी ६४४ सवारी कारबाहीमा परेका छन्, जसबाट ३ लाख ७४ हजार राजस्व संकलन भएको छ । यस्तै भदौमा सबैभन्दा कम २९१ सवारीसाधनको कारबाहीबाट १ लाख ४९ हजार राजस्व संकलन भएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।