शुक्लाफाँटाको राजस्व संकलन ह्वात्तै घट्यो

Share News

मदन गिरी

महेन्द्रनगर । गत आवमा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको राजस्व संकलन अघिल्लो आवको तुलनामा ह्वात्तै घटेको पाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालका अनुसार गत आवमा रू. ८६ लाख २३ हजार राजस्व संकलन भएको छ । अघिल्लो आवमा भने कार्यालयले ६ करोड ५१ लाख राजस्व संकलन गरेको थियो ।

गत आवमा वन रोयल्टीमार्फत ६९ लाख २७ हजार, प्रशासनिक सेवा करबाफत ६ लाख ५६ हजार, प्रशासनिक लगायत दण्ड जरीवानामार्फत ९ लाख ९० हजार, सरकारी सम्पत्ति बहाल कर १६ हजार र सरकारी सम्पत्ति विक्री (लिलामी) ३२ हजार गरी उक्त राजस्व संकलन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले बताए । अघिल्लो वर्ष कञ्चनपुरमा हावाहुरीले धेरै रूख ढलेको र तिनको काठ विक्रीले राजस्व बढाएको उनको भनाइ छ । ‘गत आवमा खासै काठ विक्री भएन,’ उनले भने, ‘वनको रोयल्टी नै निकुञ्जको प्रमुख आय स्रोत हो । 

बढे पर्यटक
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या भने वर्षेनि बढ्दै गएको छ । घुम्ने संस्कृतिको विकाससँगै निकुञ्जको प्रचार प्रसार र स्तरोन्नति गरिएपछि पर्यटकको संख्या बढेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ६ हजार ५९ पर्यटक भित्रिएका छन् । निकुञ्ज कार्यालय प्रमुख पौड्यालका अनुसार निकुञ्ज घुम्नेमा ९५ प्रतिशत आन्तरिक पर्यटक छन् । गत आवमा ५ हजार ७४० आन्तरिक, १५४ सार्क राष्ट्रका र १५२ अन्य मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । अघिल्लो आवमा यो संख्या ४ हजार ७४० थियो । 

गत आर्थिक वर्षमा भीमदत्त नगरपालिकाले आयोजना गरेको ‘शुक्लाफाँटा पर्यटन महोत्वस’का कारण निकुञ्जमा आन्तरिक पर्यटकको संख्या बढेको पौड्यालले बताए । शुक्लाफाँटा बाह्रसिंगाको प्रमुख वासस्थान मानिन्छ । यसबाहेक बाघ, गैंडालगायत जनावरका साथै चराचुरंगीका लागि समेत यो राष्ट्रिय निकुञ्ज प्रख्यात छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।