विराटनगर । लामो समयको मागपछि विराटनगर–जोगबनी नाकामा अध्यागमन कार्यालय स्थापना भए पनि सेवाग्राही भने पुगेका छैनन् । अध्यागमन स्थापना भएको जानकारी नहुँदा र भारततर्फ पनि कार्यालय नहुँदा विराटनगर शाखामा सेवा लिन सेवाग्राही नपुगेका हुन् ।
पर्यटन व्यवसायीहरूको निरन्तर मागपछि सरकारले २०७५ पुसदेखि विराटनगर–जोगबनी नाकाका लागि अध्यागमन कार्यालय स्थापना गराएको हो । तर, कार्यालय बसेको जानकारी स्थानीय पर्यटन व्यवसायीहरूले समेत पाएका छैनन् । अर्काेतिर नेपाल सरकारले आफ्नोतर्फ अध्यागमन कार्यालय स्थापना गरे पनि पारी जोगबनीमा भारत सरकारले अध्यागमन कार्यालय स्थापना गराएको छैन । नाकाबाट आवत–जावत गर्ने पर्यटकहरूले दुवैतर्फ कागजपत्र देखाएर छाप लगाउनुपर्ने तर जोगबनीतर्फ अध्यागमन कार्यालय नहुँदा सास्ती हुने भएकोले पर्यटहरुले अरू नै नाका रोज्ने गरेका छन् ।
कार्यालयमा हालसम्म जम्मा ५ जनाले मात्र सेवा लिएको र ती सबै विदेश जाने नेपाली रहेको निमित्त कार्यालय प्रमुख नारायणप्रसाद पौडेलले बताए । पर्यटकका रूपमा एकजना पनि विदेशी अध्यागन कार्यालयबाट सेवा लिन पुगेका छैनन् । सेवाग्राही नआउँदा कार्यालयका कर्मचारीहरू हाजिर गरेरै तलब लिइरहेका छन् । आठ जना कर्मचारीको दरबन्दी कायम गरेर विराटनगरमा अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ । तर, उक्त कार्यालय अलग्गै आफ्नो घर खोजेर सीमा क्षेत्रमा बस्नुको साटो जिल्ला प्रशासन कार्यालय मोरङको एउटा कोठामा गुपचुप बसेको छ ।
आफूहरू नाकामा सेवा दिन आइसकेको भनेर अध्यागमन कार्यालयले सरोकारवालाहरूसँग भेटघाटसमेत नगरेकाले सेवाग्राहीहरू सेवा लिन नपुगेको पर्यटन व्यवसायी रमेश नेपालीले बताए । निमित्त प्रमुख पौडेलले सीमा क्षेत्रमा घर फेला नपारेकोले प्रशासन कार्यालयको साँघुरो कोठामा बस्न बाध्य भएको जानकारी दिए । उनले सीमा नाकामा बस्नका लागि घर खोजी भइरहेको बताउँदै चाँडै विराटनगर आसपासका पर्यटन व्यवसायीहरूलाई सहभागी गराएर अन्तरक्रिया गर्ने योजना रहेको सुनाए ।
कार्यालय स्थापना भएपछि नाकाबाट आवत–जावत गर्ने पर्यटकहरू बढ्ने विश्वास पर्यटन व्यवसायीको थियो । १ नम्बर प्रदेशको राजधानी विराटनगरमा जोगबनी नाकाबाट भारतका ठूला शहरहरू दिल्ली, कोलकाता र पटना जानका लागि रेल र बस सेवा सहज रूपले सञ्चालन हुँदै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।