तुलसीपुरमा उच्चस्तरीय विकास प्राधिकरण गठन हुँदै

Share News

पाण्डव शर्मा

घोराही । तुलसीपुर उपमहानगरपालिकाले विकास निर्माणलाई प्रभावकारी रूपमा सञ्चालन गर्न उच्चस्तरीय विकास प्राधिकरण गठन गर्ने भएको छ । उपमहानगरले प्राधिकरण गठनको प्रक्रिया शुरू गरिसकेको छ । मेयरको संयोजकत्वमा गठन हुने प्राधिकरणले विकास निर्माणको सम्पूर्ण काम एकीकृत रूपमा गर्नेछ । 

साउनभित्र प्राधिकरण गठन गर्ने तयारी भएको मेयरका प्रेस संयोजक बसन्तविवश आचार्यले जानकारी दिए । उनका अनुसार प्राधिकरण गठनका लागि उपमहानगरपालिकाको कार्यपालिकाबाट कार्यविधिसमेत पारित भइसकेको छ । कार्यपालिकाको ६६औं बैठकले प्राधिकरणका लागि आवश्यक पर्ने उपकरण खरीद प्रक्रियासमेत अघि बढाएको छ । 

उपमहानगरका प्रवक्ता सूर्यबहादुर डाँगीका अनुसार पालिकाभित्र पूर्वाधार निर्माणका लागि उपकरण खरीद गर्न लागेको जानकारी दिए । चालू आवमा ६० किलोमिटर सडक कालोपत्र गर्ने गरी काम अघि बढाएको उनले जानकारी दिए । प्राधिकरणको काम छिटो अगाडि बढाउन उपमहानगरपालिकाले उपकरण खरीद गर्न टेण्डर प्रक्रियालाई अगाडि बढाउन लागेको प्रवक्ता डाँगीले बताए । 

उनका अनुसार प्राधिकरणका लागि आवश्यक पर्ने रोलर, टिप्पर, ग्रेडर, पानी ट्यांकी, बिटुमिन उमाल्ने उपकरण, चिप्स मिक्सिङ प्लान्ट, एक्जाभेटर १÷१ ओटा र २ ओटा कम्प्रेसर खरीद गर्ने भएको छ । यसअघि पनि तुलसीपुर उपमहानगरले निर्माणको काममा प्रयोग हुने जेसीबी र टिप्पर खरीद गरेको थियो । त्यस्तै तुलसीपुर उपमहानगरका सबै वडाका लागि १/१ ओटा एम्बुलेन्ससमेत खरीद गरिसकेको छ ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले कच्ची घरहरूको अभिलेखीकरण र पुराना घरहरूको नक्सापासका लागि पुस मसान्तसम्मका लागि म्याद थप गर्ने निर्णयसमेत गरेको छ । यसका साथै अबदेखि नयाँ घर बनाउँदा वडा कार्यालयको अनिवार्य रूपमा सिफारिश लिनुपर्ने प्रावधानसमेत बैठकले तोकेको छ । 

यसैगरी बैठकले चालू आवको योजना समयमै सम्पन्न गर्न असोजभित्र अनिवार्य रूपमा उपभोक्ता समिति गठन गर्नुपर्ने, पुस मसान्तसम्म योजना सम्झौता र चैत मसान्तसम्म योजना सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । यसका साथ बैठकले विभिन्न वडामा प्राविधिक कर्मचारी अभावलाई पूर्ति गर्न करारमा भर्ना गर्ने निर्णयसमेत गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।