राजेश जिसी
प्यूठान । प्यूठानमा गत आर्थिक वर्ष २०७५/७६ मा रू. १ अर्ब ५६ करोड ८० लाख बजेट खर्च गर्न नसकी फिर्ता भएको छ । जिल्लाका लागि केन्द्र र प्रदेश सरकारबाट रू. ६ अर्ब ४३ करोड ९६ लाख बजेट विनियोजन भएकोमा उक्त रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानले जानकारी दिएको छ ।
स्थानीय तह तथा जिल्लास्थित कार्यालयहरूको कर्मचारी व्यवस्थापनमा समस्या तथा बजेट खर्च गर्ने अख्तियारी ढिलो आएका कारण ठूलो मात्रामा बजेट खर्च नभएको हो । प्रदेश नं. ५ सरकारले प्यूठानका लागि विनियोजन गरेको बजेटको ७६ दशमलव ३६ प्रतिशत मात्र खर्च भएको कार्यालयका सूचना अधिकारी महेन्द्र श्रेष्ठले जानकारी दिए । ‘प्रदेश सरकारले जिल्लास्थित कार्यालय तथा स्थानीय तहलाई समयमै बजेट उपलब्ध गराउन नसक्दा धेरै रकम फ्रिज भयो,’ उनले भने ।
जिल्लाका कुन स्थानीय तहबाट कति रकम फ्रिज भयो भन्ने तथ्यांक अझै कार्यालयमा आइपुगेको छैन । प्रारम्भिक सूचना अनुसार पूँजीगत बजेटको करीब ७० प्रतिशतको हाराहारीमा मात्र स्थानीय तहले खर्च गरेका गरेका छन् । असार ३० गतेसम्म प्रदेशबाट कार्यक्रम आएकोले पैसा खर्च गर्न समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुस्कल श्रेष्ठले बताए ।
प्यूठानमा सडक निर्माण तथा मर्मत, पक्की पुल र झोलुंगे पुलको काम गर्ने रोल्पा र पूर्वी रुकुमसमेत कार्यक्षेत्र रहेको भौतिक पूर्वाधार विकास कार्यालयले गत आवको ७९ करोड ७९ लाख बजेटमध्ये ६२ प्रतिशत बजेट मात्र खर्च गरेको छ । कार्यालय स्थापना गर्दा कहाँ रहने भन्ने अन्योलले कम बजेट खर्च भएको कार्यालयका सूचना अधिकारी इन्जिनीयर वीरेन्द्र कँडेलले बताए । पूर्वाधार कार्यालयले गत आवमा प्यूठानमा ७ दशमलव २७ किलोमिटर नया“ सडक र ४७ किमी पुरानो सडकको स्तरोन्नति गरेको जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।