सुनसरीमा करीब ३ अर्ब बजेट फ्रिज

Share News

सुनसरी (अस) । सुनसरीमा गत आर्थिक वर्षमा संघ र प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये २ अर्ब ८१ करोड ४ लाख रुपैयाँ खर्च हुन नसक्दा फ्रिज भएको छ । संघतर्फको २ अर्ब ३ करोड ७२ लाख र प्रदेशतर्फको ७७ करोड ३२ लाख रुपैयाँ खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीले तथ्यांक सार्वजनिक गरेको छ ।

कार्यालय प्रमुख वज्रमोहन कोइरालाले केही कार्यालय केन्द्रबाट प्रदेशमा हस्तान्तरण हुँदा पहिलेको बजेट खर्च गर्न नपाई धेरै देखिएको बताए । केन्द्रका सामाजिक सुरक्षा, सांसद विकास कोष, प्रधानमन्त्री रोजगार र समृद्धि लगायतका कार्यक्रमबाट आएको रकममध्ये सुनसरीका स्थानीय तहले ९ करोड ४० लाख ५४ हजार रुपैयाँ खर्च गर्न नसकेको देखिएको छ । 

सुनसरीमा २ उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिका छन् । स्थानीय तहमध्ये सबैभन्दा बढी इटहरी उपमहानगरपालिकाले रू. ४ करोड २० लाख खर्च गर्न नसकेको देखिएको छ भने सबैभन्दा कम जिल्ला समन्वय समिति सुनसरीले १ हजार रुपैयाँ खर्च गर्न बाँकी देखिन्छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार २०७६ असारसम्म जिल्लागत रहेका कार्यालयहरूको चालू खर्च प्रतिशत ९७ दशमलव १० प्रतिशत रहेको छ भने पूँजीगततर्फ केवल ७९ दशमलव ६० प्रतिशत मात्र खर्च भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।