कैदीले बनाएको मुडा चीन निर्यात

Share News

सुनसरी । सुनसरीको क्षेत्रीय कारागार झुम्कामा रहेका कैदीहरूले बनाएको मुडाको चीनमा माग बढ्दै गएको छ । कैदीबन्दीलाई सुधार गर्ने अभियान अनुसार शीप सिकाएर आकर्षक मुडा बनाउन थालेपछि यसले अन्तरराष्ट्रिय बजार पाउन थालेको छ । बजार माग बढ्दा चीन जाने मुडाको परिमाण पनि बढेको जेलर डा. कृष्णप्रसाद घिमिरेले बताए ।

जेल प्रशासनको तथ्यांकअनुसार क्षेत्रीय कारागारमा २०७५ मंसिरदेखि २०७६ साउन ८ गतेसम्म २१ हजार ५०७ ओटा मुडा रसुवाको केरुङ नाका हुँदै चीन निर्यात भएको छ । अनुमानित २५० रुपैयाँका दरले विक्री गर्दा ८ महीनामा ५३ लाख ७६ हजार ७५० रुपैयाँको मुडा चीन निर्यात भएको छ । आठ महीनामा कारागारबाट ६६ हजार ५ सय ७५ मुडा विक्री भएका छन् । निर्माण गरिएका मुडामध्ये सबैभन्दा बढी चीन नै जाने गरेको कारागारको ब्लक नं. २ का चौकीदार खड्गबहादुर राईले बताए ।

कारागारमा निर्माण भएका मुडा नेपालका बजारमा सबैभन्दा बढी विक्रीका लागि काठमाडौं जाने गरेको  छ । तथ्यांकअनुसार आठ महीना ८ हजार १२२ ओटा मुडा काठमाडौं लगिएको छ । यस्तै, देशका विभिन्न शहरहरूमा पनि मुडा निर्यात हुने गरेको छ । कारागारमा निर्माण भएका १८ इन्चको ठूलो मुडाको २८०, मध्यमको २४० र सानोको २२० रुपैयाँ होलसेल मूल्य छ । 

कुर्सीको रूपमा प्रयोग गरिने मुडाको भने अलग्गै मूल्य हुने गर्छ । मुडाको व्यापार बढेसँगै कैदीबन्दीहरूले मासिक १० हजार रुपैयाँ कमाउने गरेका छन् । 

क्षेत्रीय कारागारमा रहेका कैदीहरूलाई शीपमूलक तालीम प्रदान गरिएको छ । उनीहरूलाई मुडा र फर्निचरका सामान बनाउने तालीमहरूको व्यवस्था गरिएको छ । क्षेत्रीय कारागारको ब्लक नं. १ र २ मा गरी करीब पाँच सय जनाले मुडा बनाउने गरेका छन् । 

यहाँका कैदीबन्दीले १० दिनमा ३ हजार मुडा तयार गर्ने गर्छन् । क्षेत्रीय कारागारको ब्लक नं. १ र ब्लक नं. २ मा गरी १ हजार ७ सयभन्दा बढी कैदीबन्दी छन् ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।