विराटनगर । प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको विषादी विश्लेषण प्रयोगशालामा विराटनगर भन्सार कार्यालयले विषादी परीक्षण नगराउने गरेको पाइएको छ । प्रदेश सरकारले करीब २५ लाख रुपैयाँ खर्चेर विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । तर कृषि मन्त्रालयको निर्देशनबमोजिम विराटनगर भन्सारले झापाको बिर्तामोडमा रहेको ल्याबमै विषादी परीक्षण गराइरहेको छ ।
प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उक्त प्रयोगशाला सञ्चालनमा ल्याएको हो । उक्त प्रयोगशालामा सुनसरी भन्सार कार्यालयले भारतीय आलु र प्याजको मात्र विषादी परीक्षण गर्न नमूना पठाउने गरिएको केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले बताए ।
विराटनगर भन्सार कार्यालयका प्रमुख मीमांश अघिकारीले शुरूमा विषादी परीक्षण गर्न कृषि मन्त्रालयले गरेको पत्राचारअनुसार नै गरिएको बताए । विराटनगरमा प्रदेश सरकारले सञ्चालन गरेको प्रयोगशालामा विषादी परीक्षण गर्न कृषि मन्त्रालयले पत्राचार नगरेको उनको भनाइ छ । व्यापारीहरूले भने विराटनगरमा प्रयोगशाला हुँदाहुँदै बिर्तामोडमा विषादी परीक्षण गर्न जानुपर्दा हैरानी गुनासो गर्दै आएका छन् । विराटनगरमा प्रयोगशाला हुँदाहुँदै बिर्तामोड जान बाध्य बनाएर भन्सार कार्यालयले दुःख दिएको गुद्री बजार व्यवस्थापन समितिका सल्लाहकार पशुपति भगतले टिप्पणी गरे ।
उक्त प्रयोगशालामा तरकारीमा पाइने पाँचओटा विषादी समूहमध्ये कार्बामेट र अर्गानोफस्फेट विषादीको समूहको मात्र परीक्षण हुँदै आएको प्रयोगशालाका प्राविधिक सहायक घनश्याम बरालले जानकारी दिए । ‘हालसम्म करीब २५ ओटा नमूनाको परीक्षण मात्र गरिएको छ,’ उनले भने ।
विराटनगरमा विषादी अवशेष परीक्षण प्रयोगशाला भए पनि विराटनगर भन्सार कार्यालयले परीक्षण गर्न नमूना नपठाएको प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले बताए । भन्सार कार्यालयमा पटकपटक आग्रह गरे पनि संघीय सरकारको पत्र नपाएको भन्दै नपठाउने गरिएको उनको भनाइ छ । ‘संघीय सरकारको निर्णयअनुसार प्रदेश सरकारले विराटनगरमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन ग¥यो,’ उनले भने, ‘तर परीक्षणका लागि नमूना नपठाउनु आश्चर्यको विषय हो ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।