प्रदेश–१ मा विद्युतीय बस सञ्चालन गर्न निजी क्षेत्र तयार

Share News

विराटनगर । सुन्दर यातायात प्रालिले प्रदेश–१ मा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्दै आएको कम्पनीले प्रदेश सरकारको समन्वयमा झापा, मोरङ र सुनसरीभित्र ६ ओटा चार्जिङ सेन्टरका लागि जग्गा उपलब्ध गराएमा ५ महीनाभित्रमा विद्युतीय बस सञ्चालन गर्न सकिने प्रस्ताव पेश गरेको छ । 

कम्पनीले बस सञ्चालनका लागि प्रदेशका मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत गरेको छ । विराटनगर, काँकडभिट्टा, इटहरी, धरान र दमकलगायत क्षेत्रमा सात कट्ठादेखि नौ कट्ठाको दरले जग्गा उपलब्ध भएमा तीन महीनाभित्र चार्जिङ स्टेशन बनाई यातायात सञ्चालन गर्न सकिने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा विराटनगर–काँकडभिट्टा र विराटनगर–धरान बस सञ्चालन गर्ने सोच हामीले बनाएका छौं ।’ 

एउटा चार्जिङ स्टेशन निर्माण गर्न रू. ७० लाखसम्म खर्च हुने थापाले बताए । प्रदेशका मुख्यमन्त्री राईले यो प्रक्रियाको लागि प्रदेश सरकारले सहजीकरण गर्ने र चाँडै नै विद्युतीय बस सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको थापाले जानकारी दिए । सञ्चालन हुने बसको मूल्य १ करोड ६२ लाख पर्छ । ४० सिट क्षमता भएको बसमा उभिएर समेत गरी ७० जनासम्म यात्रुले यात्रा गर्न सक्ने बताइएको छ । 

त्यस्तै, अपांगमैत्रीसमेत हुने बसमा एसीको सुविधा हुन्छ । बस सञ्चालन भए सरकारले तोकेको भन्दा ३० प्रतिशत भाडा घट्ने थापाले दाबी गरे । विद्युतीय बस एकपटक चार्ज गरेपछि २६८ किलोमिटर चल्ने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।