प्यूठान (अस) । जिल्लाको मल्लरानी गाउँपालिकामा सोलारबत्ती वितरणमा अनियमितता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंबाट अनुदानमा आएका सोलार–सेट गाउँपालिकाले लक्षित वर्गलाई नभई पहुँचवालालाई वितरण गरेको हो ।
केन्द्रले उज्यालोबाट वञ्चित आदिवासी जनजाति, दलित, अति विपन्न तथा पिछडिएको क्षेत्रलाई प्राथमिकतामा पारी नाम पठाउन आग्रह गरेको थियो । गाउँपालिकाले वडाबाट संकलन गरी नाम पठाएको थियो । केन्द्रले पालिकालाई ४८० थान सोलार पठायो तर सोलार वितरणमा अनियमितता भएको स्थानीयवासीले आरोप लगाएका छन् । सोलार वितरणमा विशेषगरी वडा नं. ४ मा विवाद देखिएको स्थानीय इमानसिंह भारतीले बताए ।
‘हुनेखाने धनाढ्यले सोलार पाए,’ उनले भने, ‘सोलार वितरणमा लक्षित वर्गको नाम काटेर आफ्नालाई दिइयो ।’ वडा नं. ४ ले अन्धाधुन्ध रूपमा सोलार वितरण गरेको सोही वडाका स्थानीय पशुपति श्रेष्ठले बताए । ‘सोलार वितरणमा हुनेवाला र पहुँचवालालाई दिनु कत्तिको जायज हो ?’ उनले भने ।
वडा नं. १ मा पहिला वैकल्पिक ऊर्जामा पेश गरिएको नामावलीमा सोलार आइसकेपछि नाम फेरबदल भएको स्थानीय शुक्रराज सार्कीले बताए । दलित समुदायको नाम छानीछानी काटिएको उनले भनाइ छ । भक्तबहादुर नेपाली, उजेली नेपाली, सुमन्त नेपाली, खेतुलाल सार्की र धनकला सार्कीको नाम छुटेको उनले बताए । वडामा नाम संकलन गर्दा आफ्ना आसेपासे तथा कार्यकर्तालाई खोजी–खोजी हालिएको र राजनीतिक पूर्वाग्रह साँधिएको स्थानीयको आरोप छ । अनुदानमा आएका सोलार सेटको बजार मूल्य करीब १० हजार पर्ने बताइएको छ ।
वडाबाट सिफारिश भई आएका मापदण्डभित्र पर्नेलाई सोलार दिने कार्यक्रम रहेको गाउँपालिका प्रमुख अमरध्वज रानाले बताए । विशेषगरी खलंगा बजारमा लक्षित वर्गभन्दा बाहिरकालाई सोलार वितरण भएपछि असन्तुष्टि बाहिरिएको उनले जानकारी दिए ।
‘दिएपछि फिर्ता माग्न अप्ठ्यारो प¥यो,’ उनले भने, ‘केहीले सोलार फिर्ता गर्छौं भन्नुभएको छ ।’ केही वडाले सोलार वितरण गरिसकेको र केहीले बाँड्न बाँकी रहेको रानाको भनाइ छ । मिटर बक्स जोड्न नसकेका, लुज तारबाट बिजुली बालेका र पिछडा वर्गलाई पहिलो प्राथमिकतामा पारिने गाउँपालिकाले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।