अवैध लाभको अपराध 

Share News

उद्योगी, व्यवसायी, व्यापारीहरू आफ्ना उत्पादनलाई बजारमा विक्री गरी आम्दानी गर्छन् र त्यसमा निश्चित रकम नाफाको रूपमा प्राप्त गर्छन् । कर्मचारीहरू नोकरी गरी तलब प्राप्त गर्छन् । यस्ता कामबाट कसैले लाभ प्राप्त गर्छ भने त्यो वैध तरीकाभित्र पर्छ । तर, प्रचलित कानूनले नै अपराध भनी ठहराएका काम कसैले गर्छ वा त्यस्तो काम गरी आफ्ना लागि लाभ प्राप्त गर्छ भने त्यो अवैध तरीका हुन जान्छ । यसरी अवैध तरीकाबाट लाभ प्राप्त गर्ने कसूरबाट कसैलाई हानिनोक्सानी पुग्न गएको खण्डमा बिगो खुलेकोमा बिगो असुल गरी पीडितलाई भराई दिनुपर्छ । यदि बिगो नखुलेकोमा पीडितलाई उचित क्षतिपूर्ति भराई दिनुपर्छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ मा यस सम्बन्धमा कानूनी व्यवस्था गरेको छ । 

ठगी : ठगी धन्दामा एकले अर्कोलाई विश्वास दिलाउने, झुक्याउने र फकाउने कुराले प्रश्रय पाउँछ । कसैलाई कुनै कुराको विश्वास दिलाई सो बमोजिम नगरी झुक्याई, फकाई वा कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी हानिनोक्सानी पु¥याउने काम ठगी हो भनी अपराध संहितामा उल्लेख गरेको छ । त्यस्तो काम गरी आफ्नो वा अरू कसैको लागि लाभ प्राप्त गरेमा समेत ठगी मानिन्छ । कसैले पनि नेपाल सरकार वा उसको पूर्ण स्वामित्व वा नियन्त्रणमा रहेको संस्थालाई हानिनोक्सानी पुर्‍याउने, आफ्नो नाम, पद, योग्यता ढाँटी कसैबाट लाभ प्राप्त गर्ने कामलाई पनि ठगीको अपराधका रूपमा मानेको छ ।

गुणस्तरहीन निर्माण : नेपाल सरकारको तर्फबाट हुने विकास निर्माणका सबैजसो काम टेन्डर प्रक्रियाबाट ठेक्कामा नै हुने गरेका छन् । यसबाट पनि व्यवसायीलाई आर्थिक लाभ प्राप्त हुन्छ । तर, त्यसरी लाभ प्राप्त गर्ने नाममा कसैमाथि बेइमानी गर्नु हुँदैन । अपराध संहिताको दफा २५० मा ठेक्का वा करारको काममा फरक पार्न नहुने व्यवस्था गरेको छ । निर्माण सम्बन्धी काम गर्ने वा अन्य कुनै काम गर्ने जिम्मेवारी लिएको व्यक्ति वा निजको तर्फबाट काम गर्ने व्यक्तिले निर्र्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी निर्माणको काम गर्न गराउन हुँदैन । कुनै पनि निर्माणको काममा प्रयोग हुने मालको परिमाण घटीबढी पारी वा निर्धारित गुणस्तरभन्दा फरक पारी काम गर्नु गराउनु हुँदैन । त्यस्तै निर्माणको लागि कुनै माल, वस्तु वा सेवाको आपूर्ति गर्ने जिम्मेवारी भएको व्यक्ति वा निजको तर्फबाट काम गर्ने व्यक्तिले कमसल वा घटीबढी माल, वस्तु वा सेवा आपूर्ति गर्नु, गराउनु हुँदैन । यसो गरेमा सजायको भागीदार हुनुपर्छ । 

कसैसँग गरिएको निर्माण सम्बन्धी ठेक्का वा करार बमोजिम आफूले गर्नुपर्ने काम इमानदारीपूर्वक गर्नुपर्छ । बेइमानीको नियतले निर्माण सम्बन्धी काममा अरू कसैलाई ठग्ने, धोका दिने काम गर्छ भने कानूनले त्यसलाई अपराध मानेको छ । अहिले ठेकेदारले आफूले जिम्मा लिएको ठेक्काको काम समयमै सम्पन्न नगरिदिंदा सर्वसाधारणले सास्ती भोग्नु परिरहेको छ । गुणस्तरहीन निर्माणले गर्दा पनि अहिले विकास निर्माण चाँडै विनाशको स्थितिमा पुग्ने गरेको छ । बेइमानीको नियतले काम गर्ने ठेकेदारलाई कानूनी दायरामा ल्याउनु जरुरी भइसकेको छ ।

सम्पत्तिको आपराधिक उपयोग : आफ्नो फाइदाका लागि अरूको सम्पत्ति कब्जा गर्ने, उपयोग गर्ने, विक्री गर्ने जस्ता काम हुन थालेको छ । कसैले अर्काको सम्पत्ति कब्जा गरी उपयोग गरेमा, हानिनोक्सानी गरेमा, सम्बद्ध व्यक्तिको मन्जुरीविना भाडामा लगाएमा वा बेचबिखन गरेमा सम्पत्तिको आपराधिक उपयोग गरेको मानिन्छ । बेवारिसे सम्पत्तिको धनी थाहा हुँदाहुँदै फिर्ता नगरी वा कुनै सूचना नदिई उपयोग गर्ने वा त्यसको रूपान्तरण गर्ने काम पनि यसैभित्र पर्छ । यस्तो अपराध गर्ने जोसुकै मानिसमा बेइमानीको नियत लुकेको हुन्छ ।  

आपराधिक उपयोग गरेको सम्पत्ति फिर्ता गर्न सकिने अवस्थाको रहेछ भने धनीलाई फिर्ता गर्नुपर्छ । यदि धनीको मृत्यु भइसकेको रहेछ भने निजको नजीकको हकवालालाई फिर्ता गर्नुपर्छ ।    

विश्वासघातको अपराध : समाजमा रहँदा आफ्नो सम्पत्ति कहिले अरूको जिम्ममा रहन सक्छ भने अरूको सम्पत्ति आप्mनो जिम्मामा राख्नुपर्ने अवस्था पनि हुन्छ । आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त प्रयोग गर्नु वा त्यसको रूपान्तरण गर्नु हुँदैन । त्यस्तो सम्पत्तिको उपयोग सम्बन्धी करार वा शर्तनामा वा कानून विपरीत हुने गरी बेइमानीपूर्वक उपयोग गर्नु हुँदैन । त्यस्तो जिम्माको सम्पत्ति अरू कसैलाई उपयोग गर्न दिने वा अरू कसैलाई हक टुटाई दिनु हुँदैन । त्यस्तै कुनै काम, कारोबार जिम्मा लिएको व्यक्ति वा त्यस्तो सम्बन्धमा अरूको प्रतिनिधिको हैसियतमा काम गर्ने व्यक्ति, कर्तव्य पालनको जिम्मा लिएको व्यक्तिले आफूलाई फाइदा हुने काम गर्नु हुँदैन । यस्तो कामबाट अरू कसैलाई फाइदा पु¥याउनु समेत हुँदैन । यस्ता कामलाई आपराधिक विश्वासघात मानी सजायको व्यवस्था गरेको छ ।

आपराधिक लाभ (एक्सटर्सन) : कसैले कुनै व्यक्तिलाई क्षति पुर्‍याउने, डर, त्रासमा पारी आफ्नो वा अरू कसैका लागि लाभ उठाउने गरेमा आपराधिक लाभ लिएको मानिन्छ । त्यसरी लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई काम गर्नबाट रोकेमा समेत आपराधिक लाभ लिएको ठहर्छ । यसरी लाभ लिने नियतले कसैको ज्यान लिने, अंगभंग गर्र्ने, गम्भीर चोट पुर्‍याउने काम कसैबाट हुनु हुँदैन । कसैको व्यापार व्यवसायमा क्षति पुर्‍याउने, मानवीय चरित्र माथि झूटो दोष लगाउने नियतले डर, त्रास देखाई लाभ लिनु हुँदैन । अपराध संहिताको दफा २५३ मा कसैले पनि आपराधिक लाभ लिन वा लिन लगाउन नहुने गरी निषेध गरेको छ । 

कसैलाई डर, त्रास दिई, ज्यान मार्ने धम्की दिई रकम असुल गर्ने, अरूको सम्पत्ति कब्जा गर्ने, प्रयोग गर्ने, आफ्नो जिम्माको सम्पत्ति धनीलाई थाहा नदिई विक्री गर्ने, अरूलाई विश्वासमा पारी रकम लिई पचाइखाने जस्ता विभिन्न अपराधका घटना हुन थालेका छन् । केवल आफ्नो वा अरू कसैको फाइदाको लागि गलत प्रवृत्तिका मानिस यस्ता अपराधमा लागिपरेका छन् । यसरी अवैध तरीका अपनाएर कसैले आफ्नो वा अरू कसैको लागि लाभ प्राप्त गर्ने काम गर्छ वा गर्न लगाउँछ भने कानूनले त्यस्तो कामलाई अपराधका रूपमा परिभाषित गरिसकेको छ । 

लेखक अधिवक्ता हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।