हिन्दूहरूको महान् चाडका रूपमा रहेको दशैंको रौनक देशका गाउँ, शहर, बजारमा देखिन थालेको छ । राम्रो लगाउने, मिठो खाने, चङ्गा उडाउने, पिङ खेल्ने गरी आफ्नै तरीकाले दशैं मनाउने गरिन्छ । दशैं अरू चाडभन्दा लामो समय मनाउने गरिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन देवी दुर्गाको आह्वान गरी कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ । महाशक्तिका रूपमा प्रख्यात देवी दुर्गाको विशेष पूजा, व्रत, आराधना गरी दशैं मनाउने गरिन्छ । प्रतिपदादेखि नवमी तिथिसम्म ९ दिन निरन्तर देवी दुर्गाको विभिन्न स्वरूपको पूजा हुने गर्छ । दुर्गाको विभिन्न स्वरूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । नेवार समुदायमा मोहनी नखःको रूपमा ब्रह्मायणी, महेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्रायणी, चामुण्डा, महालक्ष्मी अष्टमातृकाको पूजा गरी दशैं मनाउने गरिन्छ । तराई मधेशमा दशैंलाई दशहरा वा विजया दशमीको नामले मनाउने चलन छ । गणेश, दुर्गा, लक्ष्मीको मूर्ति बनाई पूजा गरी दशहरा मनाइन्छ । दशैंको धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व रहँदै आएको छ ।
दशमीको दिन देवी दुर्गाको प्रसाद स्वरूप टीका, जमरा लगाउने गरिन्छ । सोही दिनदेखि कोजाग्रत पूर्णिमासम्म आफ्ना मान्यजनको घरमा गई टीका, प्रसाद र आशीर्वाद लिने गरिन्छ । यसरी टीका लगाई दिँदा अहिले सबैले आफ्नो गच्छेअनुसार नगद दक्षिणा दिने गरिँदै आएका छन् । दक्षिणामा सकेसम्म नयाँ नोट दिने रहर मानिसहरूमा पाइन्छ । राजा, महाराजाले आफ्ना भाइ भारदारलाई बक्सिस दिने चलनले गर्दा समाजमा यस कार्यले मान्यता पाउन थालेको हो कि भनी अनुमानसम्म गर्न सकिन्छ । पहिले दशैंका लागि सरकारी कर्मचारीको पहुँचमा मात्र नयाँ नोट पुग्थे । अहिले दशैंमा नयाँ नोट सबैको आवश्यकता जस्तो भएको छ ।
दशैंमा नयाँ नोट दक्षिणाका रूपमा दिने चलन सामान्य बन्दै गएको छ । दशैंको समयमा नयाँ नोट साट्न बैंकमा मानिसको भीड नै लाग्ने गर्छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकका विभिन्न शाखाबाट सर्वसाधारणले नयाँ नोट साट्न सक्ने गरी राष्ट्र बैंकले व्यवस्था मिलाएको छ ।
बजारमा आवश्यकता अनुसार विभिन्न दरका नोट निष्कासन गर्ने अधिकार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५२ अनुसार राष्ट्र बैंकलाई रहेको छ । साथै ऐनको दफा ५७ अनुसार बैंकले झुत्रो मुद्रालाई खिच्ने, नष्ट गर्ने वा अन्य नोटसँग सटही गरिदिन सक्छ । नेपाल राष्ट्र बैंकले दशैंका लागि पाँच, दश, बीस, पचास, एकसय, पाँचसय र एकहजार दरका नोट साट्न सक्ने व्यवस्था गरेको छ । कानूनद्वारा मान्य यस्ता नोटलाई समान मूल्यको विभिन्न दरको कुनै नोटसँग सटही गरिदिन सक्ने अधिकार बैंकसँग रहेको छ । यसका लागि कुनै दस्तूर लाग्दैन ।
दशैंको समयमा नोटमा टीका, फूल, जमरा राखेर दिने चलनले नयाँ नोट चाँडै नै फोहोर हुने, रंगिने गरेको छ । दशैंको समय वा अन्य समयमा मन्दिर दर्शनका क्रममा नोट चढाउँदा पनि भिज्ने, रंगिने गरेको छ । मानिसहरूले जथाभावी नोटलाई दोबार्ने, पट्याउने, खल्ती वा पर्समा कोच्ने कार्यले पनि बैंक नोट असुरक्षित हुने गरेको छ । नोटको असुरक्षित प्रयोगले गर्दा यसको अक्षर, चि≈न, चित्र, नम्बर आदि नचिनिने भई झुत्रो हुने गर्छ । बैंकले डिजाइन मेटिएको, च्यातिएको, विकृत वा ५० प्रतिशतभन्दा बढी भाग नभएको नोट सटही नगर्न सक्छ ।
दशैंको समयमा नोटको सुरक्षित प्रयोग गर्न पनि सबैलाई अनुरोध गरेको छ । दशैंमा नयाँ नोटको प्रयोग गर्दा केरमेट नगर्न, रङ अबिर नलगाउन, आकार नबिगार्न पनि राष्ट्र बैंकले सूचना जारी गरी सबैलाई सचेत गराएको छ । नोटको जथाभावी प्रयोग गरेमा, केरमेट गरेमा, नोटमा कुनै कुरा लेखेमा समेत प्रचलित कानूनले अपराध मानेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २६३ मा बैंक नोट जलाउन, च्यात्न वा नोटमा लेख्न नहुने कानूनी व्यवस्था गरेको छ । नोटमा जथाभावी लेखेमा वा कोरेमा त्यस्तो व्यक्तिलाई ३ महीनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरीवाना हुन सक्छ । नोट सधैं चलनचल्तीमा रहने हुँदा यस्तो अवस्थामा नोटमा गरिएको केरमेट तथा च्यातेको, लेखेको, रङ लगाएको जस्ता गलत कार्य पत्ता लगाउन गाह्रो नै हुने देखिन्छ ।
बैंकमा आधुनिक प्रविधि भित्रिएसँगै नयाँ बैंकिङ प्रणालीको पनि विकास भइसकेको छ । नगदको सट्टामा विभिन्न एटीएम कार्ड, डेविट, क्रेडिट कार्डमार्फत कारोबार गर्ने क्रम विश्वका विकसित देशमा मात्र नभई नेपालमा पनि बढ्दो छ । अझ इन्टरनेटका माध्यमबाट अनलाइन कारोबार गर्ने चलन पनि बढ्दो छ । देशमा बैंकिङ प्रविधि र प्रणालीको विकास हुँदाहुँदै पनि बैंक नोटप्रति मानिसहरूको मोह घटेको छैन । दशैंको समयमा यसको प्रयोग अधिक हुने गरेको छ । वस्तु विनिमय बजारमा बैंक नोटको प्रयोग हुने गर्छ ।
बजारमा बैंक नोट चलायमान हुन्छ । वस्तु वा सेवाको किनबेच गर्दा एउटा व्यक्तिसँग रहेको नोट अर्को व्यक्तिसमक्ष तुरुन्तै पुग्ने गर्छ । नोट व्यक्तिको आफ्नो सम्पत्ति हो, देशको अर्थ व्यवस्था चलाउने आधार पनि हो । जुनसुकै प्रकारको पुरानो वा नयाँ नोट जथाभावी प्रयोग गर्दा खुम्चिने, च्यातिने, मैलिने भई यसको आयु चाँडै सकिन्छ । पुनः नयाँ नोट छाप्न देशका लागि आर्थिक भार पर्न जाने हुन्छ । यसले राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न जान्छ । यसलाई सुरक्षितका साथ प्रयोग गर्नेतर्फ मानिसहरू सचेत हुनुपर्छ ।
बैंक नोट राष्ट्रको इज्जत र प्रतिष्ठासँग पनि जोडिने हुँदा दशैं, तिहार जस्ता चाडपर्वमा यसको प्रयोग सुरक्षित साथ गर्नुपर्छ । दशैंको टीका, लगाउँदा नोटमा अबिर राखेर दिने चलन हटाउन सक्नुपर्छ । मानिसहरूले आफ्नो अङ्ग अङ्ग वा सन्तानको हेरचाह गरेजस्तै नोटको पनि जतन गर्न सिक्नुपर्छ ।
लेखक अधिवक्ता हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।