मुद्राको मानक फेरि सुनः जोल्लिक

Share News

मुद्राको मानक फेरि सुनः जोल्लिक
एएफपी/रासस
कात्तिक २२, सिङ्गापुर । विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोल्लिकले सुनलाई मुद्राको विनिमयदर निर्धारणको मानकका रूपमा पुनः अन्तरराष्ट्रिय मुद्रा प्रणालीमा ल्याउनुपर्ने बताएका


छन् । यसै हप्ता दक्षिण कोरियाको सियोलमा हुन लागेको जी-२० देशको सम्मेलनको पूर्वसन्ध्यामा उनले उक्त कुरा बताएका हुन् । यसबाट प्रमुख मुद्राहरूको विनिमयदर निर्धारण र अमेरिकी मौद्रिक नीतिसम्बन्धी विवादले विश्व अर्थतन्त्रमा देखा परेको गम्भीर समस्या समाधानमा सहयोग पुग्ने विश्वास उनको छ ।

अहिलेसम्म प्रचलित परिवर्तनशील विनिमयदरमा आधारित 'दोस्रो बे्रटन उड्स' प्रणालीलाई सफल बनाउन पनि नयाँ व्यवस्था आवश्यक भएको उनको भनाइ छ । सन् १९७१ मा सुनको मूल्यमा आधारित स्थिर विनिमयदर प्रणालीको अन्त्य गरी यो प्रणाली शुरू गरिएको थियो । 'यो नयाँ प्रणालीले अमेरिकी डलर, यूरो, येन, स्र्टर्लिङ पाउण्ड र चिनियाँ युआनलाई समेट्छ । र, यसको क्रमशः अन्तरराष्ट्रिय करण हुन्छ र पूँजी खाता परिवर्त्यता खुला हुन्छ' सोमवार फाइनान्सियल टाइम्समा प्रकाशित आफ्नो लेखमा जोल्लिकले भनेका छन् ।

'यो प्रणालीले मूल्यवृद्धि, मूल्यसङ्कुचन र मुद्राको मूल्य पूर्वानुमान गर्ने अन्तरराष्ट्रिय सन्दर्भ  मापक पनि सुनलाई नै बनाइनुपर्छ' सो लेखमा उनले भनेका छन् ।

अमेरिकाले नेतृत्व गरेको बे्रटन उडस् सम्झौता दोस्रो विश्वयुद्धलगत्तै भएको थियो । र, यसले अमेरिकी डलर मूल्यलाई सुनसापेक्ष राखिएका कारण त्यो सङ्कटपूर्ण अवस्थामा पूँजी प्रवाहका नियन्त्रण गरी विश्व अर्थप्रणालीलाई स्थायित्व दिएको थियो । अर्थशास्त्रका पुस्तकहरूमा सुनलाई पुरानो मुद्राका रूपमा उल्लेख गरिएको र बजारमा अहिले पनि यसलाई वैकल्पिक मौद्रिक सम्पत्तिका रूपमा प्रयोग गरिएकाले स्वर्णमानकमा आधारित नयाँ अन्तरराष्ट्रिय मौद्रिक प्रणाली आवश्यक भएको उनको तर्क छ ।

स्वर्णमानकमा आधारित विनिमयदर प्रणाली मुद्रास्फीतिको प्रतिरक्षा गर्न सहयोगी हुने भए पनि लचिलो मौद्रिक नीतिको विपक्षमा रहेकाले यसले अप्रत्याशित आर्थिक धक्काको सामना गर्न नसक्ने अर्थशास्त्रीहरूको विश्लेषण छ । सुनको तुलनामा डलरको मूल्य कम हुदै गएपछि सन् १९७१ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले स्वर्णमानकमा आधारित विनिमयदर प्रणालीको अन्त्य गरेका थिए । अहिले लगानीकर्ताहरूले बढ्दो मुद्रास्फीति र अमेरिकी बजेट घाटाको प्रतिरक्षा गर्ने उपकरणको रूपमा सुनलाई प्रयोग गर्न शूरु गरेकाले यसको मूल्य पुनः अकासिएको छ । विश्व अर्थतन्त्रलाई हाँक्ने नयाँ मौद्रिक प्रणालीमा सहमति गर्न समय लाग्ने भए पनि यो काम शुरू गरिहाल्नुपर्ने धारणा जोल्लिकको छ ।

देशहरूबीच मुद्राको मूल्य घटाएर विश्व व्यापारमा आफ्नो हिस्सा बढाउने होडबाजी (मुद्रायुद्ध) चलिरहेका बेलामा विश्व बैङ्क प्रमुखको यस्तो धारणा र्सार्वजनिक भएको हो । कृत्रिम रूपमा आफ्नो मुद्राको मूल्य घटाएर विश्व व्यापारमा बेइमानी गरिरहेको आक्षेप चीनमाथि अमेरिका सम्बद्ध देशहरूले लगाउँदै आएका छन् । वाशिङ्टनमाथि पनि कमजोर डलरलाई सहन गरेर मुद्रा बलियो बन्दै गएका उदीयमान देशहरूको निर्यात क्षमतालाई तहसनहस गर्न लागेको आरोप छ । गतहप्ता अमेरिकी केन्द्रीय बैङ्क फेडले ६ खर्ब डलरको मौद्रिक उत्प्रेरणात्मक कार्यक्रम पारित  गरेपछि अमेरिकामाथि लाग्दै आएको आरोपलाई थप बल पुगेको छ । यसको वास्तविक अर्थ अमेरिकाले यो रकमबराबरको मुद्रा छापेर अरू अर्थतन्त्रमा डलरको बाढी ल्याउन खोजेको भन्ने लगाइएको छ ।

आगामी बिहीवार र शुक्रवार सियोलमा हुने जी-२० को सम्मेलनमा चीनलाई आन्तरिक माग बढाउने र अमेरिकालाई सरकारी ऋण घटाउने गरी नयाँ संरचनात्मक सुधारका कार्यक्रम ल्याउन सुझाव दिनुपर्ने जोल्लिकले बताए । 'अन्य देशहरूको सहमतिसहितको विशेष अवस्थामा बाहेक प्रमुख अर्थतन्त्रहरूले मुद्रा बजारमा हस्तक्षेप गर्ने प्रवृत्ति त्याग्नु पर्छ,' उनले भने । अहिले अतिरिक्त विदेशी नगद प्रवाहले विकासशील मुलुकका मुद्राको मूल्य बढ्दा सिर्जित 'एसेट बबल' को भयलाई टार्ने उपायको विषयमा पनि जी-२० को सम्मेलनमा छलफल हुनुपर्ने जोल्लिकको भनाइ छ । 'विकासशिल देशहरूको आर्थिक वृद्धीलाई टेवा पुर्‍याउन उनीहरूले  सामना गरिरहेका पूर्वाधार, कृषि तथा दक्ष जनशक्तीको आपूर्तिमा रहेका समस्या समाधानका लागि जी-२० ले सघाउनु पर्छ' उनको भनाइ छ ।

'आर्थिक, राजनीतिक र सामाजिक आँधीबेहरी आएपछि प्रतिक्रियात्मक कदम चाल्नुको सट्टा समस्याभन्दा एक कदमअघि हिँड्न सरकारहरूलाई सघाउनु यो प्याकेजको सबै भन्दा महत्वपूर्ण पक्ष हो,' जोल्लिक भन्छन् । अहिले जी-२० ले 'अग्रगमन वा बिचलनबीच' छनोट गर्नुपर्ने उनको तर्क छ । 'जी-२० ले गर्ने निर्णय कसरी बहुराष्ट्रिय सहयोगले सबल आर्थिक पुनरुत्थानको लक्ष्य हासिल गर्न सक्छ भन्ने निर्धारण हुन्छ' उनको निष्कर्ष छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।