शेयरको मूल्य किन बढ्न सकेको छैन ? 

Share News

यो आर्थिक वर्षको ३ महीनामा गतवर्षको तुलनामा लगातार आयात घटेको छ, निर्यात बढेको छ, अन्तरराष्ट्रिय व्यापार नै १२ प्रतिशतले घटेको छ । यो आर्थिक सुधारको संकेत तब हुन्छ जब जनताले आयातमा बचेको पैसा स्वदेशमा लगानी गर्छन् । डुइंग बिजनेश अर्थात् उद्योग गर्ने वातावरणमा पनि सुधार भएकाले अर्थतन्त्र सुधार भएको जस्तो देखिएको छ । तर, आयात घट्नुको मुख्य कारण सरकारले विलासिताका सामान आयातमा गरेको कडाइ हो । यो रकम शेयरबजारमा आएको छैन । तसर्थ आहिले आर्थिक सुधारले तत्काल शेयरको दोस्रो बजार मूल्य बढ्ने अवस्था देखिँदैन ।

गतवर्षको ठीक यही समयको तुलनामा आयात घटेको छ र निर्यात बढेको छ । यही नै अर्थतन्त्रको सकारात्मक सुधारको संकेत हो । यसै तरीकाले निर्यात बढाउँदै लगेर रोजगारीमा वृद्धि गर्दै जाने हो भने आयात अझै घटाउन सकिन्छ । जस्तै तिहारको माला र दशैंको मासुको आयात घटाउन सकिन्छ । हाम्रो चाडबाडमा हुने सांस्कृतिक खर्चलाई अनुत्पादक नभनौं तर आयात गरिएका हाइब्रिड फूलको मालाको ठाउँमा स्वदेशमै उत्पादन भएको फूलको एक थुँगा लगाएर तिहार मनाउने हो भने सयौं मानिसले थप रोजगारी पाउने अवस्था सृजना हुन्छ । 

अहिले काम गर्ने हो भने उद्योग व्यवसाय बढाउन सकिने समय आएको छ । नेपालमा व्यावसायिक वातावरण सुधार भएको छ । नेपालका छिमेकी देश जस्तै चीन, भारत र बंगलादेशको आर्थिक विकास तीव्रगतिमा भइरहेको छ । यस्तो अवस्थामा नेपालले यिनै देशहरूसँग पारस्परिक लेनदेनको कारोबार गर्ने प्रयास गर्नुपर्छ र गर्दै छ । उत्पादन बढेका कारण आयात घटेमा मात्र बचेको रकम शेयरबजारमा आउने हो तर सामान किन्न नपाएर बचेको रकम सीधै लगानीमा जाँदैन । 

वस्तु उत्पादन र सृजनशीलताविना देश धनी हुनै सक्दैन । मूल कुरा हाम्रो उत्पादन नै हो र दोस्रो समृद्धिको आधार बजार हो । अहिलेसम्मको प्रवृत्ति हेर्दा अमेरिका, बेलायत लगायत पश्चिमा देशहरू उपभोगको मामिलामा अग्रपंक्तिमा छन् । औसत एशियाको क्रयशक्ति भन्दा पश्चिमा देशको क्रयशक्ति ३० गुणा बढी छ । तर, जनसंख्याको हिसाबले विश्वको आधा जनसंख्या चीन लगायत दक्षिण एशियामा बस्छन् । नेपालभन्दा सानो बंगलादेशको जनसंख्या झन्डै १८ करोड छ जुन नेपालको भन्दा ६ गुणा बढी हो । यिनै ३ देशका जनताका आवश्यकता बुझेर कुनै सामानको निर्यात बढाएर आर्थिक सुधार गर्न सकिन्छ । यस्तो अवस्थामा सबैतिर आर्थिक सुधार भएमा शेयरको कारोबार बढ्ने वातावरण बढ्छ । विलासिताका सामानको आयात रोकिँदा भएको आर्थिक सुधारले पूँजी पलायन बढाउन सक्छ । शेयर बढाउँदैन ।

विगतमा के भयो कसो भयो त्यो सबै बिर्सेर नयाँ तरीकाले उद्योग व्यवसाय गर्ने आधार निर्माण गर्दै जानुपर्छ । चिनियाँ राष्ट्रपतिलाई नेपाल आमन्त्रण गरेर विभिन्न कुरामा सम्झौता भएको छ । चीन नेपाल रेलमार्गका बारेमा घनीभूत छलफल भइरहेको छ । 

चिनियाँ राष्ट्रपतिले आफ्नो ऐतिहासिक नेपाल भ्रमणमा भूपरिवेष्टित नेपाललाई जमीनबाट जोडिएकोमा परिणत गर्ने मन्त्र दिएर गए । यसले पनि नेपालको आर्थिक शक्ति बलियो भएको छ । त्यसैबीचमा व्यावसायिक वातावरणको सहजताको सूचकांक मापक डुइङ बिजनेशमा पनि नेपालको अवस्था गत सालभन्दा १६ अंकले सुधार भएर ९४ अंक प्राप्त भएको छ । यसको अर्थ नेपालमा अहिले व्यवसाय गर्न सहज अवस्था सृजना भएको छ । तर पनि शेयरबजार बढेको छैन । सरकारको स्थिरताले गर्दा कालोधन नेपालबाट बाहिर गएको छ । पहिला जसले पनि लगानी गर्न पाउँथे अहिले वैधानिक धनबाहेक लगानी गर्न डराएकाले पनि शेयरको भाउ नियन्त्रित भएको हो ।
 
कमजोर सरकार भएका बेला जम्मा हुने कालो धनले गर्दा जग्गाको भाउ बढ्छ, शेयरको भाउ बढ्छ । जब सरकारले यस्ता कालो बजारीलाई चारै तिरबाट कस्न शुरू गर्छ त्यो बेलामा पूँजी पलायन हुन्छ र शेयरको मूल्य पनि घट्न थाल्छ । अर्थतन्त्रमा शुद्धता ल्याउन सरकारले कालाबजारीलाई निर्मूल त पार्नैपर्ने हुन्छ । हरेक तिरको दलाली प्रथालाई रोक्नैपर्ने हुन्छ । त्यसले गर्दा केही मन्दी जस्तो भएको देखिए पनि निचोडमा यसले एउटा सुधारिएको आर्थिक वातावरण बन्दै गएको छ । 

यो वर्ष गतवर्षभन्दा वैदेशिक लगानी पनि बढिरहेको छ । यसले पनि अर्थतन्त्रलाई अलिकति सहज बाटोमा लैजान सहयोग पुर्‍याउने नै छ । जुन देशमा दलालहरू सरकारसँग मुर्मुरिन्छन् रिसाउँछन् त्यो देशमा आर्थिक सुधार भइरहेको छ भन्ने बुझ्दा हुन्छ ।

विभिन्न अवस्थाका बीचबाट नेपालले पहिलो कुरा चीन, भारत र बंगलादेशमा कुन वस्तुको माग बढी छ ती वस्तु यहाँ उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने कुराको विश्लेषण गर्नुपर्छ । लाभ लागतको तुलना गरेर वस्तु उत्पादनमा जोड दिनुपर्छ । चीनले अमेरिकाबाट वार्षिक करोडौं टन सुंगुरको मासु आयात गर्छ, त्यस्तै सोयाबिन आयात गर्छ, कपास आयात गर्छ । यी र यस्तै चीजको सूक्ष्म विश्लेषण गरेर देशले नयाँ आयामको खोजी गर्नुपर्छ । हिजोको आज नै परिणाम पूरै १८० डिग्री सुधारतर्फ गयो भन्ने होइन । संकेत सकारात्मक छन् । कालाबजारी र जग्गाको आकाशिएको मूल्यले आकाशिएको शेयरबजार वास्तविक सन्तुलनमा आएको छ । 

जग्गाका दलाल कर छलीको रकम शेयरबजारमा आएकाले विगतमा अप्राकृतिक रूपमा आकाशिएको शेयर अहिले संग्लिएको हो । त्यसैले आगामी दिनमा समग्र अर्थतन्त्र सुधारिएर नआउँदासम्म लगानी शेयरबजारमा आउने अवस्था छैन । आर्थिक सुधार भएको भए पनि तत्काल नाटकीय रूपमा शेयर बढ्ने अवस्था छैन । शेयरको मूल्य नाटकीय रूपमा बढ्नभन्दा वस्तुगत रूपमा बढ्ने वातावरण बनेमा किन्ने बेच्ने सबैको कल्याण हुन्छ । 

लेखक कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा व्यवस्थापन विषयका अध्यापक हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।