प्रसारणलाइन नबन्दा उर्जा प्रबर्द्धकहरु विद्युत् खेर जाने भयले चिन्तित्

Share News

फागुन २७, दोलखा । दोलखा जिल्लाको उत्तरी भेगमा निर्माणाधीन करीब आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाका प्रबर्द्धकहरु आफुले निकट भविष्यमा उत्पादन गर्ने विद्युत् खेर जाने भयले चिन्तित् बनेका छन् । 

दुई वर्षमा सकिने गरी सन् २०१० मा ठेक्का लगाइएको विद्युत् प्रसारण लाइनको निर्माण हालसम्म पनि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् ।

प्रसारण लाइन तथा सवस्टेशन निर्माण समयमै नभएमा उत्पादन गरिएको विद्युत् खेरजाने आयोजना सम्मन्न हुने चरणमा रहेको २५ मेवाको सिँगटी खोला जलविद्युत् आयोजनाका आयोजना प्रमुख मनहरि सापकोटाले बताए ।

प्रसारण लाइनको पर्खाइमै २५ मेवाको सिंगटी खोला, ११ मेवाको तल्लो खारे, ५ मेवाको घट्टेखोला, ३० मेगावाटको खानी खोला र ४० मेवाको खानी खोला १ आयोजनाले काम अन्तिम चरणमा पुगेर पनि विद्युत् उत्पादन गर्न सकेका छैनन् । प्रसारण लाइन कै अभावमा १० मेवाको सिप्रिङ खोलाबाट उत्पादीत विद्युत् वर्षा याममा खेर गइरहेको छ ।

२५ मेवाको सिंगटीखोला तथा तल्लो खारेखोला आयोजना सम्पन्न गर्ने हुन चरणमा पुगिसकेको छ । सिंगटी खोला सरकारसँग १० वर्ष अघि प्रतिस्पर्धामा लिएको ‘सुपर सिक्स’ आयोजना मध्येको सबैभन्दा पहिला पूरा हुने आयोजना हो ।

बैशाख महीनामा परीक्षण विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको सिंगटी खोला जलविद्युत् आयोजनाका आयोजना प्रमुख मनहरि सापकोटाले भन, ‘आयोजनाले परीक्षणको रुपमा विद्युत त उत्पादन गर्ने तर प्रसारण लाइन नै नभएपछि उत्पादीत विद्युत् कहाँ पठाउने ?’

नेपाल विद्युत् प्राधिकरणले दोलखाको उत्तरी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाहरुलाई लक्षित गरी लामोसाँघु सिंगटी १३२ केभी प्रसारण लाइन ठेक्का लगाएको थियो । ४० किलोमिटर प्रसारण लाइनकालागि करीब रू.४२ करोड तथा सिंगटी सबस्टेशन निर्माणकालागि  रू.१७ करोड ५० लाखमा भारतीय कम्पनी अरावलली इन्फ्रा पावरलाई सन् २०१० अक्टोवरमा ठेक्का दिइएको थियो । 

ठेक्का सम्झौता अनुसार दुई वर्ष भित्र अरावलीले प्रसारण लाईन तथा सबस्टेशन निर्माण गर्नुपर्ने थियो । तर अझै पनि प्रसारण लाईन सम्पन्न हुन सकेको छैन । 

भीमेश्वर नगरपालिका ८ मा जग्गा विवादका कारण  ७ ओटा टावरको जग समेत खन्न नसकिएको अवस्था छ । डबल सर्किटको प्रसारण लाइनमा ३० किमिभन्दा केही बढी सिंगल सर्किट तार तानिएको लामोसाँघु सिंगटी प्रसारण लाइन आयोजनाले बताएको छ ।

विद्युत् उत्पादन शुरु हुने समयसम्म पनि प्रसारण लाइन नबनेमा बैंकको ब्याजले मार पर्ने भएकाले आफूहरु चिन्तित बन्न  बाध्य भएको एक उर्जा प्रबद्र्धकको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।