ईश्वर थापा, चैत ५, धनकुटा । एक दशक अघिसम्म खाडी मुलुक जान तँछाड मछाड गर्ने युवाहरु अहिले विदेशको नामै लिन चाहँदैनन् । विदेश गएर श्रम बेच्दा पनि प्रगति नभएपछि आफ्नो श्रम र लगानी गाउँमै लगाउने ध्येयका साथ उनीहरू अहिले कृषिकर्ममा लागेका छन् ।
वैदेशिक रोजगारीबाट फर्केकाहरू अहिले विशेषगरी तरकारी खेती र गाईपालनबाट सोचेभन्दा बढी आम्दानी गरिरहेका छन् ।
धनकुटाको महालक्ष्मी नगरपालिकास्थित मारेकटहरेका डम्बर दाहाल विसं २०६४ सालमा पैसा कमाउन भन्दै खाडी मुलुकमा गएका थिए । त्यहाँ कमाइ पनि राम्रै थियो । ६ वर्षको विदेश बसाईपछि विसं २०७० सालमा नेपाल फर्किएका दाहाललाई फेरि विदेश जान मनै लागेन ।
गाउँमै केही गर्ने उद्देश्य लिएर विसं २०७२ सालमा गाईफार्म शुरु गरेका उनको फार्ममा अहिले उन्नत जातका गाई बाँधिएका छन् । गाईफार्ममा घाँस काट्नका लागि विद्युतीय मेसिन पनि राखिएको छ ।
उन्नत जातको गाई पाल्न शुरु गरेपछि अहिले दाहालको जिवनस्तरमा नसोचेको परिवर्तन आएको छ । व्यावसायिक रुपमा गाईपालन शुरु गरेका उनको फार्ममा उन्नत जातका करीब दुई दर्जन गाई छन् ।
उनको फार्मबाट दैनिक ११० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध उनले कामधेनु सहकारी संस्था लिमिटेड तरहराले सञ्चालन गरेको स्थानीय संकलन केन्द्रमा विक्री गर्दै आएका छन् । उनले गाईपालनबाट महीनामा रू. १ लाख आम्दानी भइरहेको र उन्नत जातका बाच्छाबाच्छी विक्रीबाट पनि पनि राम्रो आम्दानी भएको बताए ।
उनको फार्ममा बाधिँएका गाई, इलाम र गोरखावाट ल्याएका हुन् । खरीद गरेर घरसम्म ल्याउँदा एउटा उन्नत गाईको लागत रू.२ लाखसम्म परेको उनले बताए । तीमध्ये एउटा गाईले दैनिक ४० लिटरसम्म दूध दिने गरेको छ ।
गाईलाई खुवाउन करीब १५० रोपनीमा उन्नत जातको घाँस रोपिएको छ । त्यो सबै जग्गा उनको पुख्र्यौली सम्पती हो । ‘विदेश भनेको बल र उमेर रहुञ्जेल मात्र हो’ उनले भने, ‘उमेर ढल्किएपछि मालिकले काम दिँदैन अनि आफ्नो देश फर्किनुको विकल्प हुँदैन ।’
स्वदेशमा नै उद्यम गर्न सकियो भने दिगो हुने उनको बुझाइ छ । तराईमा जीविकोपार्जन गर्न केहि जग्गा भएको बताउने दाहालले पहाडमा रहेको पुख्यौंली सम्पतिको सदुपयोग गरौं भनेर पनि गाईपालन व्यवसाय रोजेको बताए ।
उन्नत जातको गाई पाल्न शुरु गरेपछि अहिले दाहालको जीवनस्तरमा परिवर्तन मात्र आएको छैन अरुका लागि प्रेरणाको श्रोत पनि बनेका छन्,उनी ।उनले विगतमा कामधेनु दुग्ध उत्पादक कृषि सहकारी संस्था लिमिटेडबाट ऋण लिएर व्यावसायिक गाई पाल्न शुरु गरेका थिए ।
डेरीसम्म दूध पुर्याउँदा प्रतिलिटर रू.८ सम्म ढुवानी खर्च लागेकाले अब दुग्ध परिकार आफैंले उत्पादन गर्ने योजना बनाएको बताउँदै उनले भने, ‘अब घरैमा चिज, चक्लेट लगायतका परिकार बनाउने तयारी छ ।’
उनलाई श्रीमतीले पनि सघाउँछिन् भने मासिक ८ हजारका दरले पारिश्रमिक दिएर दुई जना काम गर्ने मजदुर पनि राखेका छन् । उनको व्यवसाय देखेर महालक्ष्मीका केही स्थानीयसमेत गाईपालनमा आकर्षित भएका छन् । पशुपालनबाट राम्रो आम्दानी हुन थालेको र स्थानीयस्तरमै दूध संकलन केन्द्र खुलेकाले पनि यसतर्फ कृषकको चासो बढेको उनको भनाइ छ ।
आधुनिक गाईफर्म सञ्चालन गर्ने हो भने स्वदेशमै राम्रो आम्दानी हुने उनको विश्वास छ । हरियो घाँस र अम्रीसो तथा डाले घाँस प्रशस्त मात्रामा पाइने यस क्षेत्रमा गाइको गोबरबाट अर्गानिक सब्जी खेती गर्न तथा खाना पकाउन ग्यास निकाल्न सकिने भएकोले पनि यो व्यवशायमा युवाको आकर्षण बढेको हो ।
वैदेशिक रोजगारीको नामै सुन्न नचाहने उनीहरू राज्यस्तरबाट भने आफूहरुले प्रोत्साहन नपाएको गुनासो गर्छन् । आफूले उत्पादन गरेका वस्तुहरु सहज रूपमा बजारमा लैजान नपाएको पनि उनीहरूको गुनासो छ ।
विसं २०७२ सालबाट गाईपालन शुरु गरेका दाहालले धेरैपटक विभिन्न सरकारी कार्यालयमा प्रस्तावमा पेश गर्दा पनि कुनै पनि निकायबाट अनुदान नपाएको गुनासो गरेका छन् तर पनि उनलाई पछुतो छैन ।
मुलुकमा रोजगारी नभएको भन्दै युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढिरहेको बेला स्वदेशमै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दाहाल बनेका छन् । उनले गरेको काम र मिहिनेतको अरु युवाले पनि अनुशरण गर्नु आवश्यक छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।