कोरोनाले उदांगो पारिदिएको आर्थिक विश्व 

Share News

कोरोनाको सतर्कताका कारण रोकिएको आर्थिक गतिविधिको मूल्य ज्यादै चर्को हुँदै छ । अर्बौं जीडीपी देखिएका देशभित्र कति कमजोर आर्थिक अवस्था भएका मानिस छन् भन्ने छर्लङ्ङ भएको छ । दैनिक काम गरेर दुई छाक खान बाध्य करोडौं व्यक्तिको जीवनस्तर वास्तविक कोरोनाले भन्दा गम्भीर अवस्थामा पुर्‍याउने खतरा बढ्दै छ । विशेष गरेर लकडाउनमा भारतका राजमार्गमा देखिएको हजारौं पैदल यात्रीको दुर्दशा र भारतबाट नेपाल आउँदै गरेका नेपालीको सिमानामा देखिएको विपन्नता र यूरोप अमेरिकाको अवस्था हेर्दा बाहिरबाट हेर्दा देखिने चित्रभित्र त्यस्तै नहुन सक्छ ।

खेती पनि रोकिने, विप्रेषण पनि रोकिने, आयात अति महँगो पर्दै जाँदा नेपालीले पनि आत्मनिर्भरताको बाटो खोज्ने अवसर मिल्न सकोस् भन्ने आशा पनि निर्जीव भइसकेको छैन ।

नेपालमा १ महीना शैक्षिक संस्थाहरू बन्द भएपछि दिनहुँ लाखौं मानिस उपत्यका छोडेर गाउँगाउँ गएर बसेका छन् । राजधानीमा बसेहरू पनि काम नगरी बस्नुपरेको छ । यो समस्या नेपाल, भारत, पाकिस्तानमा मात्र नभएर विश्वभरको समस्या हो । यसले दक्षिण एशियालगायत विश्वका धेरै देशमा लुकेको गरीबी, अभाव र अव्यवस्था उजागर भएको छ ।

कोरोना आउनुभन्दा अगाडिसम्म सफा सडक, अग्ला भवन, महँगा गाडीले भरिएका शहरहरू कति सम्पन्न होलान् जस्तो लाग्थ्यो । अहिले सुन्दर शहरभित्र कति गरीबी लुकेको छ भन्ने उजागर भएको छ । संसार हामीले सोचेजस्तो सम्पन्न रहेनछ । नेपाल त गरीब थियो नै भारतको पनि दुर्दशा देखियो र अमेरिका पनि कोरोनाको अगाडि लडखडायो । यो लुकेको गरीबी बडो दुःखदायी हुन्छ । अहिलेसम्म मानव जाति धनी भएको, विकसित भएको खबरले हामी सबै मानव हर्षविभोरमा उन्मादित भएर बाँचिरह्यौं । तर, जब एउटा सानो भाइरसले आक्रमण ग¥यो तब मानव जातिको निरीहता जताततै छताछुल्ल हुँदै गएको छ ।

औषधि विज्ञानले गरेको अनेक उपलब्धिलाई चुनौती दिँदै एउटा लुते केरोनाले पछारिरहेको छ, मानवलाई । १ दिन मानिसले कोरोनलाई जित्नेछ, यो निश्चित छ । तर, त्यतिन्जेल कोरोनाले भन्दा आर्थिक अभाव, भोक, औषधि अभाव र त्रासले धेरै मानिस मरिरहेका हुनेछन् । हवाई सञ्जालभित्र काम गर्ने लाखौं कर्मचारी, पर्यटन उद्योगका लाखौं कर्मचारी, होटल, रेस्टुराँका लाखौं मानिसको रोजगारी समाप्त हुने पूर्वानुमान भएको छ । साढे ६ लाख मानिस संक्रमित भएर अस्पतालमा सुतिरहँदा साढे ७ अर्ब मानिस लकडाउन भएर घरभित्र बस्नुपरेको वर्तमान अवस्थाले भोलिका दिनमा कति मानिसलाई आर्थिक रूपमा बिल्लीबाँठ पार्ने हो आज नै अनुमान गर्नु ज्यादै छिटो हुनेछ ।

सीधै श्वासप्रश्वासमा असर पार्ने हुनाले कोरोना भाइरसको त्रास बढी भएको हो । साबुन पानीले हात धुनु, मास्क लगाउनु र कसैमा अलिअलि लक्षण देखिनासाथ उसलाई आइसोलशनमा राख्नु उत्तम विकल्प हो भन्ने कुरा चीनले प्रमाणित गरेर देखाएको छ ।

यसबाट बँच्न दिनमा धेरैपटक साबुन पानीले हात धोएर सकेसम्म हातलाई मुखमा लैजानु हुँदैन । सम्भव भएसम्म मुखमा मास्क लगाउनुपर्छ र हाच्यँु गर्दा रूमाल प्रयोग गर्नाले रोग अरूमा सर्न पाउँदैन ।

यो रोगको संक्रमण भएको ५ दिनदेखि १४ र कहिलेकाहीँ २४ दिनपछि बल्ल लक्षण देखिन्छ तसर्थ निरन्तर सावधानी आवश्यक छ । लक्षणमा १०४ डिग्रीसम्म ज्वरो आउने, खोकिलाग्ने र श्वासप्र्रश्वासमा अति नै कठिनाइ हुने समस्या देखिन्छ । अहिले यो लेख तयार पार्दासम्म विश्वमा ३१ हजार मानिसको ज्यान गएको छ । 

साढे ६ लाख मानिस संक्रमित भएर अस्पतालमा सुतिरहँदा साढे ७ अर्ब मानिस लकडाउन भएर घरभित्र बस्नुपरेको वर्तमान अवस्थाले भोलिका दिनमा कति मानिसलाई आर्थिक रूपमा बिल्लीबाँठ पार्ने हो आज नै अनुमान गर्नु ज्यादै छिटो हुनेछ ।

अहिले विश्वका १९५ देशमा यो रोग देखिएको छ । यो रोगले होटल र जहाज कम्पनीको आर्थिक कारोबारको हालत अति नै भयावह तरीकाले धराशयी भइरहेको छ । कर्मचारी र कामदारहरूलाई नोकरीबाट हटाइँदै छ । धेरै एयरलाइन्सले तलब घटाएर दिने घोषणा गरिरहेका छन् । यसैगरी नेपाललगायत विश्वभरकै होटलको हालत एकदमै कमजोर बन्दै छ । नेपालकै टुरिस्ट हब ठमेल र पोखरा सुनसान छन् । होटल, मसाज केन्द्र, रिक्शावालहरू सबैको आर्थिक अवस्था गम्भीर छ । उनीहरूले भाडा कसरी तिर्ने ? बच्चाको स्कूलको फिस कसरी तिर्ने । एकातिर कोरोनाको समस्या छ, अर्कोतिर समानान्तर रूपमा आर्थिक अवस्था डगमगाएको छ । कोरोनासँगै यसका बारेमा पनि सोच्न आवश्यक छ । घरभेटीले पनि यो बेलामा ‘मेरो गोरुको बाह्रै टक्का’ नभने राम्रो हुन्छ ।

यदि जिम्मेवार सरकार र लोककल्याणकारी राज्य हो भने कोराना लगेकालाई आइसोलेशनमा राखेर त्यसको उपचारको प्रत्याभूति दिनुपर्ने हो । नेपालले पनि जनतालाई सक्दो सहयोग गरेको छ, भारतले पनि १ लाख ७० हजार करोडको राहत र अहिलेसम्म सबैभन्दा ठूलो २ दशमलव ४ खर्ब डलरको राहत अमेरिकाले घोषणा गरेको छ । तर, १ लाख २३ हजार मानिसलाई अमेरिकामा कोरोनाले छोएपछि २८ मार्चको दिनसम्म ३० लाख मानिसले बेरोजगारी भत्ता पाउन निवेदन दिएका थिए । यो क्रम अझै कतिसम्म लम्बिने हो, कसैलाई थाहा छैन ।

विश्वको सबभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा समेत आर्थिक हाहाकार मच्चिने निश्चित छ । हुन त कोरोनामात्र मानव जातिको शत्रु होइन, विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष वायुप्रदूषणले ४६ लाख मानिसको ज्यान जान्छ, हिसाब गर्दै जाँदा १ मिनटमा सरदर ९ जना मर्छन्, प्रदूषणले । सडक दुघर्टनाका कारण प्रत्येक वर्ष १३ लाख ५० हजार मानिस मर्छन् औसतमा हेर्दा दिनमा ३ हजार ७०० मानिस मर्छन् । कोरोनाबाट अहिलेसम्म ३ महीनामा ३१ हजार मानिस मरेका छन् । तर, विडम्बनासाथ स्वीकार्नुपर्ने यथार्थ के हो भने कोरोनाले विश्वको आर्थिक मेरूदण्ड भाँचेरै छोड्नेछ ।

नेपालले अब सिमाना बन्द गरेर रोग संवाहक विदेशी आउन रोक्नुपर्छ । ठाउँठाउँमा स्वास्थ्य जाँचचौकी स्थापना गर्नुपर्छ । लकडाउन केही खुकुलो गर्दै खेती गर्ने वातवरण सृजना गर्नुपर्ने अवस्था छ । खेती पनि रोकिने, विप्रेषण पनि रोकिने, आयात अति महँगो पर्दै जाँदा नेपालीले पनि आत्मनिर्भरताको बाटो खोज्ने अवसर मिल्न सकोस् भन्ने आशा पनि निर्जीव भइसकेको छैन । 

लेखक कैलाशकूट बहुमखी क्याम्पसको व्यवस्थापन विषयका  शिक्षक हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।