कोरोनाको बहुआयामिक प्रभाव

Share News

कोरोना भाइरसको महामारीबाट समग्र विश्व आक्रान्त बनेको छ । यसबाट आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा ठूलै परिवर्तन आउन सक्ने अनुमान गरिएको छ । महाशक्ति राष्ट्रहरूबीच आरोप–प्रत्यारोप मौलाएको देखिन्छ । यसबाट विश्व राजनीति नौलो आयामतर्फ रूपान्तरण हुने देखिन्छ । नयाँ ध्रुवीकरण हुने सम्भावना देखिन्छ । शक्तिसम्पन्न राष्ट्रलाई कोरोनाले बढी प्रभाव पारेको छ । भोलिका दिनमा विश्व राजनीतिलाई ठूलै रूपमा रूपान्तरण गर्ने सम्भावना देखिन्छ । राजनीतिक विश्लेषकहरूले त विश्वयुद्धले पारेको भन्दा बढी परिवर्तन आउने तर्क गरेको पाइन्छ ।

नेपालको सन्दर्भमा वैदेशिक रोजगारीमा हुने ह्रासले विप्रेषणको आगमन न्यून हुनगई आर्थिक संकुचन हुने आकलन गरिएको छ ।

विकसित राष्ट्रहरूलाई बढी प्रभावित पारेको हुँदा त्यहाँका नागरिकको सोचमा निश्चय नै परिवर्तन ल्याउनेछ । राजनीतिक रूपमा खासै चासो नराख्ने ठूलै शक्तिसम्पन्न राष्ट्रका आम नागरिकलाई समेत यस महामारीले गर्दा राजनीतिक परिवर्तन हुने र नयाँ ध्रूवीकरणमा उनीहरूको महत्त्वपूर्ण भूमिका रहने देखिन्छ । कुनै पनि राष्ट्रका आम जनताको चाहनामा निश्चित समयपछि परिवर्तनको तृष्णा जागिरहेको हुन्छ । त्यसैले अबका दिनमा राजनीतिक रसायनले छुट्टै मिश्रण तयार गर्ने र विश्व राजनीति नयाँ अभ्यासमा जान सक्ने अनुमान गर्न सकिन्छ । यसो हुन गएमा अल्पविकसित राष्ट्रहरू आर्थिक मन्दीतर्फ धकेलिने छन् । 

धर्म, संस्कृति, जात, सम्प्रदाय र समाजको रहनसहन, भौगोलिक अवस्था, उत्पादन वितरण तथा राष्ट्रको आर्थिक गतिविधिमा पनि परिवर्तन आउने सम्भावना देखिन्छ । समाज रूपान्तरणमा विकसित राष्ट्रहरू नै अग्रणी रहेको पाइन्छ । यस मानेमा कोरोना भाइरसले बढी आक्रान्त अतिविकसित राष्ट्रहरूमा नै सामाजिक रूपान्तरण हुने सम्भावना छ । यसर्थ सामाजिक रूपान्तरणमा यस महामारीले ठूलै प्रभाव पार्न सक्ने देखिन्छ । 

अधिकांश राष्ट्रहरूको सामाजिक तथा आर्थिक अवस्थामा पश्चिमी मुलुकको प्रभाव छ । ती राष्ट्रमा सामाजिक दूरी बढाउने, अविश्वासको वातावरण सृजना गर्ने, धर्मप्रतिको आस्था र विश्वासमा असहिष्णुता ल्याउने तथा यसबाट समाज पृथकीकरणको बाटोतर्फ धकेलिने हो कि भन्ने आशंका उब्जाएको छ । यसबाट अहिलेको राष्ट्रराष्ट्रबीचको तालमेलमा समेत परिवर्तन हुन सक्ने अनुमान गर्न सकिन्छ । मानव समाजको सभ्यतालाई सन्तुलन राख्ने मुख्य औजार नै एकआपसमा सहिष्णुताबाट सृजित समझदारी हो । द्वन्द्ववादलाई हेर्ने हो भने कोरोना भाइरस एक महायुद्ध हो, यसमा विश्व एक भएर जान सक्ने अवस्थासमेत छ । कोरोना भाइरसले नमस्कारको पूर्वीय संस्कृतिलाई मलजल गरेको छ । अंकमाल, चुम्बन तथा एकआपसमा हात मिलाउने संस्कृति पश्चिमा शैलीलाई यसले बिछोड गराएको छ । विश्वसामु सामाजिक परिवर्तनमा यो पूर्वीय अभ्यासलाई स्थापित गर्न मदत गरेको छ ।

अधिकांश राष्ट्रमा कोरोना भाइरसले आर्थिक मन्दी निम्त्याउनेछ र देशहरू आर्थिक रूपमा निकै ओरालो लाग्नेछन् । आर्थिक असन्तुलनका कारण विकासोन्मुख मुलुकहरूमा नागरिकको सामाजिक तथा आर्थिक अवस्थालाई प्रभाव पार्ने छ । उनीहरूको रहनसहन, रीतिरिवाज, संस्कृति जस्ता कुराहरूमा समेत प्रभाव पार्ने छ । सैद्धान्तिक रूपमा जहाँ जे रहे पनि हालको यस विपत्तिले विश्व समाजमा सामाजिक दूरी ल्याउन सक्ने, सामूहिक आदानप्रदान न्यून गर्ने, समुदायमा आधारित राष्ट्रिय÷अन्तरराष्ट्रिय आदानप्रदानमा ह्रास आउन सक्नेजस्ता कुराले अल्पकालीन वा दीर्घकालीन रूपमा प्रभाव विस्तार गर्ने देखिन्छ । यस मानेमा सामाजिक रूपमा विश्व समुदाय छुट्टै अस्तित्वका रूपमा खडा हुने सम्भावना देखिन्छ । 

कोरोना भाइरसले आर्थिक रूपमा भने गम्भीर असर पार्ने देखिसकिएको छ । विश्व बैंक, एशियाली विकास बैंक र अन्तरराष्ट्रिय मुद्राकोषले विश्व आर्थिक मन्दीमा जाने बताइसकेका छन् । आर्थिक वृद्धि दर प्रभावित हुने तथ्य सार्वजनिक गरिसकेका छन् । विश्वका अधिकांश राष्ट्रमा आउन सक्ने आर्थिक मन्दीले विश्व अर्थतन्त्र ओरालो लाग्नेछ । तुलनात्मक रूपमा विकसित राष्ट्रहरूभन्दा नेपालजस्ता सानो अर्थतन्त्र भएका मुलुकलाई आर्थिक कठिनाइ पर्ने देखिन्छ । यद्यपि सानो देशमा सानो आर्थिक गतिविधि हुने भएकाले आर्थिक असन्तुलनलाई छिट्टै सम्बोधन गर्न सक्ने देखिन्छ । दीर्घकालीन रूपमा आर्थिक मन्दी आएमा यसको प्रत्यक्ष असर विश्वका प्रायः राष्ट्रहरूलाई पर्ने नै छ । त्यसो भएमा वैदेशिक सहायतामा ह्रास आउन सक्ने, सहायताको उद्देश्यमा समेत फरक पर्न सक्नेछ । यस अर्थमा वैदेशिक सहायताको अंक ठूलो बनाउने राष्ट्रहरूका लागि मन्दीले नराम्रो प्रभाव पार्ने हँुदा दिगो आर्थिक वृद्धिका लागि राष्ट्रले आन्तरिक रणनीतिहरू दरिलो र छिटो तयार गरी लागू गर्नुपर्ने हुन्छ । नेपालको सन्दर्भमा वैदेशिक रोजगारीमा हुने ह्रासले विपे्रषणको आगमन न्यून हुनगई आर्थिक संकुचन हुने आकलन गरिएको छ । यसलाई सम्बोधन गर्न आर्थिक क्रियाकलापको अधिकतम परिचालन गर्ने गरी स्थानीय स्तरमा रोजगारी सृजना गर्ने, आयमूलक कार्यका लागि महिला सहभागितालाई प्राथमिकता दिने, कृषिक्षेत्रको आधुनिकीकरणसँगै व्यावसायिक बनाउनेलगायत विषयमा ध्यान जानुपर्छ । त्यस्तै शीपमूलक तालीमको व्यवस्था र न्यून आय भएका परिवारलाई सहुलियत पूर्ण कर्जा दीर्घकालीन रूपमा भुक्तानी हुने गरी प्रवाह गर्ने, बैंकिङ क्षेत्रलाई स्थानीय तहसम्म पु¥याउन आर्थिक सञ्जाल निर्माण गर्ने काम पनि प्राथमिकतामा पर्नुपर्छ । युवाहरूलाई ससानो उद्योगधन्दा गर्न तथा कृषिमा समाहित गराउन योजना बन्नु आवश्यक छ । यसरी बनाईका योजना प्रभावकारी रूपमा सञ्चालन गर्न राष्ट्रका सबै अङ्गलाई सक्रिय परिचालन गर्नुपर्छ । वित्तीय संस्थाहरूको दिगो स्थायित्वका लागि पुनःसंरचना गर्दै आर्थिक पारदर्शिताको प्रत्याभूति गरिनुपर्छ । यी विषयलाई प्रभावकमारी रूपमा कार्यान्वयनमा ल्याउन सके कोरोना भाइरसले आर्थिक रूपमा पार्ने प्रभावलाई सहजै परास्त गर्न सकिन्छ । चुनौतीसँगै राष्ट्रलाई बलियो पार्ने अवसर पनि आएको छ । तर, महामारी कहाँ पुगेर टुङ्गिने हो । त्यसको लेखाजोखा गर्न सकिने अवस्था भने छैन । यसै कारण आर्थिक, सामाजिक वा राजनीतिक रूपमा पर्न सक्ने प्रभावको समयमा नै विचार पुर्‍याई उचित नीति निर्माण र कार्यान्वयन गर्न जरुरी छ । 

लेखक सिभिल लघुवित्त वित्तीय संस्थाका पूर्वकार्यकारी प्रमुख हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।