दूरशिक्षा : लकडाउनमा घर नै बन्यो विद्यालय    

Share News

वैशाख १०, बनियानी( झापा) । कोरोना संक्रमण फैलिन नदिन सरकारले देशभर बन्दाबन्दी (लकडाउन) गरेपछि झापाका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका छन् ।

बन्दाबन्दीका कारण विद्यार्थीको पठनपाठनमा असर परिरहेकाले यहाँका विद्यालयदेखि कजेलसम्मले प्रविधिमा आधारित दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका हुन् । जसका कारण हरेक विद्यार्थीको घरमै विद्यालय भएको छ ।     
     
कनकाइ आदर्श क्याम्पस बिर्तामोडका क्याम्पस प्रमुख सुरेशकुमार चापागाईंले एमबीएस प्रथम सेमेस्टरका विद्यार्थीका लागि दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गर्न लागिएको बताए । ‘बिहीवारदेखि पहिलो चरणमा एमबीएसका विद्यार्थीबाट कक्षा शुरु गर्दैछौं’, उनले भने, ‘त्यसपछि अवस्थाअनुसार अन्य कक्षा पनि सञ्चालन गर्दै लैजान्छौं ।’ 

बिहान र बेलुकाको समयमा चार प्राध्यापकले चार सिफ्टमा कक्षा लिने उनको भनाइ छ । एमबीएसमा २०० विद्यार्थी भए पनि १५० कक्षाका लागि सम्पर्कमा आएको क्याम्पस प्रमुख चापागाईंले जानकारी दिए ।     
     
‘इन्टरनेटको माध्यमबाट पठनपाठन हुने भएकाले दुर्गम स्थानमा रहेका विद्यार्थीलाई समस्या हुने देखिन्छ’, उनले भने, ‘यसबाट विद्यार्थीलाई फाइदा पुग्ने देखिन्छ ।’
त्यस्तै भद्रपुर–१० स्थित विभूति विद्यामन्दिरले इन्टरनेट कक्षामार्फत भीडीयो कन्फेरेन्स शिक्षण शुरू गरेको छ । लकडाउनका कारण घरमै बस्न बाध्य विद्यार्थीको सिकाइ उपलब्धि कायम राख्न विद्यालयले ई–क्लास सञ्चालन गरिएको शिक्षक निकाश पाण्डेले बताए ।    

‘जूम एप र भर्व एपको सहयोगमा कक्षा–११ र १२ का विद्यार्थी अध्ययन गराउँदैछौं’, उनले भने, ‘यसबाट घरमै बसेर विद्यार्थीले पढ्न पाउने वातावरण बनेको छ ।’

 दूरशिक्षाबाट विद्यार्थी क्षमता बढाउने काम भइरहेको भद्रपुर नगरपालिकाका पूर्वशिक्षा शाखा प्रमुख उद्धव विष्ट बताउँछन् । ‘लकडाउनका कारण सबै विद्यार्थी घरभित्रै बस्नुपर्ने भएकाले यो विधि फलदायी हुनसक्छ’, उनले भने, ‘लकडाउनका बेलामा यो उत्तम विकल्प हो ।’  
     
जिल्लाका बिर्तामोड, भद्रपुर, शिवसताक्षी, दमकलगायत स्थानमा रहेका निजी तथा सामुदायिक विद्यालयले दूरशिक्षा माध्यमबाट एसईईको तयारी कक्षादेखि अन्य कक्षागत पठनपाठन गरिरहेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख जयप्रसाद महत लकडाउनका बेला दूरशिक्षा प्रभावकारी विकल्प भएको बताउँछन् ।

‘विद्यालय सञ्चालनको अवस्था नरहेकाले विद्यार्थीको क्षमता अभिवृद्धिमा दूरशिक्षा अहिले राम्रो विकल्प हो’, उनले भने । उनले इन्टरनेटको पहुँच सबै ठाउँमा नभएकाले ई–क्लासभन्दा पनि एफएम र टेलिभिजनबाट दिइने कक्षा प्रभावकारी हुने बताए ।
‘सबैको पहुँचमा इन्टरनेट छैन’, उनले भने । 

नेपाल टेलिभिजनले बिहान ७–११, दिउँसो १ र बेलुका ४ बजे कक्षा १० का अनिवार्य विषयको कक्षा सञ्चालन गरिरहेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमि भक्तपुरले वेबसाइट केन्द्रको वेबसाइट www.doe.gov.np मा प्रि–प्राइमरी र कक्षा–१ शिक्षण सामग्री राखेको प्रमुख महतले बताए । ‘अभिभावकले उक्त सामग्री डाउनलोड गरेर घरमै बालबालिकालाई पढाउन सक्छन्’, उनले भने । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।