तरकारीको मूल्यवृद्धि : कालीमाटीमा सस्तियो, खुद्रामा अझै महँगै

Share News

काठमाडौं । कालीमाटी तरकारी बजारमा यतिबेला धेरैजसो तरकारीको मूल्य घटे पनि उपभोक्ताले भने खुद्रा बजारबाट चर्को मूल्यमा तरकारी किन्नुपरेको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार लकडाउनपछिको १ महीनामा अधिकांश तरकारीको मूल्यमा ७५ देखि ८० प्रतिशतसम्म कमी आएको देखिन्छ ।

अहिले तरकारीको आन्तरिक उत्पादन बढेको छ । यतिबेला धेरै मानिस उपत्यका छाडेर बाहिर गएका छन् र ठूला होटल रेष्टुराँहरू पनि बन्द रहेकाले उपभोगमा समेत कमी आएको छ, जसले गर्दा थोक बजारमा तरकारीको मूल्य घटेको कालीमाटी तरकारी बजारका सूचना अधिकृत विनय श्रेष्ठले बताए । लकडाउनपछिको १ महीनाको अवधिमा घिरौंला, तनेबोडी, तराईको गोलभेँडा र स्थानीय काउलीको मूल्यमा क्रमशः ६६, ८०, ६४, २६ प्रतिशत कमी आएको छ ।

कालीमाटी र बल्खु तरकारी बजारलगायत ठूला थोक बजारमा तरकारीको मूल्य घटे पनि खुद्रा बजारमा भने खासै प्रभाव नपारेको उपभोक्ताले गुनासो गरेका छन् । कालीमाटी तरकारी बजारमा काउलीको अधिकतम थोक मूल्य प्रतिकिलो रू. २५  छ । तर, कीर्तिपुरको खुद्रा पसलमा ४५ देखि ५० रुपैयाँमा किन्नुपरेको स्थानीय सानुमैया महर्जनले बताइन् । लकडाउनको फाइदा उठाउँदै खुद्रा व्यापारीहरूले आफूखुशी मूल्य बढाएर तरकारी बेच्ने गरेको उनको गुनासो छ । कालीमाटीमा प्रतिकिलो २८ रुपैयाँ मूल्य रहेको भारतीय प्याजको मूल्य खुद्रा पसलहरूमा ४५ रुपैयाँसम्म लिने गरेको पाइएको छ । त्यसैगरी ३० रुपैयाँ प्रतिकिलो रहेको गाँजर ५० देखि ५५ रुपैयाँसम्ममा व्यापारीहरूले बेच्ने गरेका छन् ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।