ढुवानी अवरोधले किसानलाई मलबीउ पाउन समस्या

Share News

काठमाडौं । सरकार र बीउ उत्पादक कम्पनीहरूसँग पर्याप्त मात्रामा मलबीउ भए पनि ढुवानी अवरोधका कारण चैतेधान र मकैबाली लगाएका किसानलाई मल पाउन समस्या भइरहेको छ भने वर्षे धानको बीउसमेत पाउन समस्या भएको छ । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठका अनुसार यति बेला तराईमा चैतेधान र पहाडमा मकैका लागि मल आवश्यक भए पनि ढुवानी असहजताका कारण किसानहरूले सहजै मल पाउन सकेका छैनन् । यसका साथै वर्षे उत्पादनका लागि आवश्यक पर्ने बीउमलसमेत किसानहरूले नपाइरहेको अवस्था छ । लकडाउनका कारण मानिस शहरबाट ग्रामीण क्षेत्रमा गएका छन् र बाँझो जमीनमा खेती गर्न लागेका छन् । त्यसैले यस वर्ष अझ बढी मलबीउ आवश्यक पर्न सक्ने भएकाले समयमै आपूर्तिको व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

अहिले सबैभन्दा धेरै समस्या किसानहरूले नै सहनु परेको नेपाल किसान संघका सभापति भानु सिग्देलले बताए । यद्यपि किसानले मलबीउ नपाउने र आफ्नो उत्पादनको उचित मूल्य नपाउने दीर्घकालीन समस्या नै भएको उनको बुझाइ छ । उनका अनुसार किसान संघ र राष्ट्रिय किसान आयोगको सहकार्यमा ढुवानी सहज बनाउने काम भइरहेको छ । तर, लकडाउनका बेला मलबीउको आपूर्तिमा सरकारले चासो दिन नसकेको उनको आरोप छ ।

तराईदेखि पहाडसम्मका सबै किसानलाई यति बेला मलको समस्या रहेको जानकारी आपूmहरूले मन्त्रालयमा गराएको नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले बताए ।

‘ढुवानी समस्याले गर्दा माग भएको जिल्लामा बीउ पु¥याउन कठिनाइ भएको छ । लकडाउन लम्बिँदै गएमा समस्या थप जटिल बन्न सक्नेछ,’ उनले भने । उनका अनुसार सहकारीले उत्पादन गरेको विकासे धानको करीब ११ सय टन बीउ कतिपय जिल्लामा पठाइसकिएको छ भने अन्य जिल्लातिर पठाउने काम भइरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडसँग यस अघिका वर्षहरूमा भन्दा यो वर्ष बढी मल स्टक भएकाले कृषकहरूले मलको समस्या भोग्नु पर्दैन भनेर कृषि मन्त्रालयले बताए पनि मल पाउन समस्या भइरहेको गुनासो बढेको छ । हाल कृषि सामग्री कम्पनी लिमिटेडसँग युरिया मल, २४ हजार मेट्रिक टन, डीएपी ३२ हजार मेट्रिक टन, र पोटास ४ हजार मेट्रिक टन स्टक छ । कम्पनीसँग रहेको धानको बीउ विक्रेताहरूले किन्न बुकिङ गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक नेत्र भण्डारीले जानकारी दिए । कारोना प्रकोपको जोखिम रहेका र स्थानीय प्रशासन र पालिकाहरूसँग समन्वय हुन नसकेका जिल्लाहरूमा ढुवानीको समस्या रहे पनि अन्य जिल्लाहरूमा समस्या नरहेको उनले बताए । साल्ट ट्रेडिङ कर्पोरेशनसँग पनि यति बेला युरिया करीब साढे १७ हजार टन, डीएपी २५ सय टन, र पोटास २ हजार ५० टन स्टक रहेको छ । ढुवानीमा समस्या भएका कारण साल्ट ट्रेडिङले भारतबाट आयात गर्न लागेको २५ हजार टन डीएपी करीब महीना दिनदेखि कोलकातामा रोकिइरहेको साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक कुमारराज भण्डारीले बताए । किसानहरूलाई करीब ७ लाख टन मल आवश्यक भए पनि सरकारले ४ लाख टनका लागि मात्र बजेट छुट्ट्याउने भएकाले सामान्य अवस्थामा समेत किसानले मल पाउन नसकेको उनले जानकारी दिए । ‘तर, यस वर्ष हामीसँग स्टक अन्य वर्षको तुलनमा धेरै छ । सामान भएर पनि ढुवानीमा भएको असहजताले गर्दा किसानसम्म पु¥याउन समस्या भएको हो,’ उनले भने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।