रौतहटको सीमाक्षेत्रमा भारतले बनायो बाँध, स्थानिय चिन्तित  

Share News

वैशाख २७, रौतहट । कोरोना भाइरसका कारण मुलक लकडाउनमा भएको समयमा भारतले रौतहटमा बाँध (ड्याम) बनाएको छ । 

ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्जरहाको सीमाक्षेत्रमा भारतले बाँध निर्माण गरेको हो । एक दशक अघि बनाएको बाँधलाई भारतले अहिले अग्लो बनाउँदैछ । 

जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६–५ हुुँदै बन्जरहासम्म भारतीय पक्षले पाँच फिटभन्दा बढी माटो थपेर बाँधको उचाइ बढाइरहेको छ । ईशनाथ नगरपालिकाको वडा नं. १, २ र ३ नै डुबानमा पर्ने गरी भारतले बाँध बनाएको कारण स्थानिय चिन्तित छन् ।

भारतले अवैध रुपमा बाँध बनाएको विषयमा स्थानीय प्रशासनलाई जानकारी गराए पनि सरकारी स्तरबाट कुनै पहल नभएको ईशनाथ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बिगु साहले बताए । दशगजा क्षेत्रमा पक्की वा अस्थायी कुनै किसिमका संरचना बनाउन पाईंदैन् । 

तर भारतले सीमा क्षेत्रमा आग्लो बाँध बनाएकै कारण वर्षायाममा पटक पटक गाउँ डुबानमा पर्ने गरेको वडा अध्यक्ष साहले बताए । भारतीय पक्षलाई पटक पटक काम रोक्न भनेपनि अटेरी गरेर माटो थुपारेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । भारतीय पक्षले बाँध बनाएको विषयमा गृह मन्त्रालयलाई जानकारी पठाएको उनले बताए । 

जंगे पिल्लर आसपासको क्षेत्रमा कुनै किसिमको काम नगर्ने लिखित सहमति विपरीत भारतीय पक्षले बाँध बनाएको उनको भनाइ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।