काठमाडौं । लकडाउन खुकुलो भएसँगै ह्याचरीहरूले उत्पादन गरिरहेका कुखुराका चल्ला विक्री हुन थालेका छन् । लकडाउनका कारण पोल्ट्री व्यवसाय कृषिक्षेत्रकै सबैभन्दा बढी मारमा परेको थियो भने ह्याचरी उद्योगहरूले दैनिक ६ लाख चल्ला नष्ट गर्दै आएका थिए ।
देशभरका ३२४ ओटा ह्याचरीमार्फत ब्रोइलर, लेयर्स र कलरब्रोइलर आदि गरेर हरेक हप्ता करीब ४२ लाख नयाँ चल्ला उत्पादन हुने गर्दछन् । ह्याचरीहरूले लकडाउनका कारण सबैजसो चल्ला नष्ट गरिरहेका थिए । तर अहिले लकडाउन केही हदसम्म खुकुलो भएसँगै ५० प्रतिशतभन्दा बढी चल्ला विक्री भइरहेको नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोख्रेलले जानकारी दिए । अब आइतवारदेखि यो परिमाण बढेर शतप्रतिशत पुग्न सक्ने अनुमान रहेको उनले बताए ।
लकडाउन शुरू भएदेखि धेरैजसो व्यवसायीले आफ्ना खाली भएका खोरहरूमा कुखुरा हाल्न नसक्दा र भएका कुखुरा पनि सकिँदै गएकाले अहिले त्यसको असर मासुको मूल्यमा परिरहेको मासु व्यवसायीहरू बताउँछन्, जसले गर्दा कुखुराको मासुको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ ।
मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार वैशाख १६ गते प्रतिकिलो २५० रुपैयाँमा विक्री भइरहेको मासुको मूल्य २४ गते २७० हुँदै २७ गतेसम्म आइपुग्दा ३०० रुपैयाँ कायम भएको छ । अहिले कुखुराको उत्पादन नै घटेकाले मासुको मूल्य अझै बढ्न सक्ने व्यवसायीको अनुमान छ ।
सामान्य अवस्थामा देशभर दैनिक रूपमा ५ लाख किलो मासु खपत हुन्छ, जहाँ काठमाडौं उपत्यकामा मात्र साढे २ लाखदेखि ३ लाख किलो मासुको खपत हुने गर्दछ । तर अहिले उपत्यकामा मासुको विक्री ३० प्रतिशत मात्रै छ ।
लकडाउन शुरू भएदेखि स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्रका मासु पसल बिहानको समयमा मात्रै खोल्ने अनुमति दिएको भए पनि शनिवारदेखि बिहान र बेलुका दुवै समय खोल्न दिएकाले मासुको विक्री विस्तारै बढ्न सक्ने अनुमान व्यापारीहरूले गरेका छन् । विगत एक हप्तादेखि अण्डाको खपत बढेसँगै मूल्य समेत बढेकाले अण्डा व्यवसायीलाई केही राहत मिलेको अण्डा उत्पादक संघले बताएको छ । लकडाउन शुरू भएको दोस्रो सातामा १५० रुपैयाँ प्रतिक्यारेट रहेको अण्डाको मूल्य अहिले बढेर २८० रुपैयाँ पुगेको छ । त्यसबेला अण्डाको गेट मूल्य घटे पनि बिचौलिया र व्यापारीले ग्राहकसँग भने मूल्य नघटाई बेचेको संघले बताएको छ ।
लकडाउन खुकुलो हुँदा कुखुरा र अन्य आवश्यक कच्चापदार्थ ढुवानीमा पहिला जस्तो समस्या नभए पनि धेरैजसो मासु पसल अझै खुल्न नसकेकाले व्यवसायले पूर्णरूपमा गति लिन धेरै समय लाग्न सक्ने पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रको बुझाइ छ । उनका अनुसार पहिले दैनिक रूपमा हुने गरेको करोडौं क्षतिको केही हदसम्म न्यूनीकरण भइरहेको छ । यद्यपि कोरोना संक्रमितहरूको संख्या थपिँदै गएकाले व्यवसायमा जोखिम भने कायम नै रहेको उनले बताए ।
दानाको मूल्य पुनः समायोजन हुने
कुखुराको दानाका लागि आवश्यक पर्ने मकै, भटमास लगायत कच्चापदार्थको मूल्य घट्दा समेत दानाको मूल्य नघट्दा आफूहरू मारमा परेको गुनासो कतिपय पोल्ट्री व्यवसायीले गरेका छन् । तर दाना उद्योग संघले भने पटक पटक गरेर प्रतिकिलो दानामा ६ रुपैयाँ मूल्य घटाइएको दाबी गरेको छ । नेपाल दाना उत्पादक संघका अध्यक्ष रविन पुरीले आफूहरूले दानाको मूल्यमा पुनः समायोजन गर्न पत्राचार गरिसकेकाले अब जेठको पहिलो हप्तासम्ममा प्रतिकिलो २ देखि ३ रुपैयाँसम्म घटाइने जानकारी दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।