काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १० हजार टन चामल खरीदका लागि तेस्रोपटक टेन्डर आह्वान गरेको छ । कम्पनीले गत चैत ५ गते पहिलोपटक आह्वान गरेको टेन्डरमा १ महीनासम्म पनि प्रस्ताव नपरेपछि वैशाख १० गते दोस्रोपटक टेन्डर जारी गरेको थियो । तर त्यसमा पनि आवेदन नपरेपछि बुधवार फेरि तेस्रोपटक आह्वान गरेको हो ।
कम्पनीका महानिर्देशक नेत्र सुवेदीका अनुसार बुधवार पुनः सूचना जारी गरी टेन्डरका लागि आह्वान गरिएको हो, जसका लागि १५ दिनको म्याद रहनेछ । पटक पटक आह्वान गरिएको टेन्डरमा आवेदन नपर्नुमा लकडाउनपछि सामानको मूल्यमा भएको वृद्धि र ढुवानीमा असहजता प्रमुख कारण रहेको उनको भनाइ छ ।
यसपटक पनि टेन्डर नपरेर खाद्यान्न सकिने अवस्था आएमा प्रदेश शाखा अन्तर्गतका कम्पनीकै खरीद केन्द्रहरूलाई ५÷५ लाखको स्थानीयस्तरमा उपलब्ध चामल खरीदको जिम्मा दिन सकिने योजना रहेको उनले बताए । खाद्यान्न सकिएर कठिन अवस्था आउन नदिन आफूहरू सचेत भएर काम गरिरहेको उनले बताएका छन् ।
कम्पनीसँग हाल १ लाख ७० हजार क्वीन्टल चामल, मसुरो, रहर र केराउको दाल १५ क्वीन्टल, फापर ६ सय क्वीन्टल र कर्णालीको सिमी ५०० क्वीन्टल मौज्दात रहेकोले तत्काल खाद्य संकट नहुने कम्पनीले बताएको छ । यसअघि चामल र कर्णालीको सिमीमात्र विक्री गर्दै आएको कम्पनीले लकडाउनपछि भने रहर, मसुरो र केराउको दाल लगायत घ्यू समेत विक्री गरिरहेको छ । साथै कम्पनी अन्य खाद्यान्नको पनि व्यापार गर्ने योजनामा रहेको सुवेदीले जानकारी दिए ।
यस वर्ष कम्पनीले करीब ३ लाख क्वीन्टल धान खरीद गर्ने उद्देश्य लिएको भए तापनि २ लाख ११ हजार ८ सय ८९ क्वीन्टल मात्र धान खरीद गर्न सक्यो, जसले गर्दा अहिले थप चामल किन्नुपर्ने अवस्था आएको हो । कम्पनीले मंसिरमा खरीद गरेको उक्त धानबाट यति बेला चामल उत्पादन गर्ने काम जारी राखेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।