१८ जिल्लामा मकैमा फौजी कीराको आक्रमण

Share News

काठमाडौं । हुर्कंदै गरेको मकैबालीमा फौजी कीराले आक्रमण गरेपछि नियन्त्रणका लागि विषादी नपाउँदा किसान समस्यामा परेका छन् । पहाडी जिल्लाहरूमा धमाधम मकै लगाउने काम भइरहेको छ भने तराईका धेरैजसो जिल्लामा मकै लगाउने काम सम्पन्न भइसकेको छ । कतिपय जिल्लामा हुर्किंदै गरेको मकैबालीमा फौजी कीराको आक्रमण बढेको छ । फौजी कीराको आक्रमण बढे पनि ती जिल्लामा विषादी पुर्‍याउन समस्या भइरहेको व्यवसायीहरूले बताएका छन् ।

झापा, दाङ र बर्दियाका किसानहरूले मकैबालीको फौजी कीरा नियन्त्रणका लागि विषादीको माग गरेका छन् । तर पनि ढुवानीको समस्याले गर्दा किसानसमक्ष पुर्‍याउन नसकिएको विषादी व्यवसायी संघ नेपालका अध्यक्ष छोटेलालप्रसाद लोहारले जानकारी दिए । उनका अनुसार विषादीको स्टकमा समस्या नभए पनि माग भएका ठाउँमा पुर्‍याउन सकिएको छैन । ‘देशभरि विषादीको ढुवानी गर्ने हामीले नै हो तर अहिले ढुवानीमा निकै समस्या छ । किसानहरूले विषादी नपाएर हामीलाई गुनासो गर्ने गरेका छन्,’ उनले भने ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंका अनुसार जानकारीमा आएका जिल्लाहरूमा त्यहाँका स्थानीय निकाय र प्रदेश सरकारको सहकार्यमा विषादी ढुवानीको व्यवस्था गरिनेछ ।

‘विराटनगरलगायत केही ठाउँमा विषादी अभाव भएकाले व्यवसायीहरूसँग सहकार्य गरेर विषादी पु¥याउने काम हुँदै छ । बारा, पर्सा र रौतहटमा बेलैमा प्राविधिक सेवा र विषादी पुर्‍याउन सकिएकाले नियन्त्रणमा आइसक्यो,’ उनले भने ।

हाल ओखलढुंगा, खोटाङ, पाँचथर, उदयपुर, नवलपरासी, बाँके, बर्दिया, दाङ, झापा, रामेछाप, चितवन, स्याङ्जा, कास्कीलगायत करीब १८ जिल्लामा लगाइएका मकैबालीमा फौजी कीराको आक्रमण देखिएको छ । कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार पश्चिममा भन्दा पूर्वी जिल्लाहरूमा यसको प्रकोप बढिरहेको छ । कतै स्थानीय निकायले लकडाउन कडाइ गरेका कारण त कतै प्रशासनकै अवरोधले सिफारिश गरिएका विषादी ढुवानीमा समस्या देखिएको गुनासो बढेको उनले बताए ।

प्रदेश नं १ का पहाडी जिल्लामा मात्र करीब १५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैबालीमा फौजी कीराले आक्रमण गरेको प्रदेश नं १ बाली संरक्षण प्रयोगशालाका अधिकृत मुकेशकुमार यादवले जानकारी दिए । कतिपय जिल्लामा खाद्यान्न ढुवानी गर्ने गाडीमार्पmत विषादी पठाइए पनि भोजपुर र इलाममा भने ढुवानीकै समस्याका कारण विषादी पुर्‍याउन सकिएको छैन ।

त्यस क्षेत्रका किसानहरू समस्यामा रहेको उनले बताए । गतवर्षदेखि नेपालमा भित्रिएको यो कीराका बारेमा तालीमप्राप्तबाहेक कृषक र धेरैजसो प्राविधिकलाई समेत ज्ञान नहुँदा पनि नियन्त्रणमा समस्या हुने गरेको विज्ञहरू बताउँछन् । खास गरी फागुनदेखि साउन महीनासम्म बढी सक्रिय देखिने यो कीराको प्रकोप भदौ महीनापछि तापक्रम घट्दै जाँदा कम हुनुपर्ने हो । तर, तराईका कतिपय जिल्लामा भने यसको प्रकोप हिउँदमा समेत देखा परेकाले यसले बाहै्र महीना असर गर्न सक्ने कृषिविज्ञहरू बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।