वीरेन्द्रनगर । सुर्खेतको लेकबेँशी नगरपालिका साटाखानीमा उत्पादनभएको बन्दा विक्री नभएपछि किसानले जैविक मल बनाउन थालेका छन् । लकडाउनका कारण उत्पादन भएको बन्दाले बजार नपाएपछि उनीहरूले वैकल्पिक उपायको खोजी गरी मल बनाउन थालेका हुन् । साटाखानीस्थित साना किसान कृषि सहकारी संस्थाले आफ्ना सदस्यको उत्पादन विक्री नभएपछि जैविक मल बनाएर भएपनि किसानको लागत उठाउने योजना बनाएको हो ।
उत्पादित तरकारी बजारमा पुर्याउन समस्या हुँदा खेतबारीमै कुहिएको किसानको गुनासो छ । सदरमुकामदेखि करीब १३ किलोमिटर टाढाको गाउँबाट डोकामा तरकारी बोकेर बजार पुर्याउने स्थिति
नभएपछि थप समस्या भएको साना किसान कृषि सहकारी संस्थाका प्रवन्धक हरि पौडेलले बताए । ‘हाम्रा सदस्यले उत्पादन गरेको वस्तु बजारीकरणमा समस्या भएको छ’, पौडेलले भने, ‘यो लकडाउनले साना किसानलाई थप समस्यामा पारेको छ ।’ उनका अनुसार साटाखानीमा मात्रै ७ क्वीन्टल बन्दा जैविक मल बनाउनका लागि गड्यौलालाई खुवाइएको छ । अझै किसानसँग २० क्वीनटल बन्दा मौज्दात रहेको उनको भनाइ छ ।
किसानले उत्पादन गरेको बन्दाबाट आम्दानी नभएपनि लगानी उठोस् भन्ने उद्देश्यले जैविक मलको शुरूआत गरिएको पौडेलले बताए । उक्त मल हाल परीक्षणको क्रममा रहेको उनको भनाइ छ । ‘सस्तै मूल्यमा विक्री गर्न खोज्दा पनि विक्री नभएपछि केही पशुलाई खुवाइएको छ भने केहीलाई जैविक मल बनाइएको किसानहरूले बताएका छन् ।
उत्पादित वस्तु विक्री नभएपछि पशुलाई समेत खुवाउन थालिएको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले बजारमा चहलपहल नभएकाले व्यवसायमा समस्या भएको किसानको गुनासो छ ।
बन्दाबन्दीले गर्दा जिल्ला सदरमुकाममा जिल्ला बाहिरबाट बेमौसमी तरकारी र फलफूल आउने क्रम रोकिएपछि वीरेन्द्रनगरमा तरकारीको समस्या भएको छ ।
उत्पादित तरकारीले बजार नपाएपछि दैनिक जीविकोपार्जनमा समस्या थपिएको किसानको गुनासो छ भने प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारबासीले भने ताजा फलफूल र तरकारी पाएका छैनन् ।
देवकोटा मण्डीका सञ्चालक लक्ष्मण देवकोटा तरकारी आयातमा समस्या भएको बताउँछन् । ‘प्र्रशासनले तरकारी लिएर आउ भन्छ, आधा बाटोमा पुगेपछि प्रहरीले अनुमतिपत्र खोज्छ’, उनले भने, ‘किसानले तरकारी ल्याउने वातावरण पनि छैन । न व्यवसायी गएर नै तरकारी ल्याउनसक्ने अवस्था नै छ ।’ प्रशासनको दोहोरो चरित्रले व्यवसायी, उपभोक्ता र आम किसान मारमा परेको उनको गुनासो छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।