काठमाडौं । बन्दाबन्दी खुकुलो बनाई व्यवसाय सञ्चालन गर्न दिन पटकपटक माग गरे पनि सरकारले बेवास्ता गरी जेठ ३२ गतेसम्म लकडाउन बढाएपछि व्यवसायीहरूले बन्दाबन्दी अवज्ञा गर्न थालेका छन् । मुलुकका प्रमुख शहरहरूका धेरैजसो व्यवसायीले सरकारी निर्णयको अवज्ञा गर्दै बुधवार व्यवसाय सञ्चालन गरे ।
बुधवार काठमाडाैं उपत्यकाको न्यूरोड, खिचापोखरी, असन, इन्द्रचोक बानेश्वर, सिनामंगल, गौशाला, पुतलीसडक, सुन्धारा, कुमारीपाटी, लगनखेललगायत धेरैजसो ठाउँमा व्यवसायीहरूले पसल खोले । लामो समयको बन्दाबन्दीका कारण व्यवसाय ठप्प हुँदा आफूहरूले ठूलो मार खेप्नु परेकाले पसल खोल्न बाध्य भएको उनीहरूको भनाइ छ ।
खाद्यान्न, कपडा, शृंगार, मदिरा, इलेक्ट्रोनिक्स पसल खुलेका हुन् । बिहान करीब २/३ घण्टा खुलेका पसललाई प्रहरीले केही बेरपछि बन्द गर्न लगाएको व्यवसायीहरूले बताएका छन् । बिहान केही समयमात्रै व्यवसाय सञ्चालन गर्न पाउँदा पनि व्यवसायीहरूमा उत्साह थपिएको नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका आपूर्ति समिति सभापति दुर्गाराज श्रेष्ठले बताए । उपत्यकाबाहिरका वीरगञ्ज, विराटनगर, बुटवल, भैरहवा आदि ठूला शहरका व्यवसायीहरूले पनि पसल तथा व्यवसाय सञ्चालन गरेका छन् । उनीहरूले सरकारको निर्णय अवज्ञा गर्ने घोषणा गरेअनुसार नै बुधवार पसल सञ्चालन गरेका हुन् ।
व्यवसायीहरूले मंगलवारदेखि नै फाटफुट मात्रामा पसलहरू खोलेका थिए । बुधवार त्यसको संख्या बढ्दै २०/३० प्रतिशत पुगेको छ । यो क्रम बिहीवार ६० देखि ७० प्रतिशतसम्म पुग्न सक्ने नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए ।
सञ्चालन गरिएका धेरैजसो पसल तथा व्यवसायमा व्यवसायीहरू आफै सजग भएर स्वास्थ्य सतर्कताका उपायहरू अपनाएको र भौतिक दूरीको समेत पूर्ण पालना गरिएको व्यवसायीहरूले बताएका छन् ।
मंगलवार नै निजीक्षेत्रका प्रतिनिधिहरूको टोलीले उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र भौतिक पूवार्धार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग बन्दाबन्दीको विकल्प खोज्न र व्यवसाय सञ्चालन गर्न दिन माग गरेको थियो । सरकार यसमा सकारात्मक पनि थियो । तर, सरकारले बन्दाबन्दी खुकुलो पार्ने निर्णय गर्नुअगावै व्यवसाय सञ्चालन गर्ने क्रम बढेको उपाध्यक्ष प्रधानले बताए ।
अन्य क्षेत्रका व्यापारीहरूले आफ्ना व्यापार व्यवसाय सञ्चालन गर्न थालेपछि खाद्य तथा किराना व्यापारीहरूले भने आपूmहरूले अब दिनभरि नै पसल खोल्न पाउनुपर्ने बताएका छन् । भाटभटेनी र बिगमार्टलगायत ठूला व्यवसायीहरूलाई दिनभरि व्यवसाय गर्न दिएको र साना व्यवसायीहरूलाई प्रहरी प्रशासन लगाएर बन्द गर्न लगाइएको आरोप उनीहरूले लगाएका छन् ।
वाणिज्य विभागले आफूहरूलाई दिनभरि व्यवसाय गर्न स्वीकृति दिएको भए पनि प्रहरी प्रशासनको अवरोधका कारण समस्या भइरहेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘कसैलाई काखा र कसैलाई पाखा गर्ने सरकारी संयन्त्रप्रति किराना व्यवसायीहरूको आक्रोश छ,’ उनले भने ।
पुष्प व्यवसायी संघले बुधवार महाराजगञ्ज, त्रिपुरेश्वर, कमलादी र जावलाखेलमा रहेका कटप्mलावरका पसलहरू सञ्चालन गरेको छ । सञ्चालनमा प्रहरी प्रशासनले अवरोध गरे पनि बुधवार बिहान करीब ३ घण्टाजति व्यवसायीहरूले पसल खुला राखेका थिए । कृषि मन्त्रालयले कृषिजन्य वस्तुको ढुवानी र विक्री वितरणमा रोक नलगाउने भनेकाले आपूmहरूले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने पुष्प व्यवसायीहरूको माग छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।