उपत्यकामा पसल खुल्ने क्रम बढ्यो, प्रशासनले पनि साथ दिँदै

Share News

काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेको ७२औं दिनमा बिहीवार उपत्यकाका अधिकांश व्यवसायीले पसल खोले । बुधवार राष्ट्रिय व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै व्यापारीहरूलाई पसल खोल्न आग्रह गरेपछि अधिकांश व्यापारीले पसल खोलेका हुन् । लकडाउन जारी नै रहे पनि खुकुलो बनाउन विज्ञहरूसँग प्रधानमन्त्रीले छलफल गरेकाले व्यवसायीहरूलाई पसल खोल्न प्रशासनले समेत रोकेन ।  काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू न्यूरोड, असन, इन्द्रचोक, भोटाहिटी, कोटेश्वर, महाबौद्ध, गौशालालगायत क्षेत्रका करीब ४० प्रतिशत पसल बिहान ८ देखि ११ वजेसम्म खुला रहे । राष्ट्रिय व्यवसायी संघको पहलमा बिहीवार बिहान पसल खोल्न पुगेका व्यापारीहरूलाई प्रहरी प्रशासनले पनि अवरोध गरेनन् । रेडिमेड कपडा पसल, शृंगार, इलेक्ट्रिक, हार्डवेयर, गहना, खाद्यान्नलगायत पसल खुलेका हुन् । लकडाउनका बेला अत्यावश्यक बस्तुका पसलबाहेक अन्य पसल खोल्न दिइएको थिएन ।

व्यवसायी मनोज श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले फोन गरेर तपाईंहरूलाई हाम्रो पनि समर्थन छ आउनुहोस् तपाईंहरूको जायज मागलाई सम्बोधन गर्न सरकारसँग कसरी कुरा अगाडि बढाउने भन्ने बारेमा छलफल गरौं भनेपछि सजिलो भयो ।

तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग व्यवसायीहरूको छलफल भएको थियो । आफ्ना मागलाई सकारात्मक रूपमा लिँदै राजधानीमा लकडाउन खुकुलो प्रजिअहरू सहमत भएको उनले बताए । उपप्रधानमन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टरले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा लकडाउन खुकुलो बनाउन सिफारिश गरेपछि व्यवसायीहरू उत्साहित भएका छन् ।

व्यवसायीहरूले पटकपटक सरकारसँग व्यवसाय सञ्चालन गर्न माग गरेका थिए । व्यवसायीहरूको माग सरकारले सम्बोधन नगरे पनि लकडाउन अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्नु परेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।

‘अब प्रशासनले पनि साथ दियो, हामी खुशी छौं,’ उनले भने ।

निजीक्षेत्र चलायमान भयो भने मात्र देशको अर्थतन्त्र चल्ने भएकाले आपूmहरूको माग जायज भएको र यसमा पनि सरकार सकारात्मक देखिँदै गएको व्यवसायीहरूको भनाइ छ । एकै समयमा सबै व्यवसाय सञ्चालन गर्दा भीडभाड बढ्न सक्ने भएकाले फरकफरक व्यवसाय सञ्चालन गर्ने समय सीमा तोक्नुपर्ने व्यवसायीहरूको माग छ ।

अहिले पसल खोलेर आम्दानी त खासै छैन तर थोरै राहत मिल्ने भएकाले पसल खोल्नैपर्ने अवस्था भएको नेपाल उद्योग वाणिज्य संघ काठमाडौंकी कोषाध्यक्ष सुषमा महराले बताइन् । व्यवसाय सञ्चालन गर्न पाउँदा व्यवसायीहरू जति उत्साहित छन् त्यति नै सजग रहनु पनि जरुरी रहेको उनको भनाइ छ । स्वास्थ्य सतर्कताका उपाय पूर्ण पालना गरेर मात्र पसल खोल्न व्यापारीहरूलाई उनले आग्रह गरिन् ।

खिचापोखरी र सुन्धारा क्षेत्रका पसलहरू भने २२ नं. वडा का वडा अध्यक्ष चिनकाजी महर्जनले सरकारको आधिकारिक निर्णय नआईकन व्यवसाय सञ्चालन गर्न नहुने बताएपछि खुल्न सकेनन् ।

पसल खोल्न कतै प्रशासनले पनि साथ दियो भने कतै अवरोध पनि गरेको छ । राष्ट्रिय व्यापार संघको आह्वानपश्चात् पसल खोल्न पुगेका कमलादी, जवालाखेललगायत ठाउँका फूल व्यवसायीहरूलाई भने प्रहरी प्रशासनले अवरोध गर्दा पसल बन्द गर्नुपरेको पुष्प व्यवसायीहरूले गुनासो गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।