काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत ल्याउन लागिएको ४६ हजार मेट्रिक टन रासायनिक मल भारतमै रोकिन पुग्दा रोपाइको मुखैमा मलको अभाव चुलिएको छ । पुरानो स्टकले जेठ महीना धाने पनि त्यसपछि भने मल पूरै अभाव हुने देखिएको छ । कृषि सामग्रीले स्वीस सिंगापुर कम्पनीमार्फत चीनबाट ल्याउन लागेको २५ हजार मेट्रिक टन डीएपी मल अप्रिल महीनादेखि भारतको कोलकातामा रोकिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले मल्टी कमोडिटी नामक कम्पनीमार्फत ल्याउन लागेको २१ हजार ५ सय मेट्रिक टन युरिया मल गुजरातको काँडला बन्दरगाहमा अड्किएको छ ।
कोलकातामा मल प्याकिङ गर्ने श्रमिक अभावका कारण समयमा प्याकिङ हुन नसक्दा नेपालमा ल्याउन समस्या देखिएको हो भने काँडला बन्दरगाहमा आइपुगेको मल नेपाल–भारत वाणिज्य सन्धिले गर्दा रोकिएको हो । रोकिएको मल नआइपुगे असार र साउनमा मलको समस्या झनै चर्किने देखिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हाल १५ हजार मेट्रिक टन युरिया, २९ हजार मेट्रिक टन डीएपी र ५ हजार ७ सय मेट्रिक टन पोटास मौज्दात छ । तर, जेठदेखि साउनसम्मको अवधिमा ७० हजार मेट्रिक टन युरिया, ४० हजार मेट्रिक टन डीएपी आवश्यक पर्ने गर्छ । आवश्यक पर्नेभन्दा कम परिमाणमा मल मौज्दात रहँदा अभाव झनै चुलिने निश्चितजस्तै बनिसकेको छ । मौज्दात रहेको मल जेठ महीनाभरिलाई मात्र पुग्ने कृषि मन्त्रालयका कृषि प्रसार अधिकृत कृष्ण धितालले बताए ।
खेतीपातीको समयमा बाटोमै मल अलपत्र छ भने यता किसानले मलको अभाव भोग्नुपरेको छ । हाल नवलपरासी, बर्दिया, बाँके, दाङ, इलाम, झापा, पाँचथर, भोजपुरलगायत अधिकांश जिल्लाका किसानले मलको अभाव भोगिरहेका बताइएको छ ।
बर्दियामा कुलोको पानीमार्फत सिँचाइ हुने भएकाले यति बेला करीब २० प्रतिशत खेतमा वर्षे धान रोपाइँ सकिइसकेको छ । तर, ५० प्रतिशत किसानले मल पाउन सकेका छैनन् । रोपाइँ शुरू भइसक्दासमेत मल नपाउँदा किसानहरूले आन्दोलन नै गर्नुपरेको राजापुर धान सुपरजोनका संयोजक अग्नि अर्यालले जानकारी दिए । ‘मलविना नै किसानहरू धान रोप्न बाध्य छन्,’ उनले भने ।
भारतीय सीमाक्षेत्रका किसानले विगतमा भारतबाट मल ल्याउने गरे पनि अहिले बन्दाबन्दीका कारण त्यो पनि सम्भव नहुँदा धानखेती हुने तराईमा अभाव हुने देखिन्छ ।
राजापुरका स्थानीय सहकारीहरूले किसानहरूसँग मल बेच्दा १ बोरा डीएपीका साथमा २ बोरा एसएपी नामक नक्कली युरिया मल किन्नैपर्ने नियम बनाएका कारण किसानहरू थप समस्यामा छन् । बर्दियाका किसानले यति बेला युरिया मलको अभाव भोग्नुपरेको उनले आर्थिक अभियानलाई बताए ।
यस्तै समस्या नवलपरासीका किसानले समेत भोग्नुपरेको नेपाल किसान संघका अध्यक्ष भानु सिग्देलले जानकारी दिए ।
नवलपरासीमा रोपाइँ शुरू भइसकेको छैन । तर, रोपाइँ शुरू भएपछि मलको हाहाकार हुने निश्चित भएको उनी बताउँछन् ।
प्रदेश १ का प्रायः सबैजस्तो जिल्लाका किसानले युरिया मलको अभाव भोग्नुपरेको छ, जसले गर्दा किसानहरू रोपाइँको समयमा मल नपाइएला कि भन्ने त्रासमा रहेको प्रदेश १ का खाद्य सुरक्षा महाशाखा प्रमुख रोजेन्द्र उप्रेतीले जानकारी दिए ।
कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार अहिले कोलकाता बन्दरगाहमा श्रमिकहरू उपलब्ध भएकाले मलको प्याकिङ त भइरहेको छ तर थोरै कामदारका कारण बढी समय लागेको छ ।
अहिले करीब ४० हजार बोरा मल प्याकिङ भइसकेको छ अब करीब ५० हजार बोरा प्याकिङ भएपश्चात् रेलमार्फत नेपाल ल्याइनेछ । १ सय २० मेट्रिक टन मल ४ ओटा ट्रकमार्फत विराटनगर र भैरहवा नाका हुँदै नेपाल पठाइसकिएको र ३ ट्रक मल लोड भइरहेको छ । असारको २० गतेसम्म कोलकातामा रहेको सबै मल नेपाल आइपुग्ने उनको दाबी छ ।
काँडलामा अड्किएको मल ल्याउन कूटनीतिक पहल
गुजरातमा रहेको २१ हजार ५ सय मेट्रिक टन मल कहिलेसम्म नेपाल ल्याइने भन्नेमा अझै पनि टुंगो लाग्न सकेको छैन । गुजरातको काँडला बन्दरगाह प्रयोग गर्न नेपाल भारतबीच सन्धि भएको छैन । तर, ओमनबाट ल्याउन लागिएको मल त्यहाँको कम्पनीले काँडला पठाएर त्यहाँबाट लिनु भनेपछि मल उतै अड्किएको छ । तेस्रो मुलुकबाट ल्याइएको कुनै पनि सामान काँडलाबाट सीधै नेपाल ल्याउन पाउने प्रावधान नहुँदा उक्त मल नेपाल ल्याउन समस्या भएको हो ।
पटकपटक कृषि मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्पत पहल गर्दा पनि हालसम्म भारतीय पक्षबाट कुनै पनि प्रतिक्रिया नआउँदा झनै अन्योल सृजना भएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।