काठमाडौं । लामो समयदेखि जारी लकडाउनका कारण नेपालको आँप उत्पादनले बजार पाउन सकेको छैन, जसले गर्दा उत्पादन बारीमै कुहिएर जाने चिन्तामा किसानहरू छन् ।
यतिबेला सिरही, बम्बई, किसनभोग, दशहरीलगायत जातका आँपको सिजन शुरू भइसकेको छ भने मालदह र कलकतिया आँप तयार हुन अझै केही दिन लाग्नेछ । तर, किसानले अघिल्ला वर्षहरूमा झैं बजार पाउन सकिरहेका छैनन् ।
सिराहा र सप्तरीमा मात्रै करीब १५ हजार ६ सय हेक्टर जमीनमा आँपखेती गरिँदै आएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष उत्पादन पनि बढेको किसानहरूले बताएका छन् । तर आँप बजारसम्म पु¥याउन नसक्दा उनीहरूले ठूलो मात्रामा क्षति बेहोर्नुपर्ने अवस्था देखिएको छ ।
सिराहा, सप्तरी लगायत जिल्लाको आँपको मुख्य बजार काठमाडौं, चितवन, इटहरी, पोखरा, हेटौंडा लगायत शहर हुन् । तर, यतिबेला लकडाउनका कारण ती शहरबाट व्यापारीले समेत ठूलो माग नगरेकाले किसानहरू मर्कामा परेको आँप जोन सप्तरीका प्रमुख रासदेव यादवले बताए ।
आँपको खपत धेरै हुने ठूला शहर र स्थानीय बजारमा समेत माग घटेको उनको भनाइ छ, जसले गर्दा आँपको मूल्य पनि घटेको छ । अघिल्ला वर्षमा किसानले व्यापारीलाई थोकमा प्रतिकिलो ६० रुपैयाँसम्ममा आँप विक्री गर्ने गरेका थिए । तर यस वर्ष प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा विक्री गर्नुपरेको गुनासो किसानहरूको छ ।
बगानमा फलेको आँप आफैले विक्री गर्न नसक्ने भएकाले किसानले व्यापारीलाई पूरै बगान ठेक्कामा दिने गरेका छन् । ‘तर खपत कम भएकाले ५ लाखमा विक्री हुने बगान किसानहरूले ४ लाखमा विक्री गर्न बाध्य छन्,’ यादवले भने ।
साना किसानले स्थानीय बजारमा आफैले विक्री गर्ने गर्दथे । तर कोरोना महामारीका कारण यो वर्ष उनीहरूल व्यापारीलाई नै विक्री गर्नुपर्दा नाफा कमाउन सकेका छैनन् । यसअघि औसतमा प्रतिहेक्टर १२ मेट्रिकटन आँप फलेको सिराहा र सप्तरीमा यस वर्ष १५ देखि २० मेट्रिकटन फलेकोे आँपजोन सप्तरीले अनुमान गरेको छ । तर, उत्पादन बढे पनि परिस्थितिले साथ नदिँदा किसान चिन्तित छन् ।
यस वर्ष काठमाडौंमा आँपको विक्री घटेको व्यापारीहरू बताउँछन् । कोरोना महामारीका कारण काठमाडौंबाट ठूलो संख्यामा मानिस बाहिरिएकाले यहाँ उपभोग घटेको हुन सक्ने उनीहरूको भनाइ छ । अघिल्ला वर्षहरूमा साइकल र ठेलामा समेत राखेर दैनिक रूपमा काठमाडौंमा आँपको ठूलो व्यापार हुने गर्दथ्यो । तर मानिस खुलारूपमा किनेर खान पनि डराउने भएकाले खपत घटेको कालीमाटी फलफूल तथा तरकारी बजारका आँप व्यापारी भरत खनालले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।