असार ६, रौतहट । कोरोना भाइरसका संक्रमितलाई राखेर उपचार गर्नका लागि रौतहटको चन्द्रपुर नगरपालिकामा सुविधायुक्त आईसोलेशन कक्षको निर्माण गरिएको छ । जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेकाले चन्द्रपुर नगरपालिका–२ स्थित शहिद स्मृति पार्कमा आईसोलेशन कक्षको निर्माण गरिएको हो ।
चन्द्रपुर नगरपालिकाको २५ लाख, वृन्दावन, गुजरा र गढिमाई नगरपालिकाको १५/१५ लाखको लागतमा ४० बेडको आईसोलेशन कक्ष निर्माण गरीएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताए ।
चारै ओटा नगरपालिकामा कोरोना संक्रमित बढ्न सक्ने अनुमान गरेर सुविधायुक्त आइसोलेशन भवनको निर्माण गरीएको उनले बताए । चार खण्ड सहितको आईसोलेशन कक्षमा सात ओटा एसी र छुटाछुट्टै शौचालयको व्यवस्था गरीएको उनले जानकारी दिए ।
उक्त आईसोलेशनमा भेन्टिलेटर तथा पर्याप्त अक्सिजन राख्ने व्यवस्था पनि गरिएको उनले बताए । पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएका संक्रमितलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गर्नका लागि सुविधायुक्त आइसोलेशन कक्ष बनाईएको गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले बताए ।
सुविधायुक्त आईसोलेशन कक्ष बनाईएकाले नागरिकले व्यवस्थित स्वास्थ्य सुविधा पाउने उनले बताए । जिल्लामा पर्याप्त संख्यामा आइसोलेशन नहुँदा संक्रमितहरुलाई उनीहरु बसिरहेको क्वारेन्टाइनमा नै राखेर उपचार गर्नुपर्ने बाध्यता छ । जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत किरणनिधि तिवारीका अनुसार जिल्लाभरी ४७० आईसोलेशन बेड रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।