अधिकांश जिल्लामा धान रोपाइँ शुरु

Share News

काठमाडौं । मनसुन शुरू भएसँगै देशका अधिकांश जिल्लामा धान रोपाइँ शुरू भएको छ । काठमाडौं, धादिङ, मकवानपुर, कास्की बाग्लुङ, झापा, पाँचथर, बारा, पर्सा, दाङ, प्युठान, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लाका किसानले धान बाली लगाउन शुरू गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा चालू आवमा १४ लाख ५८ हजार ९ सय १५ हेक्टर जमीनमा धान खेती गरिएको थियो, जुन गत आवको तुलनामा ३२ हजार ८ सय २९ हेक्टर कम हो । तर कोरोना महामारीका कारण उद्योगधन्दा, व्यापार, व्यवसाय, स्कुल, कलेज बन्द भएकाले गाउँका धेरैजसो बाँझा खेतबारी समेत खनजोत गरेर त्यसमा खेतीको तयारी भएकाले यस वर्ष धानखेती हुने जमीनको क्षेत्रफल बढ्न सक्ने अनुमान गरिएको छ ।

किसानहरूले यस वर्षको धानबाली लगाउन शुरू गरे पनि बजारमा मल पाउन भने सकेका छैनन् । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले पर्याप्त मल नपाउँदा किसानहरू उत्साहित नभएको बताए । लकडाउन खुकुलो भएपछि तराईका जिल्लामा किसानले भारततिरबाट साइकलमा बोकेर ल्याएको मल पनि बोर्डरमा प्रहरीले रोक्ने गरेकोले किसान मारमा परेको उनको गुनासो छ । ‘अन्य व्यापार व्यवसाय नचलेको र विदेशबाट फर्किएका युवा पनि हाल खेतीपातीमै संलग्न हुनु सकारात्मक भए पनि यस्तो बेलामा मल पाउन नसक्नु दुःखद कुरा हो,’ उनले भने ।

रापाइँ शुरू भइसक्दा पनि पर्याप्त मात्रामा मल उपलब्ध छैन । यस वर्ष कुल ४ लाख ५७ हजार मेट्रिकटन मल नेपाल भिœयाउने सरकारको योजना थियो, जसमध्ये हालसम्म ३ लाख ३५ हजार ५ सय मेट्रिकटन मात्र आइपुगेको बताइएको छ । अब ७१ हजार ५ सय मेट्रिकटन युरिया र ५० हजार मेट्रिकटन डीएपी गरी १ लाख २१ हजार ५०० मेट्रिकटन मल आउन बाँकी रहेको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका कृषि प्रसार अधिकृत कृष्ण धितालले जानकारी दिए ।

यसमध्ये ४५ हजार मेट्रिकटन डीएपी कोलकाता र २१ हजार ५०० मेट्रिकटन युरिया गुजरातमा रोकिएको छ भने बाँकी आउने क्रममै रहेको उनले बताए । कोलकातामा गएको फेब्रुअरीदेखि रोकिएको २५ हजार मेट्रिकटन डीएपी मलमध्ये हालसम्म ५ हजार मेट्रिकटन मात्र नेपाल भित्रिएको छ ।

जेठदेखि साउनसम्मको अवधिमा ७० हजार मेट्रिकटन युरिया, ४० हजार मेट्रिकटन डीएपी आवश्यक पर्ने गर्छ । तर यतिबेला सरकारसँग ६ हजार मेट्रिकटन युरिया, ११ हजार मेट्रिकटन डीएपी र ४ हजार ३ सय मेट्रिकटन पोटास मौज्दात छ । अहिलेको मौज्दातले मल अभावको समस्या झनै थपिएको उनले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।