काठमाडौं । असार १ गतेदेखि लकडाउन खुकुलो भएपछि खाद्य उद्योगको उत्पादन क्षमता बढ्दै गए तापनि श्रमिक अभावका कारण अझै पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । लकडाउनका बेला कच्चापदार्थ र श्रमिक अभावले उत्पादन क्षमता घटेका उद्योगले अहिले यसमा केही सुधार गरेका छन् । तर श्रमिक अभाव कायमै रहेकाले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेका हुन् ।
पूर्ण लकडाउनका बेला सरकारले खाद्य उद्योग सञ्चालनको अनुमति दिए पनि ४० प्रतिशत उद्योग करीब ३० प्रतिशत क्षमतामा चलेका थिए । अहिले लकडाउन खुकुलो भएपछि उद्योगको उत्पादन क्षमता बढेर करीब ७५ प्रतिशत पुगेको छ । तर यसलाई सन्तोषजनक मान्न सकिने अवस्था नरहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले बताए । भारतीय श्रमिक आउन नसक्दा उद्योगहरूले दक्ष कामदारको अभाव खेप्नुपरेको गुनासो उनले गरे ।
सामान्य अवस्थामा नेपालमा सञ्चालित खाद्य उद्योगले वार्षिक कुल मागको करीब ६० प्रतिशत चामल, ६२ प्रतिशत दाल र ३५ प्रतिशत तेल उत्पादन गर्दछन् । कुल गार्हस्थ्य उत्पादनमा यस्ता उद्योगको योगदान करीब ६ प्रतिशत छ । त्यसैले खाद्य उद्योग पूर्ण क्षमतामा चल्न नसक्नु दुःखद भएको सरोकारवालहरू बताउँछन् ।
दाल चामल तेल संघका अध्यक्ष सुबोधकुमार गुप्ताले उत्पादन क्षमतामा सुधार देखिएको भए पनि श्रमिक अभावको समस्या ज्यूँका त्यूँ रहेको बताए । उद्योगमा काम गर्ने करीब ७ लाख श्रमिक भारतीय नागरिक रहेको र उनीहरू उतै रोकिएको उनको भनाइ छ । ‘उद्योगका लागि दक्ष कामदार पनि उनीहरू नै हुन्,’ उनले भने, ‘त्यसैले उनीहरू नहुँदा उत्पादन क्षमता अपेक्षित रूपमा बढाउन सकिएको छैन ।’ भारतीय श्रमिकको अभाव टार्न हाल विदेशबाट फर्किएका श्रमिकलाई नै उचित तालीमको प्रबन्ध गरी उद्योगमा काम लगाउन सके आफ्नै देशमा रोजगारी सृजना हुने र उद्योगको उत्पादन क्षमता पनि बढ्न सक्ने उनले बताए ।
सरकारले समेत राहतका प्याकेज नल्याएको अवस्थामा आफूहरूलाई बैंकको ब्याजले थिचिरहेको उद्यागीहरूको भनाइ छ । राष्ट्र बैंकले असार मसान्तसम्मका लागि ब्याज तिर्ने अवधि तोकेको छ । तर उद्योग व्यवसाय उधारोमा चल्ने भएकाले अहिले पूँजी नभएको भन्दै उनीहरूले बैंकको ब्याज आगामी ६ महीनाका लागि सार्नुपर्ने माग गरेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।