ठमेल क्षेत्रमा व्यवसाय छाड्ने क्रम बढ्यो

Share News

काठमाडौं । कोरोना महामारीका कारण तहसनहस पर्यटन क्षेत्र माथि उठ्न लामो समय लाग्ने आकलन गर्दै ठमेल क्षेत्रका व्यवसायीहरूले व्यवसाय छाड्ने क्रम बढेको छ । महामारीको प्रभावका कारण लामो समयसम्म पर्यटन व्यवसाय ठप्प हुने देखिएकाले महँगो भाडा तिर्न नसकेपछि उनीहरूले व्यापारव्यवसाय नै छाडेर घरधनीलाई सटर फिर्ता गर्ने क्रम बढेको हो । ठमेल, पकनाजोल, क्षेत्रपाटी, कालधारा, नरदेवीलगायत स्थानमा पर्यटन क्षेत्रसँग सम्बद्ध होटल, रेस्टुराँ, ट्राभल एजेन्सी, मनी एक्सचेन्ज, हस्तकलाका साना तथा ठूला गरी करीब १० हजार पर्यटन व्यवसायी र २ हजार घरधनी रहेका छन् । यसमध्ये हालसम्म २ सयभन्दा बढी व्यापारीले आपूmले व्यवसाय गरिराखेको सटर छोडेर घरधनीलाई जिम्मा लगाएका छन् । यहाँका कतिपय होटल भाडाका घरमा सञ्चालन भएका छन् । पर्यटन व्यवसाय माथि उठ्न कम्तीमा पनि १ वर्ष लाग्ने आकलन गर्दै उनीहरू होटल बन्द गर्ने वा विक्री गर्ने मनस्थितिमा पुगेका छन् ।

व्यवसाय पूर्णरूपमा ठप्प भएर आम्दानी नहुँदा घरभाडा, बिजुलीको बिल र बैंकको ऋण तथा ब्याज तिर्नै मुश्किल भएको भन्दै व्यवसायीहरूले वर्षौंदेखि गर्दै आएको पेशा÷व्यवसाय नै छोड्न थालेपछि ठमेल पर्यटन विकास परिषद्को पहलमा कोभिड–१९ पर्यटन व्यवसायी विपद् समन्वय समिति गठन भएको छ ।

समितिले यस क्षेत्रका घरधनी तथा व्यवसायी दुवै पक्षलाई सहज हुनेगरी महामारीको अवधिभरका लागि घरभाडा, विद्युत् महसुल र इन्टरनेट शुल्कमा समेत कम्तीमा १ वर्षका लागि ५० प्रतिशत छूट दिन घरधनीहरूलाई आग्रह गरेको छ ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवीश्वर शर्माका अनुसार हाल केही घरधनी घरभाडामा छूट दिन सहमत भएका छन् भने केही घरधनी उक्त निर्णय नमान्ने पक्षमा छन् ।
अहिलेको विषम परिस्थितिमा दुवै पक्षका आआफ्नै प्रकारका समस्या छन्, त्यसैले दुवै पक्षले आपसमा समझदारी गरेर अगाडि बढ्नु नै राम्रो विकल्प भएको उनले बताए । ‘ठमेल जस्तो देशकै ठूलो पर्यटकीय क्षेत्रको पर्यटन बजार बिग्रने खतरामा रहेकाले यसको अस्तित्व जोगाउन त्यहाँका घरधनी, व्यापारी, स्थानीय निकाय र राज्यसमेतले ध्यान दिनुपर्छ,’ उनले भने । रातमा समेत उज्यालो हुने ठमेल दिउँसै अँध्यारो हुनु समग्र पर्यटन क्षेत्रका लागि आपैmमा दुःखद भएको उनको बुझाइ छ ।

नेपालकै मुख्य पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको घरभाडा दर निकै महँगो रहेको सरोकारवालाहरू बताउँछन् । जहाँ मासिक १५ हजारदेखि ४५ लाखसम्म भाडा तिर्ने व्यापारीहरू पनि छन् । त्यसैले ठमेल क्षेत्रका एक जना व्यापारीले औसतमा १ महीनामा ८० हजारसम्म भाडा तिर्ने गरेको ठमेल पर्यटन विकास परिषद्ले जानकारी दिएको छ । ५० प्रतिशत भाडा छूट दिने निर्णय पूर्णरूपमा लागू भएमा १० हजार व्यवसायीको हिसाबले वार्षिक करीब ५ अर्बको हाराहारीमा भाडा छूट हुने अनुमान गरिएको छ ।

संसारभरबाट आउने विभिन्न देशका सबैखाले पर्यटकलाई आवश्यक सूचना र सुविधासमेत ठमेल क्षेत्रबाट प्राप्त हुने भएकाले नेपाल घुम्न आउने करीब ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गर्छन् । परिषद्का अनुसार सिजनका बेलामा सरदर १ दिनमा ३ देखि ४ हजार र अफ सिजनमा १ हजारदेखि २ हजार पर्यटक ठमेल आउने गरेका छन् ।

ठमेल पर्यटन विकास परिषद्, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाललगायत ११ ओटा व्यापारिक संगठनले घरधनीहरूलाई आपसमा छलफल गरेर छूट दिने नदिने विषयमा टुंगोमा पुग्न आग्रह गरेका छन् । कतिपय घरधनीले परिषद्ले गरेको निर्णय आपूmलाई थाहा नै नभएको बताए भने कतिपयले घरधनीले आपसी छलफलपश्चात् मात्रै भाडामा छूट गर्ने नगर्ने निर्णयमा पुग्ने बताएका छन् ।

लकडाउन खुकुलो भएपछि पसलहरू खुलेका छन् तर ग्राहक नभएकाले व्यापार छैन । ८० प्रतिशत विदेशी र २० प्रतिशत आन्तरिक पर्यटकले चल्ने ठमेलको व्यापार व्यवसाय अहिले ठप्प छ । आन्तरिक पर्यटक पनि ठमेल आउन सक्ने अवस्था छैन । व्यवसायीहरू आप्mनो व्यवसाय छाड्नु कि समाउनुको मनस्थितिका पुगेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।