प्यूठानका सबै स्थानीय तहको बजेट एकै साथ सार्वजनिक : स्वास्थ्य, कृषिलाई प्राथमिकता

Share News

असार १०, प्यूठान । प्यूठानमा सबै स्थानीय तहले एकै साथ आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छन् । 

प्यूठानका नौ ओटै स्थानीय तहले बुधवार एकै साथ आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति, कार्यक्रम र बजेट ल्याएका हुन् । अन्तरसरकारी वित्त व्यवस्थापन स्थानीय तहले असार १० गतेभित्र अनिवार्य बजेट ल्याउनुपर्ने प्रावधान अनुसार स्थानीय तहद्वारा आ–आफ्ना सभाबाट नीति, कार्यक्रम र बजेट  ल्याएका हुन् ।

प्यूठान नगरपालिकाको आठौं नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले प्रस्तुत गरे । त्यस्तै नगरपालिकाकी उप प्रमुख शान्ता आचार्यले आगामी आर्थिक वर्षका लागि रू. ६९ करोड ८ लाख ५० हजार बजेट सार्वजनिक गरेकी छिन् । 

नगरपालिकाले विश्वभरी फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम, रोजगारी पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

नगरपालिकाले नेपाल सरकारको समान्यिकरण अनुदानतर्फ रू. १२ करोड २८ लाख, राजस्व बाँडफाँट अनुदानमा रू. ९ करोड ३६ लाख ५६ हजार ९५० र विशेष अनुदानतर्फ रू. १ करोड ५० लाख र शर्सत अनुदानतर्फ रू. २६ करोड ७४ लाख विनियोजन गरेको छ । 

यस्तै प्रदेश सरकार समान्यिकरण अनुदानतर्फ रू. ५४ लाख ४० हजार, राजस्व बाँडफाँट अनुदानतर्फ रू. १ करोड ७ लाख ७७ हजार र शर्सत अनुदानतर्फ रू. २ करोड ६८ लाख ५० हजार तथा विशेष अनुदान रू. ७० लाख रहेको छ । 

आन्तरिकतर्फ रू. २ करोड १९ लाख २६ हजार ५० तथा सामाजिक सुरक्षातर्फ रू. १२ करोड गरी रू. ६९ करोड ८ लाख ५० हजार बजेटको अनुमान गरीएको छ ।

यस्तै नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम तथा रोजगार सिर्जना गर्न रू. ६३ लाख, स्वास्थ्य संस्थाको स्तर वृद्धिका लागि रू. ३ करोड ८५ लाख, सरुवा रोगको उपचारका लागि  रू. १ करोड ८० लाख विनियोजन गरेको छ । 

यस्तै शैक्षिक क्षेत्रको विकासका लागि २३ करोड ३७ लाख, कोरोनाका कारण सिर्जित अवस्थामा रोजगारी सिर्जना गर्न कृषिका लागि रू. २ करोड २७ लाख विनियोजन गरेको छ ।

त्यस्तै नौबहिनी गाउँपालिकाले रू. ४८ करोड २६ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले संघिय सरकारबाट रू. ४० करोड ४९ लाख ६६ हजार १२१, प्रदेश सरकारबाट रू. २ करोड ९९ लाख १२ हजार विनियोजन गरेको हो । 

गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरेको छ । व्यवस्थापनमा रू. १ करोड र गाउँ फर्केका व्यक्तिलाई रोजगारी दिने गरी कार्यक्रम सञ्चालन गर्न रू. १ करोड छुट्याइएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका, झिमरुक गाउँपालिका, माण्डवी गाउँपालिका, गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिका, ऐरावती गाउँपालिकाले पनि बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । जिल्लाका सबै स्थानीय तहले खानेपानी, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।