सलहको झुन्ड नेपाल प्रवेश गर्‍यो

Share News

काठमाडौं । छिमेकी मुलुक भारतमा सलहको आक्रमण देखिएसँगै नेपाल सरकारद्वारा गठित प्राविधिक समितिले नेपालमा यो प्रवेशको सम्भावना ज्यादै न्यून रहेको प्रतिवेदन दिए पनि नेपालमा अन्ततः प्रवेश गरेको छ । यसले धानखेती प्रभावित हुने सम्भावना देखिएको छ । यद्यपि विज्ञहरूले नेपाल प्रवेश गरेको सलहले कम क्षति गर्ने दाबी गरिरहेका छन् ।

शनिवार बिहान तराईमा देखिएको सलह बेलुकीसम्म पहाडी भूभागमा समेत फैलिइसकेको छ । हावाको दिशा र गतिमा आएको परिवर्तनका कारण सलह नेपाल प्रवेश गरेको विज्ञहरूको भनाइ छ । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष सलह नेपाल प्रवेश नगर्ने निष्कर्ष निकाल्दै यसको नियन्त्रणका लागि कुनै पनि तयारी गरेको थिएन । तर, शनिवार बिहानैदेखि बारा, पर्सा, सर्लाही, रूपन्देहीलगायत जिल्लामा सलह देखिन थालेपछि मन्त्रालयले हावाको दिशा र गतिमा अचानक परिवर्तन हुँदा नेपाल प्रवेश गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । शनिवार बेलुकी केही पहाडी जिल्लामा समेत यो देखापरिसकेको छ ।

सामान्यतया नेपालमा मनसुन शुरू भएपछि हावाको बहाव पूर्वदेखि पश्चिमतिर चल्ने गरेको भए तापनि विगत २/३ दिनदेखि हावाको बहाव दक्षिण पश्चिमबाट उत्तरपूर्वमा चलेको हुनाले उक्त हावासँगै सलह साना झुन्डमा छरिएर नेपाल प्रवेश गरेको हुन सक्ने मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीको भनाइ छ ।

‘नेपालमा मनसुन शुरू भइसकेकाले अहिले नेपालको मौसम सलहका लागि अनुकूल होइन । त्यसैले यो नेपाल प्रवेश गर्ने सम्भावना थिएन । तर, हावाको बहावमा अचानक आएको परिवर्तनले नै यो नेपाल आएको देखिएको छ,’ उनले भने । यस विषयमा मन्त्रालयले मौसम विज्ञान विभाग र विश्व खाद्य तथा कृषि संगठनका विज्ञहरूसँग पनि छलफल निरन्तर छलफल गरिरहेको जानकारी दिएको छ । नेपालका विज्ञहरूले भारत र पाकिस्तानका विज्ञहरूसँग समेत यसबारेमा छलफल गरेका छन् । त्यहाँका विज्ञहरूले पनि नेपालमा सलह पुग्नुमा हावाको गतिले दिशा बदल्नु कारण रहेको बताए ।

सामान्यतया यो कीरा रातभरि एक ठाउँमा वास बस्ने र बिहान सूर्योदयपश्चात् कम्तीमा पनि ३/४ घण्टा घाम तापेर शक्ति प्राप्त भएपछि मात्र एक ठाउँबाट अर्को ठाउँमा अवतरण गर्ने गर्छ ।

तर, नेपालको सन्दर्भमा हेर्दा यो शुक्रवार राति नै भित्रिएको हुन सक्ने देखिएको छ । त्यसैले हावाको दिशा र गतिमा परिवर्तन भएकै कारण उक्त हावासँगै उडेर नेपाल भित्रिएको हुन सक्ने नेपाल कृषि अनुसन्धान केन्द्र परिषद्का कीट विज्ञान महाशाखाका पूर्वप्रमुख डा. समुद्रलाल जोशीले बताए ।

यसअघि मन्त्रालयले नेपालमा सलहको प्रवेश सुदूरपश्चिमका जिल्लातिरबाट प्रवेश गर्न सक्ने सम्भावना रहेको बताए तापनि अहिले यो मध्य नेपालको तराईबाट प्रवेश गरेको देखिएको छ । यस सम्बन्धमा विज्ञहरूले हावाको बहावसँगै राजस्थानबाट विहार हुँदै मध्ये नेपालका जिल्लाहरूमा देखिएको बताएका छन् ।

शनिवार बिहान बाराको निजगढ, सिमरा र डुमरवाना, सर्लाहीको नवलपुर र पर्सा र रूपन्देही जिल्लाका केही स्थानमा देखिएको सलहको झुन्ड विस्तारै तराईका अन्य जिल्ला र पहाडी जिल्लाहरूमा समेत प्रवेश गर्न थालिसकेको छ । शनिवार बिहान ती जिल्लामा देखिएका झुन्ड दिउँसोको समयमा अन्य जिल्ला रूपन्देहीको बुटवल र सिन्धुलीको भिमान र चियाबारीसम्म पैलिसकेको मन्त्रालयले जानकारी दिएको छ । तनहुँ जिल्लामा समेत सलह देखापरेको स्थानीयले बताएका छन् । ठूलो संख्यामा नभएर तितरवितर रूपमा सानो झुन्ड नेपाल प्रवेश गरेकाले यसले धेरै ठूलो असर नगर्ने अनुमान गरिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताए ।

उनका अनुसार हावाको बहावसँगै ती झुन्ड नेपाल प्रवेश गरे पनि नेपालमा मनसुन सक्रिय रहेका कारण तिनले यहाँ सन्तान उत्पादन गर्न सक्ने वातावरण पनि छैन त्यसैले आत्तिनुपर्ने अवस्था छैन । ‘तर, सावधानी र नियन्त्रणका कार्य जारी राख्नुपर्छ,’ उनले भने ।

नेपालमा करीब ६० वर्षअघि २०१७ तिर ललितपुरको गोदावरी, काभ्रेको पनौती, काठमाडौं, गोरखा र धादिङलगायत पहाडी जिल्लामा समेत सलह देखापरेको थियो । त्यसबखत नेपाल कृषि अनुसन्धान केन्द्र परिषद्को कीट विज्ञान विभागले बेलायतमा लगेर यसको परीक्षण गरेको थियो ।

सलहले मकै, तरकारी, धानको बीउलगायतलाई क्षति गर्न सक्ने विज्ञहरूको भनाइ छ । सरकारले यसको नियन्त्रणका लागि कार्यविधि बनाउने तयारी गरेको छ । सलह नियन्त्रणका लागि विषादी छर्कनुपर्ने तर त्यस्तो विषादी छर्कन समस्या हुने विज्ञहरूको भनाइ छ । विषादी छर्कने, थाल ठटाउने तथा आगो बालेर धूवाँ निकाली सलह भगाउने जस्ता काम गर्न थालिएको मन्त्रालयका अधिकारीको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।