माग पूरा नभए अनसन बस्ने ट्याक्सी व्यवसायीको चेतावनी

Share News

काठमाडौं । लामो समयको लकडाउनका कारण आपूmहरू मारमा परेको भन्दै मंगलवार सरकारविरुद्ध आन्दोलित भएका ट्याक्सी व्यवसायीले सरकारले आफ्ना माग पूरा नगरे अनसनमा बस्ने चेतावनी दिएका छन् । लकडाउनका कारण आम्दानीको स्रोत बन्द भएपछि घरभाडा, बैंकको ऋण भन्दा पनि दैनिक खर्च समेत धान्न मुश्किल परेको भन्दै उनीहरूले ट्याक्सी चलाउन पाउनुपर्ने मागसहित आन्दोलन थालेका छन् ।

व्यवसायीहरू आन्दोलनमा आएपछि माग सम्बोधन गर्न भन्दै यातायात व्यवस्था विभागले उनीहरूलाई वार्तामा बोलायो । सो क्रममा विभागका महानिर्देशक गोगनबहादुर हमालले ट्याक्सी सञ्चालन गर्न दिने÷नदिने सम्बन्धमा आपूmहरूले मन्त्रालय मार्फत कोरोना उच्चस्तरीय समन्वय समितिमा निर्णयका लागि पठाएकाले अन्तिम निर्णय समितिले नै गर्ने बताएका थिए । आपूmहरू उक्त निर्णय पर्खिएर बसेको भन्दै नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका महासचिव नवराज घिमिरेले सरकारले ट्याक्सी चलाउन नदिए अनसनमा जाने निर्णय भएको बताए । ‘सरकारको निर्णय नआउन्जेल बुधवार बिहानदेखि नै हामी रिले अनसनमा बस्छौं,’ उनले बताए ।

तत्काल आफुहरुले ट्याक्सी चलाउन पाउनुपर्ने, लकडाउन अवधिभरको ऋणको ब्याज मिनाहा गरिनुपर्ने, व्यवसायीलाई सहुलियतमा ऋण उपलव्ध गराउनुपर्ने लगायत माग राख्दै मंगलवार करीब १२ सयको संख्यामा ट्याक्सीचालक मजदूर र व्यवसायीहरू ट्याक्सी सहित सडकमा आएका थिए ।

व्यवसायीले आन्दोलन गर्न लागेको थाहा पाएपछि प्रहरीले कतिपय ट्याक्सीलाई विभिन्न ठाउँमा नियन्त्रणमा समेत लिएको थियो । आन्दोलित व्यवसायीले सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै विरोधस्वरूप ट्याक्सीको चाबी यातायात विभागमार्फत सरकारलाई जिम्मा लगाएपछि करीब १ हजारको संख्यामा ट्याक्सीहरू विभागको कार्यालय मीनभवनमै छाडिएका छन् ।

नेपाल यातायात मजदूर संघ बागमती प्रदेशका अध्यक्ष जगन्नाथ गौतमले आफ्ना माग सम्बोधनका लागि सरकारलाई असार १५ गतेसम्म समय दिए पनि सरकारले त्यसको वेबास्ता गरेर बसेकाले आन्दोलनमा आउनुपरेको बताए । ‘अन्य सबै निजी गाडी सञ्चालनमा आइसक्दा समेत हालसम्म सरकारले हाम्रो समस्यामा ध्यान नदिनुले साना व्यवसायीलाई उपेक्षा गरिरहेको देखिन्छ,’ उनले भने । हाल काठमाडौं उपत्यकामा करीब ११ हजार ट्याक्सी व्यवसायी छन्, जसमध्ये ६० प्रतिशत स्वरोजगार मजदूर छन् भने करीब ४० प्रतिशतले अरूको ट्याक्सी भाडामा लिएर चलाउने गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।