अझै तंग्रिन सकेन पुष्प व्यवसाय

Share News

काठमाडौं । लकडाउनको प्रभावले थला परेको नेपालको पुष्प व्यवसायले अझै लय लिन सकेको छैन । सामान्यतया चैतदेखि असारसम्म पुष्प व्यवसायको व्यापारले उचाइ लिने गर्दछ । तर सिजनको शुरुआतदेखि नै लकडाउन लागू भएकाले यो व्यवसाय संकटमा परेको थियो । हाल लकडाउन खुकुलो भएपछि पनि खासै सुधार हुन नसकेको सम्बद्ध व्यवसायीको गुनासो छ ।

पुष्प व्यवसायसँग सम्बन्धित फूलखेती, नर्सरी, कटफ्लावर, पूल पसल लगायत सबै व्यवसायले हाल करीब २० प्रतिशत मात्र व्यापार गर्न सकेको नेपाल फ्लोरिकञ्चर एशोसिएशनले बताएको छ । लकडाउनका कारण विभिन्न किसिमका सभासमारोह, विवाह, व्रतबन्ध लगायत कार्यक्रम ठप्पप्रायः हुँदा पुष्प व्यवसायी प्रत्यक्ष मारमा परेको संघका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । ‘जबसम्म यस्ता कार्यक्रम ढुक्क भएर गर्न सकिने वातावरण बन्दैन, तबसम्म पुष्प व्यवसाय माथि उठन सक्दैन,’ उनले भने ।

करीब ६ अर्ब रुपैयाँ लगानी रहेको यो व्यवसाय देशभरका ४३ जिल्लामा फैलिएको छ, जहाँ ७०० भन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ४० हजारले रोजगारी पाएको संघले बताएको छ । महामारीको प्रभावका कारण उत्पन्न विषम परिस्थितिका कारण समग्र पुष्प व्यवसायमा हाल ५० देखि ६० प्रतिशतसम्म कर्मचारी कटौती भएको अनुमान संघको छ ।

लकडाउनको समयमा व्यवसाय पूर्णरूपमा ठप्प हुँदा समग्र उक्त व्यवसायमा दैनिक करीब १ करोड १५ लाख बराबरको क्षति भइरहेको थियो । ‘अहिले लकडाउन खुकुलो भइसकेपछि पनि अपेक्षित सुधार हुन सकेको छैन,’ अध्यक्ष श्रेष्ठले भने । पूmलखेती गर्ने किसान, कामदार र व्यवसायी काममा पनि बजारमा व्यापार नभएकाले उत्साहित छैनन् । अझै पनि लाखौं रकम बराबरको पूmल किसानका बारीमै कुहिने अवस्था रहेको व्यवसायी बताउँछन् ।

संघको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपालमा २ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । नेपाली पुष्प बजारमा भारतीय पूmलको ठूलो कारोबार हुने गरेको छ । लकडाउन खुकुलो भएपछि केही विस्तारै नेपाली उत्पादनले बजार पाउन थालेको थियो । तर अहिले पुनः भारतबाट पूmल भित्रन थालेकाले नेपाली उत्पादन संकटमा पर्ने चिन्ता रहेको कटफ्लावर कमिटीका संयोजक सुशील खड्काले बताए । भारतीय पूmल नेपालीभन्दा केही सस्तो पर्ने भएकाले थोक व्यापारीहरू उतैतिरबाट ल्याउन आकर्षित हुने गरेको उनले बताए । पर्यटन वर्ष २०२० लाई समेत लक्षित गरेर यस वर्ष पुष्प व्यवसायीले आफ्नो लगानीको दायरा र प्रविधि बढाएका थिए । तर कोरोना महामारीले पर्यटन वर्ष प्रभावित भएकाले व्यवसायमा ठूलो धक्का लागेको व्यवसायीको गुनासो छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।