काठमाडौं । यस वर्ष करीब ६० प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार हालसम्म गत वर्षको यही अवधिको तुलनामा औसतमा करीब ३६ दशमलव ८३ प्रतिशतले धेरै क्षेत्रफलमा रोपाइँ गरिएको छ । मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कुल १३ लाख ७ सय ६ हेक्टर जमीनमा धानखेती हुने गरेको छ । यसमध्ये अहिलेसम्म ८ लाख ३१ हजार ६ सय १३ हेक्टर जमीनमा रोपाइँ सकिएको छ ।
प्रदेश नं १ मा हालसम्म ५१ दशमलव ५४ प्रतिशत रोपाइँ भएको छ जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा करीब ३३ प्रतिशतले धेरै हो । प्रदेश २ मा ५० प्रतिशत रोपाइँ भएको छ जुन गतवर्षको यही अवधिको तुलनामा ४० दशमलव ४३ प्रतिशतले धेरै हो । गतवर्ष यस अवधिसम्म प्रदेश २ मा १० प्रतिशत मात्र रोपाइँ सकिएको थियो ।
यसैगरी यस वर्ष प्रदेश ३ मा अहिलेसम्म ५२ दशमलव शून्य २, गण्डकी प्रदेशमा ५६ दशमलव ४९, प्रदेश ५ मा ७५ दशमलव ४८, प्रदेश ६ मा ६९ दशमलव ७५ र कर्णाली प्रदेशमा ७५ दशमलव ८६ प्रतिशत रोपाइँ सकिएको छ । जहाँ अघिल्लो वर्षको यस अवधिसम्म क्रमशः २१, २८ दशमलव ५३, २९, ६६ दशमलव ४१ र ४३ दशमलव शून्य ४ प्रतिशत रोपाइँ हुने गरेको थियो ।
यस वर्ष समयमै मनसुन शुरू भएका कारण पनि सबै जिल्लामा रोपाइँ चाँडै भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार यस वर्ष धान रोपाइँको क्षेत्रफल पनि बढ्न सक्ने अनुमान गरिएको छ ।
अनुकूल मौसमका कारण समयमै रोपाइँ भएको छ । तर, आवश्यक मात्रामा मल आयात गर्न नसक्दा कतिपय जिल्लामा रोपाइँपछि धानबालीमा मल हाल्न नसकिने हो कि भन्ने चिन्ता किसानहरूमा थपिएको छ । सरकारसँग यति बेला मलको भण्डार रित्तिने क्रममा छ । भारतमा रोकिएर रहेको मल आउन ढिला भइरहेको छ । सरकारसँग अहिले युरिया ३ हजार मेट्रिकटन, डीएपी १२ हजार मेट्रिक टन र पोटास ४ हजार मेट्रिक टन मौज्दात रहेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडको २५ सय मेट्रिक टन मल कोलकाताका रोकिएको छ । अबको हप्ता दिन जतिमा उक्त मल नेपाल आइपुग्ने भएकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलले बताए ।
गुजरातको कान्डलामा रोकिएको २१ हजार मेट्रिक टन मल अझै नेपाल ल्याउन सकिएको छैन । आपूर्तिकर्ताले कान्डलामा मल छाडिदिएपछि मल त्यही अलपत्र परेको छ । कान्डला हुँदै तेस्रो मुलुकबाट सामान ल्याउन नपाइने हुँदा मल त्यही अड्किएको हो । कूटनीतिक माध्यमबाट मल ल्याउन पहल गर्ने भनिए पनि अझै त्यो पहल सफल हुन सकेको छैन । नेपाल भारतबीच विवाद बढ्दै गएकाले पनि मल ल्याउन थप समस्या भएको बताइन्छ ।
मल आयातको अनुभव नभएको तथा समयमा काम नगरेर आलोचना भइरहेकै कम्पनीसँग सम्बद्ध सहायक कम्पनीलाई मल आयातको ठेक्का दिइएको समयमै मल आयात हुनेमा आशंका पैदा भएको छ । मौसम अनुकूल भएर समयमै रोपाइँ गर्न पाए पनि मल नपाउँदा आप्mनो परिश्रम खेर जाने हो कि भन्ने आशंकामा किसानहरू रहेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।