काठमाडौं । भारतको गुजरातस्थित कान्डला बन्दरगाहमा रोकिएको २१ हजार ५ सय मेट्रिक टन युरिया मल आयातमा भारतले स्वीकृति नदिएपछि कोलकाता हुँदै ल्याउन प्रक्रिया थालिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले बन्दाबन्दीअघि नै दुबईको मल्टी कमोडिटिज कम्पनीमार्फत ओमनबाट किनेको युरिया मल बन्दाबन्दीको प्रभावका कारण कम्पनीले गुजरातको कान्डलामा ल्याएर छोडेको थियो । नेपाल भारत वाणिज्य सन्धिअनुसार कान्डला बन्दरगाह तेस्रो मुलुकसँगको व्यापारका लागि खुला नभएका कारण उक्त मल ३ महीनाभन्दा बढी समयदेखि कान्डलामै रोकिएको छ ।
नेपालको परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासमार्फत पटकपटक कूटनीतिक पहल गर्दासमेत भारत सरकारले त्यहाँबाट नेपाल ल्याउन स्वीकृति नदिएका कारण कोलकाता लग्ने तयारी थालिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।
अन्य विकल्प नभएपछि यसरी ल्याउन लागिएको उनको भनाइ छ ।
कान्डलाबाट कोलकाता पठाउन सोमवारदेखि नै जहाजमा मल लोड गर्न शुरू गरिसकिएको छ । तर, श्रमिकहरूको अभावका कारण ढिलाइ भइरहेको साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिए ।
श्रमिक अभाव रहेकाले मल लोड गरेर कोलकातासम्म पुर्याउन कम्तीमा १५/२० दिन लाग्ने भएकाले साउन महीनाको अन्तिमसम्ममा नेपाल आइपुग्ने उनले बताए । कोलकातामा पनि साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडको २५ हजार मेट्रिक टन डीएपी मल रहेको छ । अबको २÷३ दिनमा ¥याकमा राख्ने काम शुरू हुने भएकाले करीब १ हप्ताभित्रमा नेपाल आइपुग्ने बताइएको छ । हाल सरकारसँग ९ हजार ८ सय मेट्रिक टन डीएपी, २ हजार ४ सय मेट्रिक टन युरिया र २ हजार ६ सय मेट्रिक टन पोटास मौज्दात रहेको छ ।
नेपालमा वर्षभरिमा करीब ७ लाख टन मलको माग हुने गरेको भए तापनि सरकारले करीब ४ लाख टनका लागि मात्र बजेट छुट्ट्याउने गरेको छ । त्यसै कारण किसानहरूले हरेक वर्ष मलको समस्या भोग्दै आउनुपरेको सरोकारवालाहरू बताउँछन् । तर, यस वर्ष कृषि मन्त्रालयले समयमै मल किन्ने योजना बनाएपछि अर्थ मन्त्रालयले पनि समयमा नै बजेट पठाएको थियो ।
कोरोना महामारीले गर्दा समयमा मल ल्याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक नेत्र भण्डारीले बताए । ‘यदि महामारी नभएको भए सबै मल असारभित्रै आयात भइसक्ने थियो,’ उनले भने । ८० हजार मेट्रिक टन मलको ठेक्का पाएको शैलुङ इन्टरप्राइजेजले साउन १५ पछि मल ल्याउने काम शुरू गर्ने छ ।
कोरोना महामारीका कारण कुनै समस्या उत्पन्न भएमा भदौ महीनासम्म पनि लाग्न सक्ने कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ । अनुभव नै नभएको कम्पनीलाई ८० हजार मेट्रिक टन मल ल्याउन ठेक्का दिएकोमा सरकारको आलोचना भइरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।