काठमाडौं । सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै ठप्प रहेको गलैंचा उद्योगको उत्पादन क्षमताको उपयोग २० प्रतिशत पुगेको छ । तर, अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध कायमै रहेकाले गलैंचा निर्यात भने शून्यकै अवस्थामा छ ।
पहिले उत्पादन गरिएको गलैंचा निर्यात हुन नसकेका बेला नयाँ उत्पादनले पनि बजार पाउने सम्भावना न्यून छ । तर, उद्योगमा कार्यरत कामदार पाल्नकै लागि पनि उद्योग सञ्चालन गर्नैपर्ने बाध्यता रहेको गलैंचा उद्यमीहरूको भनाइ छ ।
कोरोना महामारीकै कारण निर्यात बन्द हुँदा यसअघि उत्पादन गरिएको करीब ४ अर्ब रुपैयाँ बराबरको तयारी गलैंचा गोदाममै थन्किएको छ ।
नेपालमा उत्पादित उनी गलैंचाको निर्यात अमेरिका, चीन, जर्मनी, बेलायत, इटाली, फ्रान्स, क्यानडा, बेल्जियम र अस्ट्रेलियालगायत ५० भन्दा बढी मुलुकमा हुने गर्छ ।
नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका उपाध्यक्ष तेन्जिङ शेर्पाका अनुसार नेपाली गलैंचाको मुख्य बजार विदेश भए पनि अहिलेको अवस्थामा निर्यात गर्न सम्भव छैन ।
नेपाली गलैंचा ठूलो परिमाणमा निर्यात हुने अमेरिका, यूरोप र बेलायतलगायत मुलुकसमेत कोरोना महामारीबाट प्रभावित भएकाले अहिले ती मुलुकबाट खासै माग आएको छैन । ‘अहिले अन्तरराष्ट्रिय बजार लगभग ठप्प रहेकाले नेपाली गलैंचाको माग करीब ८० प्रतिशत घटेको छ । अर्कोतिर निर्यात गर्न चाहे पनि गर्न सक्ने अवस्था छैन,’ शेर्पाले भने । नेपालबाट हुने उद्धार उडानमार्पmत पठाउने प्रयास गरे पनि भाडादर निकै महँगो पर्ने भएकाले सम्भव नभएको शेर्पाको भनाइ छ ।
नेपाली गलैंचा निर्यातकर्ताहरूले मूलतः भारतको कोलकाता बन्दरगाहमार्फत विदेशतर्फ गलैंचा निकासी गर्छन् । तर, भारत र पाकिस्तानलगायत मुलुकको तुलनामा नेपाली निर्यातकर्तालाई विदेशी बजारमा आप्mनो उत्पादन पु¥याउन धेरै समय लाग्ने गर्छ । ‘नेपालबाट प्रमुख विदेशी बजारहरूमा हाम्रो गलैंचा पुग्न २–३ महीना लाग्ने गर्छ,’ शेर्पा भन्छन् । हाल निर्यात ठप्प भएकाले यूरोप, अमेरिकालगायत बजारका लागि गलैंचाको उत्पादन गरिएको छैन । चीनमा निर्यात हुने गलैंचा मात्रै न्यून संख्यामा उत्पादन भइरहेको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले बताएको छ । एकातिर कामदार पाल्न भए पनि उत्पादन गर्नुपर्ने बाध्यता अर्कातिर निर्यात नभएर स्टक मात्रै बढ्ने अवस्थाले गलैंचा उत्पादकहरूलाई मारमा पारेको संघका प्रमुख कार्यकारी अधिकृत अमृत तामाङ बताउँछन् । ‘निर्यात ठप्प भएकाले विदेशमा निर्यात हुन सकेको छैन । त्यसमाथि अहिले उत्पादन भइरहेकाले स्टक थप बढिरहेको छ,’ उनले भने । नेपालमा हाल करीब ३ लाखभन्दा बढी गलैंचा उद्योगमा आश्रित छन् । त्यस्तै, गलैंचा उद्योगमा आबद्ध करीब ७ सय उद्योगी छन् भने १ ५० भन्दा बढी निर्यातकर्ता छन् ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ मा नेपालबाट ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको गलैंचा निर्यात भएको थियो । आर्थिक वर्ष २०७६/७७ को पहिलो ११ महीनामा गलैंचा निर्यात झन्डै १९ प्रतिशतले घटेको छ । यस अवधिमा नेपालबाट कुल ५ अर्ब ५० करोड रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ । नेपाली गलैंचाको प्रमुख बजार अहिले अमेरिका नै हो । त्यसपछिका ठूला बजारमा जर्मनी, बेलायत र चीन पर्छन् । गलैंचा उद्यमीका अनुसार बन्दाबन्दीअघि नै कच्चा पदार्थको मौज्दात रहेकाले अहिले कच्चा पदार्थको अभाव खासै छैन । नेपालमा गलैंचाको कच्चा पदार्थ तिब्बत र न्यूजील्यान्डबाट आयात गरिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।