काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि व्यापार व्यवसाय ठप्प भएर बसेका हस्तकला उद्यमीहरू वैकल्पिक पेशामा लाग्न थालेका छन् । नेपालमा कारोना संक्रमण फैलनु अघिदेखि नै पर्यटक आउन छोडेपछि यस क्षेत्रमा संलग्न उद्यमी, कालीगढ, व्यवसायी सबैको पेशा संकटमा परेको थियो । हस्तकला व्यवसाय पर्यटन उद्योगसँग प्रत्यक्ष रूपमा जोडिएकाले पर्यटन उद्योग ठप्प हुँदा हस्तकला क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ ।
पर्यटन क्षेत्र राम्ररी चलायमान हुन अझै २ वर्ष जति लाग्ने देखिएकाले हस्तकला उद्योगमा काम गर्ने करीब ५० प्रतिशत कालिगढ र उद्यमीले अन्य पेशा अपनाएको नेपाल हस्तकला कालिगढ संघका अध्यक्ष हरि सेञ्चुरीले बताए । ‘त्यसरी पेशा परिवर्तन गरेकाहरू बंगुरपालन, मकैखेती, तरकारीखेती लगायत कृषि कर्ममा लागेका छन्,’ उनले भने ।
काठमाडौंको वसन्तपुरमा ४० वर्षदेखि हस्तकलाका सामग्री बनाउँदै र बेच्दै आएका अच्युत अर्याल यस्ता सामग्री बिक्नै छोडेपछि यतिबेला मकैखेतीमा लागेका छन् । ललितपुरको गोदावरीमा १५ रोपनी जग्गा भाडामा लिएर उनले मकैखेती शुरू गरेका हुन् । ‘कोरोनाले गर्दा पर्यटक आउने अवस्था छैन, निर्यात व्यापार बन्द छ, पसल खोले पनि सामान बिक्दैन,’ उनले भने, ‘व्यवसाय नै सुकेपछि बाध्य भएर कृषिमा लागेको हुँ,’ उनले भने ।
नेपाल हस्तकला महासंघको तथ्यांक अनुसार हस्तकलाका सामग्री नेपालको आन्तरिक बजारमा वार्षिक रू. ६ अर्ब बराबरको विक्री हुने गरेको छ । यद्यपि नेपाली हस्तकला सामग्रीको ठूलो बजार भने अमेरिका, चीन र यूरोपेली मुलुक हुन् ।
नेपालबाट वार्षिक रू. ११ अर्बदेखि १५ अर्ब बराबरको हस्तकलाका सामग्री निर्यात हुने गर्दछ भने करीब ११ लाख मानिस (व्यापारी, उद्यमी, श्रमिक लगायत) यस क्षेत्रमा आबद्ध भएको आकलन छ । कोरोना महामारीका कारण तीमध्ये ५० प्रतिशतले पेशा परिवर्तन गरेको बताइएको छ । केहीले भोलिका दिनमा अवस्था सामान्य भएमा यसै क्षेत्रमा फर्किने सोच बनाएका छन् । तर कतिपय यस क्षेत्रबाटै पलायन हुन सक्ने अनुमान गरिएको छ ।
महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यका अनुसार अबको १ वर्षसम्म हस्तकलाको व्यापारको अवस्था निकै नाजुक हुनेछ । कहिलेसम्म विनाआम्दानी बस्ने भन्ने अन्योलका कारण अवस्था सहज नहुन्जेलसम्मका लागि धेरैले पेशा परिवर्तन गर्नुपरेको उनले बताए । लकडाउनअघि नै अर्डर भएका फेल्टलगायत सामग्री अहिले उत्पादन भइरहे पनि निर्यातमा निकै समस्या भएको उनको भनाइ छ । नेपालबाट उद्धारका लागि विदेश उड्ने जहाजमा केही सामग्री पठाउन खोज्दा भाडादर महँगो भएर व्यवसायीले पठाउनै नसकेको उनले सुनाए ।
‘पहिलेको भन्दा ५ गुणा बढी भाडा तिर्नुपर्ने भएकाले पनि अर्डर भएको सामान समेत पठाउन सकिएको छैन,’ उनले भने । लकडाउन अघिदेखि नै सामान विक्री नहुँदा यतिबेला अर्बौं रकमको सामान स्टक रहेकाले यस क्षेत्रका उद्यमी तथा व्यवसायी निराश बनेका छन् ।
हस्तकलाका सामान विक्री हुने तथा बनाइने वसन्तपुर, ठमेल, पाटन लगायत क्षेत्र अझै सुनसान छन्, जसले गर्दा उद्यमी व्यवसायीले पसल खोले पनि कारोबार हुन सकेको छैन । हस्तकलामा विशेषगरी हातले बनाइएका पश्मिना, फेल्ट, थान्का पेन्टिङ, पौवा पेन्टिङ, काष्ठकला, मूर्तिकला, धातुकला आदि पर्दछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।