धानखेतीमा देखियो नौलो रोग

Share News

रौतहट । रौतहटका धानखेतीमा धानको पात पहेंलो र रातो हुने नौलो रोग देखिएको छ । कोरोना भाइरसको चपेटामा परेर बल्लतल्ल लगाएको खेतीमा रोग देखिन थालेपछि रौतहटका किसान चिन्तित भएका छन् । यो वर्ष बेलैदेखि मनसुन भएकाले समयमै धान रोपेर खुशी बनेका यहाँका किसान गोडमेल गर्ने बेलामा रोग देखिएपछि चिन्तामा परेका हुन् ।

यसै पनि मलको अभावले पिरोलिरहेको किसानलाई धानमा लागेको रोगले चिन्ता थपेको छ । धानबालीमा धानको पात पहेंलो तथा रातो हुने गरेको किसानहरूको भनाइ छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ देखि  १० नम्बर वडासम्म लगाइएका धानबालीमा सो रोगको समस्या देखिएको छ । रासायनिक मलको अभाव हुँदा समेत महँगो मूल्यमा खरीद गरी धानबालीमा छरेको चन्द्रपुर–९ का किसान विश्वमणि पौड्यालले बताए ।

युरिया मल प्रतिबोरा रू. २ हजारसम्ममा खरीद गरी धानबालीमा छरेको भए पनि केहीदिन गाढा हरियो देखिएको धानबाली एक्कासी पहेंलो र रातो भई मर्न थालेको उनले बताए । यस वर्ष युरिया मलको अभाव झेलेका किसानलाई धानखेतीमा लागेको रोगले चिन्तित बनाएको छ ।

अहिले चन्द्रपुर नगरपालिकाका किसानहरू धानबालीमा विभिन्न प्रकारका विषादी छर्कदैमा व्यस्त छन् । चन्द्रपुर नगरका किसानहरूले गरेको धानखेतीमा समस्या देखिएको गुनासो आएको चन्द्रपुर नगर कृषि शाखाले बताएको छ । अविरल  वर्षाले धानबाली डुबानमा परेको र हाल रोग देखिन थालेपछि यस वर्ष धान उत्पादनमा समेत कमी आउन सक्ने आँकलन गरिन थालिएको छ ।

किसानलाई गुणस्तरीय बीउविजन, सरल र सहज तरीकाले रासायनिक मल, निःशुल्क आधुनिक सिँचाइ, कृषि अनुदान तथा कृषि कर्जामा सहुलियत, शीतभण्डार, कृषि उपजको न्यूनतम मूल्य ग्यारेन्टी तथा कृषि उद्योगहरूको स्थापनालगायत कार्यमा भएमा कृषि उत्पादन बढाउन सकिने अगुवा किसानहरू बताउँछन् ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।