कोरोना रोकथाम तथा नियन्त्रणको खर्च विवरण सार्वजनिक

Share News

बैतडी । बैतडीका १० ओटै स्थानीय तहहरूले कोरोना रोकथाम तथा नियन्त्रणका क्रममा भएको खर्च विवरण सार्वजजिक गरेका छन् । जिल्लाका ४ ओटा नगरपालिकामध्ये सबै भन्दा कम खर्च मेलौली र सबै भन्दा बढी खर्च पाटनले गरेका छन् भने ६ ओटा गाउँपालिकामध्ये सबै भन्दा कम खर्च सिगास र सबै भन्दा बढी खर्च दोगडाकेदारले गरेको छ ।

मेलौली नगरपालिकाले रू. ५७ लाख ५ हजार ३९६ खर्च गरेको छ भने पाटन नगरपालिकाले रू. १ करोड ७७ लाख ३२ हजार खर्च गरेको छ । मेलौली नगरपालिकाले ९ ओटै वडामा राहत वितरणमा रू. ८ लाख ३८ हजार, क्वारेन्टिन व्यवस्थापनमा रू. २६ लाख ३६ हजार ६५१, गाडीभाडामा रू. ९ लाख ११ हजार ६०० र औषधि तथा स्वास्थ्य सामग्री खरीदमा रू. ६ लाख ७५ हजार ५२९ खर्च गरेको नगरपालिकाले बताएको छ ।

यस्तै पाटन नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कुल रू. १ करोड ६४ लाख ८३ हजार ६५६ खर्च गरेको छ । त्यसमध्ये गाडीभाडा तथा सवारीसाधनमा रू. १२ लाख ४८ हजार ४२०, आइसोलेसन कक्ष निर्माणमा रू. ६ लाख, नगर क्वारेन्टिन व्यवास्थापन र खाना भत्तामा रू. २ लाख २४ हजार ९९७ र १० ओटै वडाको क्वारेन्टिन व्यवस्थापनमा रू. २५ लाख २७ हजार ६३० खर्च गरेको विवरण सार्वजनिक गरेको छ ।

यस्तै सिगास गाउँपालिकाले रू. १ करोड ६५ लाख ६६ हजार खर्च गरेको बताएको । गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तका अनुसार औषधि खरीद, स्वास्थ्य सुरक्षा सामग्री, जोखिम भत्ता, क्वारेन्टिन व्यवस्थापन र राहत वितरणमा रू. ७० लाख ९० हजार खर्च गरेको छ । त्यसैगरी दोगडाकेदार गाउँपालिकाले क्वारेन्टिन निर्माण तथा व्यवस्थापन, राहत वितरण, स्वास्थ्य सुरक्षा सामग्री तथा औषधि खरीद, यातायात, जोखिम भत्ता, स्वयंसेवक खर्चलगायत शीर्षकमा रू. १ करोड ६५ लाख ६६ हजार खर्च गरेको छ ।

सबै स्थानीय तहहरूको खर्च विवरण अध्ययन गर्दा कोरोना रोकथाम तथा नियन्त्रणका नाममा खर्च गर्ने प्रतिस्पर्धा तीव्र बनेको पाउन सकिन्छ । यसैगरी जिल्लाका अन्य स्थानीय तहहरूले पनि खर्चमा प्रतिस्पर्धा नै गरेको देखिन्छ ।

पुर्चौंडी नगरपालिकाले रू. १ करोड ५४ लाख ७२ हजार ३९६ खर्च गरेको छ । नगरपालिकाले क्वारेन्टिन व्यवस्थापन, आइसोलेसन निर्माण, राहत वितरण, स्वास्थ्य सुरक्षा सामग्री खरीदलगायत शीर्षकमा सो रकम खर्च गरेको हो । यस्तै दशरथचन्द नगरपालिकाले असार मसान्तसम्म रू. ९१ लाख ७७ हजार खर्च गरेको बताएको छ ।

त्यसैगरी डिलासैनी गाउँपालिकाले रू. १ करोड ५० लाख ७१ हजार ८००, पञ्चेश्वर गाउँपालिकाले रू. १ करोड ४१ हजार ७७६, शिवनाथ गाउँपालिकाले रू. ९२ लाख ३९ हजार ६१५ र सुर्नया गाउँपालिकाले रू. ९२ लाख ८५ हजार २९४ खर्च गरेको विवरण सार्वजनिक गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।