भदौ १४, बैतडी । बैतडीमा कोरोना संक्रमितको संख्या प्रतिदिन बढेसँगै जिल्ला प्रशासन कार्यालय बैतडीले निषेधाज्ञा एक साता थप गरेको छ । आइतवार बसेको कोरोना जोखिम नियन्त्रण जिल्ला स्तरिय समन्वय समितिको बैठकले भदौ २१ गते रातिसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि भदौ ८ गते राति १२ बजेदेखि लागू हुने गरी भदौ १४ गते राति १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञा एक साता थपिएको जिल्ला प्रसासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
उनले भने ‘कोरोना संक्रमितको संख्या दिनदिनै बढेकाले जोखिम बढ्न सक्ने भएकाले अझै एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छौ’ । यस समयमा सबै प्रकारका व्यापार व्यवसाय बन्द, अत्यावश्यक काम बाहेक कसैले बाहिर हिंडडुल गर्न नपाइने र निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन पाइनेछ ।
यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक जिल्ला बाहिर र जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।