काठमाडौं । किनमेलको समय दशैं–तिहार नजिकिँदै गर्दा पनि बजारमा व्यापार व्यवसाय ठप्प छ । कोरोना संक्रमणका कारण यो वर्षका ठूला चाडपर्वमा लत्ता कपडाको व्यापार खस्किने देखिएको छ ।
यो वर्षको चाडपर्वमा लत्ताकपडाको व्यापार ८५ प्रतिशतले खस्किने अनुमान व्यवसायीले गरेका छन् ।
नेपालमा अन्य समयको तुलनामा दशैं–तिहारजस्ता चाडपर्वमा जुत्ताचप्पल र लत्ताकपडाको व्यापार करीब ४० प्रतिशतले बढ्ने गर्छ । तर यस वर्ष भने महामारीका कारण यस्ता सामानको व्यापार करीब १५ प्रतिशत मात्रै हुन सक्ने व्यवसायीको आकलन छ ।
कोरोनाका कारण सरकारले बजारलाई पूर्णरूपमा खुकुलो बनाउन नसक्नु र उपभोक्ताहरू निर्धक्कसँग बजार गएर सामान किन्न सक्ने वातावरण नहुनुलगायतले यस्तो अवस्था आएको हो ।
राष्ट्रिय व्यापार संघ न्यूरोडका कोषाध्यक्ष रामचन्द्र पराजुलीका अनुसार हाल सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाए पनि लत्ताकपडा, तयारी पोसाक गार्मेन्टलगायत पसल सातामा तीन दिन मात्रै खोल्न दिएकाले व्यापार बढ्ने देखिँदैन ।
अघिल्ला वर्षहरूमा चाडपर्व नजिकिएसँगै उपभोक्ताको चहलपहल हुने काठमाडौंलगायत अन्य ठूला शहरहरू यस वर्ष भने सुनसान रहेकाले बजारले १५ प्रतिशतभन्दा धेरै व्यापार गर्न नसक्ने उनको अनुमान छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठको बुझाइ उस्तै छ । श्रेष्ठ भन्छन्, ‘काठमाडौंको व्यापारले देशभरको अर्थतन्त्रलाई प्रभाव पार्छ । त्यसैले काठमाडौंमा मात्रै होइन, देशैभर यो वर्षको दशैं–तिहारमा व्यापारको अवस्था नाजुक देखिने स्थिति छ ।’
व्यापारीहरूले चाडपर्वकै लागि चीन, दक्षिण कोरिया, इन्डोनेसियालगायत मुलुकबाट तयारी कपडा, जुत्ताचप्पल र खाद्यान्नसमेत गरी करीब ७० अर्ब मूल्य बराबरको सामान अर्डर गरिसकेको उनले जानकारी दिए । तर, सरकारले बजार खोलेर व्यापार गर्न दिने वातावरण बनाउन नसक्दा व्यवसायीहरूमा थप चिन्ता बढ्न थालेको श्रेष्ठ बताउँछन् ।
नेपालमा चैतदेखि कात्तिक महीनासम्मको समय तयारी पोशाकको व्यापार बढी हुने गर्छ ।
तर, सिजनकै बेला शुरू कोरोना संक्रमण, त्यसपछिको बन्दाबन्दी र निषेधाज्ञाले तयारी कपडाको व्यापार खस्किएको व्यापारीहरू बताउँछन् । पछिल्लो समयको निषेधाज्ञाले यसको प्रत्यक्ष फाइदा नेपाल–भारत सीमाका भारतीय वजारले लिइरहेको श्रेष्ठको जिकिर छ ।
भारतसँग सिमाना जोडिएका तराईका उपभोक्ताहरू नेपाली बजारमा खोजेको सामान नपाएपछि सीमाका भारतीय बजारमा जाने गरेका छन् । यसले गर्दा पनि नेपालको थला परेको अर्थतन्त्रलाई झनै खुम्चिने अवस्थामा पुगेको उनको तर्क छ ।
निषेधाज्ञाले बजार पूर्णरूपमा खुल्न नसक्दा सामान्य अवस्थाको तुलनामा चाडपर्वको समय व्यापार व्यवसाय प्रभावित भइरहेको छ । अर्कातर्फ बजार चलायमान हुन नसक्दा २ वर्षलाई पुग्ने गरी सामान थन्किएको व्यवसायीहरूको दाबी छ ।
बजार चलायमान हुन नसक्दा यस्ता सामान आयातमा समेत ८० प्रतिशतसम्मले गिरावट आएको छ ।
चाडपर्वको समय करीब ५० प्रतिशत लत्ताकपडा नयाँ डिजाइनका विक्री हुने गर्छन् । तर, यस वर्ष उपभोक्ताको समेत आयआर्जन ठप्प हुँदा क्रयशक्तिमा ह्रास आई अत्यावश्यक सामग्री मात्र किन्न सक्ने अवस्था छ । त्यसैले नयाँ डिजाइनका कपडा विक्री हुने अवस्था नभएको न्यूरोडका व्यवसायी सरोज श्रेष्ठले अभियानलाई बताए ।
महामारीले थला परेको अर्थतन्त्रका कारण देशभर खुद्रा व्यापारमा संलग्न करीब ९ लाख व्यापारीमध्ये झन्डै २ लाख हाराहारीको संख्यामा पलायन हुन सक्ने राष्ट्रिय व्यापार संघको अनुमान छ । यसमा ८० प्रतिशत तयारी लत्ताकपडा तथा गार्मेन्टसम्बन्धी व्यापारीहरू नै छन् । करोडौं रकम कर तिर्ने लाखौं व्यापारीहरू पलायन उन्मुख भइरहँदा पनि राज्यले नहेरेको उनीहरूको गुनासो छ ।
गतवर्षको चैतदेखि नै व्यवसाय ठप्प भएर बसेका साना व्यवसायीसँग यतिबेला पूँजी सकिँदै गएको र घरभाडा मात्रै तिर्नुपर्ने समस्याले पलायनको सम्भावना झनै बढेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।