दसैं लक्षित व्यापार खस्किँदा साना व्यवसायी मारमा

Share News

काठमाडौं । दसैं लक्षित व्यापारमा गिरावट आउँदा साना व्यवसायीहरू मारमा परेका छन् । लामो समयदेखि कोरोना महामारीको चपेटामा परेका व्यवसायी व्यापारमा मन्दी आउँदा  झनै मारमा परेका हुन् ।

दसैंको मुखमा असन, इन्द्रचोक, न्युरोड, खिचापोखरी, ठमेललगायत काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूको व्यापार अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब ८० प्रतिशतले गिरावट आएको व्यवसायी बताउँछन् ।

लत्ताकपडा, विद्युतीय सामानलगायत खाद्यान्न पसलहरूमा समेत यस वर्ष उत्साहजनक व्यापार भएको छैन । लामो समयको बन्दाबन्दीका कारण उपभोक्ताको क्रयशक्तिमा खस्कनु र उपत्यकामा बढ्दो संक्रमण त्रासले दसैं लक्षित व्यापार निराशाजनक देखिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठ महामारीको प्रभावका कारण मुख्य व्यापारिक केन्द्रहरूमै व्यापारको अवस्था नाजुक रहेको बताउँछन् । व्यापार नभएपछि साना तथा मझौला व्यवसायी सबैभन्दा बढी मारमा परिरहेको उनको बुझाइ छ  ।

‘यस्ता व्यवसायीको धेरै ठाउँ लगानी नहुँदा एउटै व्यवसायमै भर पर्नुपर्ने अवस्था छ । आम्दानीको स्रोत सीमित हुने भएकाले व्यवसाय नचल्दा समस्या भोग्नु परिरहेको छ’, श्रेष्ठ भन्छन् ।

चाडपर्वलाई लक्षित गर्दै सामान किन्न काठमाडौं आउने उपत्यकाबाहिरका व्यापारीसमेत महामारीको प्रभाका कारण उपत्यका प्रवेश गर्न नसक्दा चाडपर्व लक्षित व्यापारमा ठूलो गिरावट आएको व्यवसायीहरूले बताउँदै आएका छन् ।

न्युरोड वरपरका व्यवसाय चलाइरहेका व्यापारीहरूका अनुसार हाल लत्ताकपडाको व्यापार करिब ८० प्रतिशतले खुम्चिएको छ । त्यसैगरी उपभोक्ताको क्रयशक्ति घट्दा खाद्यान्नको व्यापार पनि राम्रो हुन नसकेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘बजारमा मानिसको चहलपहल हेर्दा व्यापार राम्रै भएजस्तो देखिए त्यसो हुन सकेको छैन’, श्रेष्ठले भने, ‘किन्ने मान्छे नभएपछि व्यापार हुने कुरै भएन ।’
सामान्य अवस्थामा अन्य समयको तुलनमा दसैं–तिहारजस्ता ठूला चाडपर्वका बेला करिब ४० प्रतिशतले बजारमा बिक्री बढ्ने भए पनि यस वर्ष व्यापारमा आएको गिरावटले बजारको अवस्था खलबलिएको देखिएको छ ।

हाल कोरोना महामारीको चपेटामा परेको अर्थतन्त्रका कारण साना तथा मझौला व्यवसायमा संलग्न करिब ९ लाखमध्ये २ लाखभन्दा धेरै व्यवसायी पलायन हुने अवस्थामा रहेको साना तथा मझौला व्यवसायीहरूको संगठन राष्ट्रिय व्यापार संघको अनुमान  छ ।

वार्षिक करोडौं कर तिर्ने लाखौं व्यापारीको व्यवसायमा गिरावट आउनु अर्थतन्त्रका लागि  घातक रहेको उनीहरूको दाबी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।